माछापालनप्रति किसानको आकर्षण बढ्दै
पर्वत जिल्लाको कुश्मा नगरपालिकाका युवा माछापालनमा आकर्षित भएका छन् । नगरपालिकाको वारी अम्बोट, दोविल्ला, पकुवा, चुवा, खुर्कोट र पाङमा व्यावसायिक माछापालन फस्टाउँदै गएको हो ।
सरकारी निकायको अनुदान र किसानको मेहनतका कारण पछिल्लो समयमा माछापालन व्यवसाय बढ्न थालेको छ । मोदीखोला र कालीगण्डकी किनारमा व्यावसायिक माछापालन गर्ने बढेका छन् ।
सो नगरपालिकाका पशुसेवा शाखाका प्रमुख मित्रलाल सापकोटाका अनुसार कुश्मामा व्यावसायिक माछापालन गर्ने किसानको सङ्ख्या ४० पुगेको छ । नगरपालिकाले कोरोना कारण र अन्य कारणले विदेशबाट फर्किएका युवालाई वस्तुगत सहायता दिँदै आएको छ ।
नगरको सहायताका कारण माछापालनमा युवाको आकर्षण बढेको पशुसेवा प्रमुख सापकोटाले जानकारी दिए । सापकोटाले किसानलाई माछा पोखरी निर्माण र माछाका भुरा नगरपालिकाले वितरण गरेको बताए ।
‘किसानलाई गत वर्ष पोखरी बनाउन सहयोग गरेका थियौँ’, सापकोटाले भने, ‘यस वर्ष भुरा वितरण गरेका छौँ ।’ किसान उत्साही भएर माछापालनमा लागेको उनले बताए । नगरपालिकाले शुक्रबार २२ किसानलाई भुरा वितरण गरेको छ ।
मागका आधारमा किसानलाई २५ हजार माछाका भुरा वितरण गरिएको हो । मागका आधारमा किसानले ५०० देखि पाँच हजार भुरा प्राप्त गरेका छन् । माछाका भुरा पाएपछि व्यवसायलाई थप प्रेरणा प्राप्त भएको किसान देवी क्षेत्रीले बताइन् ।
क्षेत्रीले छ वर्षदेखि व्यावसायिक माछापालन गर्दै आएकि छिन् । उनले आफूसँग छ हजार माछापालन गर्ने क्षमताका पोखरी रहेको जानकारी दिइन् । ‘लकडाउनको बेला मैले रु डेढ लाखका माछा बेँचे’, उनले भनिन्, ‘बजारको माग धान्नै मुस्किल छ ।’ मोदीखोला र कालीगण्डकी किनारमा माछापालन गर्ने किसान बढ्दै गएका छन् ।
नगरपालिकाले किसानको आकर्षण बढेपछि सहायता गर्न थालेको जनाएको छ । नगरप्रमुख रामचन्द्र जोशीले व्यावसायिक माछापालनलाई आगामी वर्ष थप बढाउने सोच रहेको बताए । उनले उपयुक्त हावापानी र राम्रो बजार रहेको हुनाले नगरपालिका माछा ब्लक नै बनाएर किसानलाई सहयोग गर्ने योजनामा रहेको सुनाए।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस