लालपुर्जा पाएपछि घरवासी दङ्ग
कैयौँ वर्षदेखि आफ्नो जग्गा छ भन्न नपाएका महोत्तरीको मटिहानी नगरपालिका–१ का गरिब घरजग्गाको लालपुर्जा पाएपछि दङ्ग भएका छन् । पहिलेको धिरापुर गाविसमा पर्ने (हाल, मटिहानी–१) का सिरसिया र धिरापुरका घरवासी बुधबार आफ्नो नाउँमा जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाएर दङ्ग भएका हुन् ।
‘लाग्छ, जिन्दगीमा ठूलै कुरा पाएका छौँ’, बुधबार नापी कार्यालय महोत्तरी जलेश्वरले दिएको जग्गाधनी प्रमाणपुर्जा देखाउँदै मटिहानी–१ का ७० वर्षीय बिल्टु मण्डलले भने, ‘अब आफ्नै जग्गामा घर छ भन्नेमा ढुक्क भएका छौँ ।’ नापी कार्यालय महोत्तरीले एक दशकअघि नापी गरिएको सिरसिया र धिरापुर बस्तीका गाउँब्लकभित्रका १६३ घरधुरी धनीलाई बुधबार जग्गाधनी प्रमाणपुर्जा प्रदान गरेपछि यी दुवै बस्तीमा खुशी छाएको हो ।
नापी कार्यालय महोत्तरीले जगाधनी प्रमाणपुर्जामा घरधनी मूलीको निधन भए पत्नीका नाउँमा र दुवै (पति-पत्नी) जीवित भए दुवैको संयुक्त नाउँ उल्लेख गरेपछि महिलामा पनि घरजग्गाको स्वामित्व स्थापित भएको छ । यसले महिलामा आत्म गौरव बढाएको मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डल बताउँछन् ।
नापी कार्यालय महोत्तरीले चालु आर्थिक वर्ष २०७७-०७८ को हालसम्मको अवधिमा यसअघिका लक्ष्मीनियाँ, बलवा गाविसमा घरवासीलाई गाउँब्लकको जग्गाधनी प्रमाणपुर्जा वितरण गरी सकेको छ । पछिल्लोपटक धिरापुरसहित जम्मा ९०० जग्गाधनी प्रमाणपुर्जा प्रदान गरिएको नापी कार्यालय महोत्तरी जलेश्वरका प्रमुख राकेशकुमार झा ‘रसिक’ ले जानकारी दिए । कार्यालयले जारी चैत महिनाभित्रै यसअघिका किसाननगर, पशुपतिनगर र मनरा गाविसका गाउँब्लकभित्रको जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने जनाएको छ ।
साविक गाउँब्लकका जग्गा नाप गरी जग्गाधनी प्रमाणपुर्जा प्रदान गर्न एक दशकअघि नै नापी टोली खटाई घरजग्गा नाप गरिएको थियो । लामो समयसम्म वितरण हुन नसकेको जग्गाधनी प्रमाणपुर्जा कार्यालयले क्रमशः वितरण गर्दै लगेको हो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस