वाग्द्वार मेलाका लागि हजारौँ भक्तजन वाग्मतीको उद्गमस्थलमा
विगत वर्षझै यस वर्ष हजारौँ भक्तजन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मध्यभागमा रहेको वाग्मती नदीको उद्गम स्थल वाग्द्वार पुगेका छन् । प्रत्येक वर्ष नयाँ वर्षका अवसरमा वैशाख १ गते यहाँ मेला लाग्ने गर्छ ।
मेलाका लागि चैत मसान्तमा हजारौँ भक्तजन वाग्द्वारमै गएर बस्छन् । कति भक्तजनले रातभर बत्ती बालेर आराधना गर्छन् । रातभर बसेका भक्तजनले वैशाख १ गते बिहान स्नान, पूजा आराधना गरी फर्कने गरेको वाग्द्वार क्षेत्र सेवा समितिका अध्यक्ष अरुण ठकुरीले जानकारी दिए । यहाँ लाग्ने मेलाका लागि गुठी संस्थानले पनि सहयोग गर्दै आएको छ ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सङ्गमस्थलमा पर्ने वाग्द्वारमा नयाँ वर्षका दिन स्नान गरी त्यस नजिकैको शिवलिङ्ग एवं शत रुद्रेश्वर महादेव मन्दिरमा पूजा गरेमा पाप पखालिई पुण्य कमाइने जन विश्वास छ । चैत मसान्तमा वाग्द्वार पुग्ने भक्तजनले नजिकैको शिवलिङ्ग एवं शत रुद्रेश्वर महादेव मन्दिरमा बत्ती बाल्ने गरेको समितिका अध्यक्ष ठकुरीले सुनाए ।
बिहान वाग्द्वार स्नान गरी शिवलिङ्ग र शत रुद्रेश्वर महादेव मन्दिरमा पूजा गर्छन् । शिवपुरीको दर्शन गरेर विष्णुपादुकाको दर्शन, टोखा नगरपालिकास्थित सपनतीर्थ हुँदै भक्तपुरको बिस्केट जात्रा हेर्न जाने नियम रहेको समितिले जनाएको छ । यस वर्ष वाग्द्वारको स्नान मेलासँगै विष्णुपादुका, सपनतीर्थ एवं भक्तपुरको बिस्केट जात्रा पनि सञ्चालन हुने जनाइएको छ । गत वर्ष भने कोरोना महामारीका कारण जारी गरिएको बन्दाबन्दीका कारण सबै मेला स्थगित गरिएको थियो ।
यस क्षेत्रका दुवै नगरपालिकाको रु १०/१० लाख गरी रु २० लाखको लागतमा वाग्द्वारमा कुटीसहित शौचालय निर्माण गरिएको छ । यसले गर्दा यहाँ रात बस्ने गरी आउने भक्तजनलाई सहज भएको समितिले जनाएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले यहाँ निर्माण गरिएका शौचालय भत्किएपछि त्यपछिका वर्षमा पालको अस्थायी शौचालय निर्माण गरेर काम चलाइने गरेको थियो ।
मेलामा विशेष गरी उपत्यकाका साथै सिन्धुपाल्चोक र नुवाकोटका भक्तजनको पनि उल्लेख्य सहभागिता रहने गर्छ । वाग्द्वारबाट दुवै जिल्लाको सीमा नजिकै पर्छ । पशुपति क्षेत्र विकास कोषले प्रत्येक वर्ष वैशाखमा आयोजना गर्ने वाग्मती तीर्थ यात्राका यात्रु पनि एक रात वाग्द्वारमा बास बस्ने विधि छ ।
वाग्द्वार गोकर्णेश्वरको सुन्दरीजल र बूढानीलकण्ठको नारायणस्थान दुवैतिरबाट जान सकिन्छ । सुन्दरीजलबाट तीन घण्टा र नारायणस्थानबाट करिब दुई घण्टाको पैदल यात्रापछि वाग्द्वार पुग्न सकिन्छ । निकुञ्जभित्रको सौन्दर्यमा रमाउँदै रमणीय यात्रा गरी वाग्द्वार पुग्न सकिन्छ ।
विगत ३३ वर्षदेखि वाग्द्वारमा तपस्या गर्दै आउनुभएका टोड्के बाबा वैशाख १ गतेको मेलामा बस्तीबाट टाढा रहेपनि हजारौँ मानिस सहभागी हुने गरेको स्मरण गरे । यहाँ यसअघि शिवपुरी बाबा, स्वामी चन्द्रेश लगायतले पनि तपस्या गरेका थियो ।
देवादिदेव महादेवको पुर भएकाले शिवपुरी समेत भनिने यस स्थानलाई साधनाका लागि तपोभूमि मानिन्छ । यहाँ तपस्याका लागि विशेषगरी भारतका साधु आउने गरेका छन् । शिवपुरीबाट उत्पत्ति भई बग्ने वाग्मती समुद्रमा नपुगेसम्म अरु नदीमा नमिसिने र पहिचान नमेटाउने भएकाले यसको विशेष महत्व छ ।
क्याटेगोरी : चाडपर्व विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस