• जीवनशैली | Jiwanshaili
  • वत्सलेश्वरी जात्रा समापन गरिँदै


    मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिएको देशोद्धार पूजासहितको वत्सलेश्वरी जात्रा आज राति समापन गरिँदैछ । आर्यघाट जाने बाटोस्थित वत्सलेश्वरी मन्दिर परिसरबाट शुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाइएको छ । पशुपति क्षेत्रभर घुमाएपछि आज राति जात्रा सकिने परम्परा रहेको पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले जानकारी दिए ।

    चैत्र कृष्ण अष्टमीका दिन पशुपतिका भट्टले नै जात्रामा उपत्यकाका मुख्य देवदेवी एवं स्थानीयवासीलाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा दिने लिच्छविकालदेखिको परम्परा रहेको जनाइएको छ । उपत्यकाका देवदेवीलाई निमन्त्रणा गरेपछि देशोद्धार पूजासमेत भनिने यो जात्रा शुरु हुन्छ । जात्राअघि बज्रेश्वरी, वत्सलेश्वरी, आकाशभैरव, पशुपति क्षेत्रका नौ शक्तिपीठलगायत स्थानमा देशोद्धार पूजा सम्पन्न गरिएको थियो । पूजा सम्पन्न गरी आइतबार बज्रेश्वरी जात्रा गरिएको थियो । बज्रेश्वरी अर्थात् पिंगलास्थानको जात्रा आइतबार बेलुकी सम्पन्न गरिएको छ । आइतबार बेलुकी बज्रेश्वरी जात्रा समापन गरेर तत्काल वत्सलेश्वरीको जात्रा शुरु भएको हो ।

    आइतबारदेखि वत्सलेश्वरी जात्रा आजसम्म तीनदिन मनाइन्छ । चैत्र शुक्ल द्वितीयाका दिन आज बेलुकी सिन्दूर जात्रा गरी वत्सलेश्वरी जात्रा समापन गरिन्छ । दश दिनसम्म चल्ने यो जात्रा पशुपति क्षेत्रका लामो जात्रामध्येको एक हो । मुलुकमा शान्ति होस् भन्ने कामनाले पूजा एवं जात्रा गरिएकाले दुध खाने बालक पनि यो जात्रा हेर्न आउँछन् भन्ने विश्वास पशुपति क्षेत्रमा गरिन्छ । देशोद्धार पूजा र जात्रामा चार थरका मानिस प्रत्यक्षरुपमा संलग्न हुने गरेका छन् । उपाध्याय, वैद्य, डङ्गोल र सङ्गत गरी चार थर प्रत्यक्षरुपमा सहभागी हुने गरेको उहाँले सुना ।

    वत्सलेश्वरीलाई नक्साल भगवतीको दिदीका रूपमा पूजा आराधना गरिन्छ । भगवान् शिवको पत्नीका रूपमा पूजिने वत्सलेश्वरीलाई पशुपतिबाट निकालेको भन्ने किम्बदन्तीका आधारमा आज नक्साल भगवतीको जात्रा पनि पशुपति क्षेत्रमा लगिन्छ । नक्साल भगवतीले भगवान् शिवको ध्यानाकर्षण गराउन आइतबार बेलुकी रथले पशुपतिको मूलढोकामा तीनपटक ठोकाएर फर्काउने प्रचलन रही आएको छ ।

    बहिनीले श्रीमान्को ध्यानाकर्षण गराएपछि वत्सलेश्वरी माता भने चैत्र शुक्ल प्रतिपदा अर्थात् सोमबार राति छोरा चन्द्रविनायक कहाँ बस्न जाने परम्परा छ । यसै परम्पराअनुसार सोमबार वत्सलेश्वरीको रथ तानेर चाबहिल गणेशसमेत भनेर पूजिने चन्द्रविनायकमा लगिएको थियो । त्यहाँबाट आज पशुपति क्षेत्रका विभिन्न स्थानमा घुमाएर पशुपति अमालकोटमा ल्याई सिन्दूर जात्रा गरेपछि १० दिन लामो जात्रा समापन गरिन्छ । प्रत्येक वर्ष यो जात्रा मनाएमा जनतामा रोग व्याध नलाग्ने, सुख, शान्ति हुने विश्वास रहेको छ । यसै विश्वासले बालबालिका पनि जात्रा हेर्न पशुपति क्षेत्रमा आउने गरेका छन् ।


    क्याटेगोरी : चाडपर्व विशेष

    प्रतिक्रिया दिनुहोस