यस वर्ष चिराइतोको मूल्यमा वृद्धि, किसानलाई राहत
विगतका वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्यमा वृद्धि भएपछि ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाका किसान उत्साहित भएका छन् । गएको वर्षमा चिराइतोको मूल्य न्यून हुँदा मारमा पर्दै आएका किसान यो वर्ष मूल्यमा वृद्धि भएसँगै उत्साहित बनेका हुन् ।
अहिले ताप्लेजुङमा प्रतिमन रु १५ हजारका दरले चिराइतोको कारोबार भइरहेको छ । ‘गत वर्ष ताप्लेजुङमा चिराइतोको अधिकतम मूल्य रु १० हजार थियो, अहिले रु १५ हजारले कारोबार गरिरहेका छौँ’, व्यवसायी रुद्र अधिकारीले भने ।
हिमाली तथा पहाडी जिल्लामा चिराइतोलगायतका जडीबुटीलाई समेत प्रमुख आमदानीको स्रोतका रूपमा लिने गरिएको छ । अलैँची खेतीमा संलग्न नभएका किसानले चिराईतो खेती गर्दै आएका छन् तर यस अघिका वर्षमा राम्रो मूल्य नहुँदा चिराइतो खेती गर्दै आएका र जङ्गलमा सङ्कलन गरेका किसान निरास थिए । न्युन बजार मूल्यका कारण लागत मूल्य नै नउठ्ने भए पछि कतिपयले त्यतिकै थन्क्याएर राखेका थिए ।
‘अघिल्ला वर्षहरुमा लागत नै नउठ्ने मूल्य थियो, जङ्गल फाँडेर लगाएको चिराइतो खेती प्रति उत्साह थिएन तर यो वर्ष केही सुधार हुनाले सबैलाई सामान्यरूपमा फाइदा पुगेको छ’, चिराइतो खेती गर्दै आएका सिरिजङ्घा गाउँपालिकाका किसान खड्क गुरुङले भने ।
जिल्लाको सिरिजङ्घा, सिदिङ्वा, फक्ताङलुङलगायतका गाउँपालिकाका किसानले चिराइतो खेती गर्दै आएका छन् । कतिपयले जङ्गलमा गएर सङ्कलन गरी बिक्री वितरण गर्दै आएका छन् ।
ओलाङ्चुङगोला हुँदै चीनको तिब्बत र भारतीय बजारमा चिराइतो निकासी हुने गरेको छ तर यो वर्ष कोभिड–१९ अर्थात् कोरोना सङ्क्रमणका कारण चीनतर्फका नाका बन्द भएकाले त्यसतर्फ भने निकासी हुन नसकेको व्यवसायीले बताएका छन् । भारतीय बजारमा भने झापाको विर्तामोड हुँदै निकासी भइरहेको व्यवसायीको भनाइ छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस