नयाँ वर्षमा नयाँ घर पाउँदै बिहुँ काउलेका दलित समुदाय
विसं २०७२ को नयाँ वर्षदेखि राम्रोसँग निदाउन नपाएका बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ काउलेका धनमया दर्जी विसं २०७८ को नयाँ वर्षमा नयाँ घरमा प्रवेश गर्दै छिन्। दर्जीसँगै १० विस्थापित परिवारले नयाँ वर्षदेखि नयाँ घरमा ढुक्कले सुत्न पाउनेछन् ।
भूकम्पले चर्काएको घरमा जेनतेन बस्दै आएका काउलेका १० घर परिवार विसं २०७५ असारदेखि पूर्णरूपमा विस्थापित भएका थिए । ‘भूकम्पले घरहरु चर्काएको थियो, नयाँ वर्षकै महिनामा घरमा बस्ने अवस्था थिएन, जेनतेन मर्मतसम्भार गरी बस्दै आएका थियौँ’, अर्का पीडित भविलाल दर्जीले भने, ‘कहिलेकाहीँ त अब नयाँ घर पाउने आशा समेत मार्दै आएका थियौँ, अहिले नयाँ घर ठडियो, नयाँ वर्षमा घर छाडेका हामीले नयाँ वर्षको आगमनसँगै सर्न पाउनेछौँ ।’ भूकम्प र पहिरोका कारण विस्थापित बनेका बिहुँ काउलेका १० दलित समुदायले नयाँ वर्षमा नयाँ घर पाउने भएका छन् ।
भूकम्प गएको छ वर्षपछि बिहुँ काउँलेका दलित बस्तीका लागि एकीकृत नमूना बस्ती निर्माण अन्तिम चरणमा पुगेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । भूकम्प गएको पाँच वर्षपछि गत पुसदेखि एकीकृत बस्ती निर्माण शुरु गरेको थियो । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण क्षति पुर्याएको बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ काउलेका १० दलित परिवारको त्यसपछि आएको पहिरोका कारण बस्ती नै विस्थापित हुनुपरेको थियो । भूकम्पले क्षति पुर्याएर चिरा पारेको उक्त बस्तीमा विसं २०७५ असार १२ गतेको भीषण वर्षाले जमिन भासिएपछि स्थानीय १० घरधुरीका बासिन्दा विस्थापित भएका थिए ।
बिहुँकै सापकोटा चोकमा एकीकृत बस्ती ठडिएको छ भने पूर्वाधार निर्माणको काम शुरु हुन थालेको छ । अहिले घरहरुको निर्माण सम्पन्न हुने चरणमा छ । हालसम्म ८० प्रतिशत भौतिक प्रगति भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ बागलुङका प्रमुख रेणुका पाण्डेयले जानकारी दिइन् । उनका अनुसार ढिलै भए पनि काउँलेका स्थानीयवासीले नयाँ वर्षलगत्तै घर पाउने गरी निर्माणले अन्तिम रूप लिएको हो ।
यद्यपि एकीकृत बस्तीमा पूर्वाधार निर्माण नभएसम्म हस्तान्तरणको काम भने नहुने पाण्डेयको भनाइ छ । विसं २०७५ वैशाखमा भूकम्प पीडितका लागि एकीकृत बस्ती निर्माण गर्नका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले संयुक्त लालपुर्जा वितरण गरेको थियो । जग्गा खरिदका लागि प्रतिपीडित परिवार रु दुई लाख रकम दिइएको थियो ।
जग्गा खरिदमा प्रतिपरिवार रु दुई लाख, एकीकृत बस्ती निर्माण गर्न प्रतिपरिवार रु तीन लाख र पूर्वाधार निर्माणका लागि प्रतिपरिवार रु चार लाख गरी एकीकृत बस्ती निर्माण सम्पन्न गर्नका लागि प्राधिकरणले जम्मा रु ९० लाख खर्च गर्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख पाण्डेयले जानकारी दिइन्। उनले पछिल्लो समय बागलुङमा पुनःनिर्माण प्राधिकरणले गति लिएको बताइन् ।
भूकम्पपीडितको घर अन्तिम चरणमा पुगेर अब पूर्वाधारको काम शुरु गर्न थालिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)का इञ्जिनीयर विक्रम सापकोटा बताउँछन् । ‘अहिले ८० प्रतिशतभन्दा बढी भौतिक प्रगति यो बस्तीको भएको छ, बस्तीमा पूर्वाधारको काम बल्ल शुरु हुँदैछ तर छिट्टै घर निर्माण भएर आफ्नै घरमा बस्न पाउने छन्’, सापकोटाले भने, ‘वैशाख महिनभर घर निर्माण सक्ने लक्ष्य छ, हस्तान्तरणको काम भने सबै पूर्वाधार निर्माणपछि मात्रै हुन्छ ।’
विस्थापित परिवारलाई लालपुर्जा वितरण गरेको एक वर्षपछि घर निर्माण थालिएको थियो । घर निर्माण थालेको पाँच महिनापछि निर्माणले अन्तिम रूप लिन थालेपछि विस्थापित परिवारमा खुशीयाली छाउन थालेको छ । घर सम्पन्न भइसकेपछि सम्बन्धित परिवारको नाममा लालपुर्जा कित्ताकाट गरिनेछ । एकीकृत बस्तीमा घरसँगै सडक, विद्युत्, खानेपानी, सार्वजनिक शौचालय, सार्वजनिक भवनलगायतका पूर्वाधारसमेत निर्माण गरिनेछ । बस्ती निर्माणस्थलमा सडक नपुगेका कारण निर्माण सामग्री बोक्न समस्या भएका कारण निर्माणमा समेत ढिलाइ भएको थियो । भूकम्पमा चिरा परेको स्थान छाडेर अन्यत्रै स्थानीयवासीको घरमा आश्रय लिएर बसेका १० दलित परिवारले नयाँ वर्षमा नयाँ घर पाउने भएका हुन् ।
बस्ती तल र माथिबाट पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माण भएको र भूकम्पले जमिन चर्काएको स्थानमा बाढी पसेर बस्ती जोखिममा परेको भूर्गभ विभागको ठहरपश्चात अन्यत्रै एकीकृत बस्ती निर्माण गर्ने सुझावअनुसार प्राधिकरणले बस्ती निर्माण थालेपछि ढिलोगरी बस्ती निर्माण शुरु भएको थियो । अहिले पूर्वाधार निर्माणका लागि समेत सम्झौता भएको र अब काम शुरु हुने प्राधिकरणले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस