उदयपुर गढीमा खानेपानीको हाहाकार
पर्यटकीयस्थलका रुपमा चिरपरिचित रहँदै आएको गढी गाउँपालिकाको उदयपुर गढी क्षेत्रमा खानेपानीको चरम समस्या भएको छ ।
डेढ महिनादेखि सो क्षेत्रमा पानी लिफ्टिङ्ग गर्ने जेनेरेटर बिग्रिएकोले खानेपानीको हाहाकार भएको हो । स्थानीय होटेल व्यवसायी तथा घरबास (होमस्टे) सञ्चालक कृष्ण धमलाले गढी क्षेत्रमा खानेपानीको समस्या भएको जानकारी दिए ।
तीन किलोमिटर दूरीमा रहेको जोगिधाराबाट लिफ्टिङ्ग गरेर पानी तान्ने गरिएको थियो । यसबाट गढी गाउँपालिकाको कार्यालयसहित झण्डै ५० घरले पानीको उपयोग गर्दै आएका थिए । केही स्थानीयवासी दुई घण्टा लाग्ने जोगिधारा र कोही नौ किलोमिटर वैद्यनाथ खोलाबाट ट्र्याक्टरमा पानी बोकाएर खान बाध्य छन् । गढी घुम्न आउने पर्यटकसमेत पानीको समस्या देखेर गढीमा बास बस्न छाडेका छन् भने घुम्न आउने पर्यटकको सङ्ख्या पनि ह्वात्तै घट्न पुगेको होमस्टे सञ्चालक देवराज राईले जानकारी दिए ।
गाउँपालिकाका उपाध्यक्ष सानुकुमारी राउत भन्छन्, ‘केही वर्षदेखि गढी क्षेत्रमा खानेपानी समस्या समाधान गर्न जोगिधाराबाट लिफ्टिङ्ग गरेर गढीका ५० घर जनतालाई धाराबाट पानी वितरण गर्दै आएका हौँ । केही महिनादेखि प्राविधिक समस्याका कारण खानेपानीको समस्या आयो ।’ उनले गढी क्षेत्रमा बिजुली आइसकेको र मेशिन सञ्चालन गर्न तेल नचाहिने हुँदा खानेपानीको समस्या छिट्टै समाधान हुने दाबी गरे ।
गाउँपालिकाका अध्यक्ष मोहन केपीछाके मगरले खानेपानी समस्या समाधान वैद्यनाथ खोलादेखि नै पानी लिफ्टिङ्ग गरेर गढी क्षेत्रसम्म पुर्याउन लागिएको जानकारी दिए । गढी समुद्री सतह देखि दुईहजार मिटरको उचाइरमा रहेको एतिहासिक पर्यटकिय स्थल हो । तत्कालीन राजा पृथ्बीनारायण शाहका फौजले आक्रमण गर्नु अघि गढीमा उदयसेन राजाले राज्य गरेको बताइएको छ ।
गढीमा एक हजार वर्ष पुरानो वरको रूख रहेको छ भने पञ्चावती देवीको मन्दिर जस्ता महत्वपूर्ण मन्दिर पनि छ । गढीबाट उत्तरतिर एकैपटक ६ वटा हिमशृङ्खलाहरु अवलोकन गर्न सकिन्छ । गढीबाट दक्षिणतिर तराईको धनुषाको जनकपुर, सिरहा, सप्तरीसहित पश्चिमतिर सिन्धुली रामेछाप, ओखलढुङ्गा उत्तर खोटाङ र भोजपुर क्षेत्र एकैचोटि अवलोकन गर्न सकिन्छ ।
एक सय गन्तव्यको सूचीमध्येमा गढी पनि रहेको छ । खानेपानीको समस्याका कारण गढीका धेरै जनता गाउँ छाडेर अन्यत्र बसाइँ सर्ने क्रम बढ्दै गएको छ । विसं २०६४ सम्ममा गढीक्षेत्रमा २२० घर रहेको भए पनि बसाइँ सर्ने क्रम बढ्दै गएपछि अहिले ५० घर मात्र रहेका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस