पदयात्रामा रमाउँदै तनहुँसुर जाने कि ?
ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाका साथै जैविक विविधतामा रमाउन चाहनेहरुका लागि तनहुँसुर इको ट्रेक उत्कृष्ट गन्तव्य बन्न सक्छ । केही समय अगाडि मात्रै सम्भाव्यता अध्ययन गरिएको उक्त पदमार्ग पदयात्रा गर्न रुचि राख्नेहरुका लागि उत्कृष्ट गन्तव्य बन्ने देखिएको हो ।
व्यास नगरपालिका–११ मूलपानीदेखि शुरु हुने पदमार्ग सोही वडाको तनहुँसुरसम्म पुगेर टुङ्गिनेछ । तनहुँ पर्यटन विकास समितिका अध्यक्ष एवं सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङले छोटो दूरीमा पदयात्रा गर्न चाहनेका लागि यो मार्ग उत्कृष्ट गन्तव्य रहेको बताए । उनका अनुसार ६.५ किलोमिटर दूरीको उक्त पदमार्ग समुन्द्र सतहदेखि ४७० देखि एक हजार २४० मिटर उचाइमा अवस्थित छ ।
‘प्राकृतिक एवं ऐतिहासिक सम्पदा, धार्मिक र सांस्कृतिक धरोहरको संरक्षण गर्न सडक मार्गको विकल्पका रुपमा इको ट्रेक स्थापनाका लागि सम्भाव्यता अध्ययन गरेका थियौँ’, उनले भने, ‘पर्यटकीय गतिविधिका माध्यमबाट स्थानीय समुदायको समृद्धिमा सहयोग पुर्याउन पदमार्गले सहयोग पुग्नेछ ।’ पदयात्राका क्रममा ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदाहरुको अवलोकन, तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरु, धारा, तोप, गद्दी चौतारा, बायस सिँढी चौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, भगवतीपानी मन्दिर, विष्णु र शिव मन्दिर, टुँडिखेल, सिलखान, जारकाटे ढुङ्गा, शहीद पार्क, ऐनापहरा, छाप लगाउने ढुङ्गा अवलोकन गर्न सकिन्छ ।
पृथ्वीराजमार्गमा पर्ने घाँसीकुवादेखि मूलपानीसम्म करीब चार किमी मोटरयात्रा त्यसपछि चमेरेगुफा–भगवतीपानी मन्दिर–तनहुँसुर देवस्थल सामुदायिक घरबास हुँदै तनहुँसुरसम्म गढीसम्म पदयात्रा गर्न सकिनेछ । ‘नेपालकै प्राचीन स्मारकस्थलमध्येको एक तनहुँसुर पुग्नका लागि विभिन्न सडक मार्ग छन्, ती सडक निर्माण गर्ने क्रममा दर्जनौँ पर्यटकीय सम्पदाहरु नष्ट भएका छन्’, अध्यक्ष गुरुङले भने, ‘यसले गर्दा हजारौँको सङ्ख्यामा विभिन्न प्रजातिका वनस्पतिको क्षति भएको छ भने पुराना गामबेँशी गर्ने गोरेटो बाटाहरु लोप हुँदैछन् ।’ ‘प्राकृतिक एवं सांस्कृतिक सम्पदा तथा जैविक विविधताको संरक्षण, स्वस्थ शरीर स्वच्छ वातावरण’ भन्ने मूल मन्त्रका साथ सबै उमेर समूहका लागि छोटो र सहज यस पदयात्राले तनहुँसुरको पर्यटन प्रवद्र्धन तथा समृद्धिका लागि सहयोग पुग्ने विश्वास गरिएको उनले बताए ।
पदयात्रा सञ्चालनपूर्व विगत केही महिनादेखि नै तनहुँसुरवासीलाई वन संरक्षण, वृक्षरोपण, स्थानीय उत्पादनलाई प्राथमिकता दिन, अग्र्यानिक खाना र सांस्कृतिक पहिचानको संरक्षण र प्रवद्र्धनलगायत विषयमा प्रशिक्षण दिइँदै आएको थियो । पदयात्रा गरेर पुग्नेहरुलाई तनहुँसुरमा दुईवटा घरबासको सुविधा छ । तनहुँसुरमा सर्वसाधारणको आगमन हुन थालेपछि यहाँका स्थानीयवासी घरबास सञ्चालनमा कस्सिएका छन् । तनहुँसुर सामुदायिक घरबास र तनहुँसुर देवस्थल सामुदायिक घरबास सञ्चालन गरेर स्थानीय पाहुनाको स्वागतका लागि आतुर छन् ।
तनहुँसुर भ्रमण गर्न आउने आन्तरिक एवं बाह्य पर्यटकलाई खाना तथा आवासको सहज व्यवस्थापन गर्ने उद्देश्यले भोरथोक र चण्दनीथोकका बासिन्दा मिलेर तनहुँसुर सामुदायिक घरबास सञ्चालित छ । कूल ४४ घरधुरीमध्ये आठ घरधुरीमा घरबास सञ्चालन गरिएको अध्यक्ष केबी थापाले जानकारी दिए । यहाँ ३० जना सम्मलाई बासको व्यवस्था मिलाउन सकिनेछ । मगर, नेवार दलितको बसोबास रहेको यहाँ मकै, कोदो, फापर, मास, बोडी, भट्ट लगायतका कृषि उपज उत्पादन हुने गर्दछ ।
यस्तै, पाल्पालीथोक, पत्यारथोक र गङ्गलीथोकका बासिन्दा मिलेर तनहुँसुर देवस्थल सामुदायिक घरबास सञ्चालन गरिएको छ । कूल ३० घरधुरी रहेको यस ठाउँका १४ घरधुरीमा घरबास सञ्चालन गरिएको छ । उक्त घरबासमा ४० जना बास बस्न सक्ने अध्यक्ष पदमबहादुर थापाले जानकारी दिए । मगर, नेवार र दलितको बसोबास रहेको यहाँका घरबासमा आउने पर्यटकलाई मकै, कोदो, फापर, मास, बोडी, भट्ट लगायतका परिकार खुवाइने घरबास सञ्चालक समितिका उपाध्यक्ष मदन आलेले जानकारी दिए।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस