कालीगढ नपाउँदा ऐतिहासिक पुल ओझेलमा
जिल्लाको भिमाद नगरपालिका र म्याग्दे गाउँपालिका जोड्ने सेतीनदीमाथिको ऐतिहासिक झोलुङ्गे पुल ओझेलमा परेको छ । राणाकालीन समयमा निर्माण गरिएको उक्त पुल जीर्ण अवस्थामा पुग्दा दक्ष कालीगढ नपाउँदा संरक्षण हुन नसकेको हो ।
पुरातात्विक महत्वको झोलुङ्गे पुलको संरक्षणको लागि नगरपालिकाले बजेटसमेत विनियोजन गर्दै आएको नगरपालिकाकाप्रमुख मेखबहादुर थापाले बताए । पुलको संरक्षणको लागि विज्ञ टोलीको खोजीकार्य भइरहेको छ । उनले भने, ‘पुल निर्माण गर्ने कालीगढको अभावका कारण बजेट विनियोजन गरिए पनि कार्यान्वयन गर्न सकिएको छैन ।’ पुलको संरक्षणको लागि स्थानीय र गण्डकी प्रदेश सरकारले चासो देखाउँदै आएका छन् । उनले भने, ‘नगरपालिकाले ऐतिहासिक झोलुङ्गे पुल मर्मतसम्भार तथा संरक्षण योजना शीर्षकमा पटकपटक बजेट विनियोजन गरे पनि ‘फ्रिज’ हुन पुगेको छ ।’ हामी पुल संरक्षणका लागि विभिन्न ठाउँसम्म पुगेका थियौँ । उनले भने, ‘यस किसिमको पुलसम्बन्धी सीप भएका व्यक्ति भेट्टाउन नसकिएकाले त्यस्ता व्यक्ति भए नगरपालिकाले समन्वय गरेर काम गर्न तयार छ ।’
पुरातात्विक र ऐतिहासिक क्षेत्रको अनुसन्धान, पुनःनिर्माण गर्नुपर्ने भएकाले डोजर लगाएर नष्ट गर्न नसकिएको नगरप्रमुख थापाले बताए । ढोर क्षेत्रको मिनामखानीमा रहेको फलाम खानीबाट स्थानीय विश्वकर्मा समुदायले फलाम निकालेर यो पुल निर्माण गरेको बताइएको छ । उक्त पुलमा प्रयोग भएका काठका फल्याक कुहिएका छन् भने फलामको लठ्ठा अहिले पनि जस्ताको त्येस्तै अवस्थामा देख्न सकिन्छ । निर्माण भएको सयौँ वर्ष बित्दा पनि फलामको गुणस्तर र कालीगढको चर्चा अहिले पनि उत्तिकै रहेको पाइन्छ । प्रदेश सरकारले ऐतिहासिक पुलको मर्मतसम्भार तथा संरक्षणका लागि गत वर्ष रु ११ लाख र यस आवमा रु बीस लाख विनियोजन गरेको नगरपालिकाले जनाएको छ । पुलको लागि भनेर छुट्टाएको बजेट काम गर्न नसकेपछि फ्रिज भएको नगरपालिकाका सूचना अधिकारी ऋषिभक्त वाग्लेले जानकारी दिए ।
आधुनिक पुलको विषयमा धेरै विज्ञ रहे पनि पुरानो पुलको सन्र्दभमा ज्ञान भएका व्यक्ति नहुँदा समस्या भएको हो । उनले भने, ‘ऐतिहासिक पुलको संरक्षणको लागि पुरातात्विक विभागमा गएर विवरण पेश गर्दा मर्मतसम्भार र संरक्षण गर्नुपर्ने इस्टिमेट ल्याउन भने पनि त्यो तयार गर्न नसक्दा संरक्षणको प्रक्रिया रोकिन पुगेको छ ।’ उक्त झोलुङ्गे पुल नजिकै मोटरेबल पुल निर्माण गरिएको छ । सोही पक्की पुल हुँदै तनहुँ, स्याङ्जा, पाल्पा र नवलपुरलगायतका सयौँ सर्वसाधारण दैनिक आवतजावत गर्ने गर्दछन् । ऐतिहासिक महत्व बोकेको झोलुङ्गे पुलको दयनीय अवस्था देखेपछि सर्वसाधारणले समेत खोलो तर्यो, लौरो बिस्र्यो भन्ने गरेको स्थानीयवासी बताउँछन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस