इतिहास बन्यो सतबाँझको स्याउ
बैतडीको दशरथचन्द नगरपालिका १ मुस्याचौरका ६२ वर्षीय जयसिंह टेरलाई दशरथचन्द राजमार्गमा छेउमै रहेको सतबाँझको डाँडामा लटरम्म स्याउ फलेको दृष्य सम्झिँदा अहिले इतिहास जस्तै लाग्छ ।
स्याउका लागि प्रसिद्ध मानिने बैतडीको सतबाँझको लेकमा पछिल्लो दुई दशकयता भने स्याउ फल्न छोडेको छ । ‘माथि डाँडामा रहेका स्याउका रुखबाट फलेर सडकमा खसिराख्थे उनले भने, ‘सडकमा टन्न खसिराख्थे, पेटभरि खान्थ्यौँ अनि स्याउमै खेलेर रमाउथ्यौँ, अब ती दिन इतिहास भएको छ, आजभोली यहाँ चाख्नलाई पनि स्याउ पाइँदैन ।’
सतबाँझ क्षेत्र स्याउका लागि सुदूरपश्चिमकै प्रसिद्ध मानिन्थ्यो । टेरले भने, ‘एकै रुखमा एक क्विन्टलभन्दा बढी स्याउ फल्थ्यो, प्रतिकिलोको रु चार-पाँचमा बेचिन्थ्यो, तर अब ती दिनको सम्झाना मात्र भयो, सतबाँझको स्याउ त इतिहास नै बन्यो ।’
जयसिंह जस्तै गुरुखोलाका ५६ वर्षीय देवदत्त भट्टलाई पनि सतबाँझको स्याउको अहिले पनि सम्झना भइरहन्छ । ‘त्यो बेलाको जस्तो स्वादिलो स्याउ अहिले बजारमा कतै देखिँदैन, भट्टले भने, ‘अब कल्पना मात्रै गर्न सकिन्छ ।’
त्यो समयमा भर्खर सतबाँझ क्षेत्रमा खनिएको सडकमा चार पाङ्ग्रे गाडी चल्ने अवस्था नहुँदा यहाँ उत्पादन भएको स्याउ हेलिकप्टरमार्फत अन्यत्र ढुवानी हुने गरेको भट्टको भनाइ छ । उनले भने, ‘भर्खर सडक पुगेको थियो, यातायात सञ्चालन हुँदैनथ्यो, काठमाडौँ, धनगढी हेलिकप्टरमार्फत् स्याउ ढुवानी गर्ने गरिन्थ्यो ।’
अगुवा कृषकसमेत रहेका उनले थपे, ‘कुनै कुनै दाना आधा केजीसम्म फल्थे, गाल्डेन जातको स्याउ राम्रो फल्थ्यो ।’ विद्यालय आउँदा जाँदा निर्माण हुँदै गरेको सडकमा खसेका स्याउका दाना टिपेर खाएको अनुभव स्थानीय रामबहादुर टेर सुनाउँछन् । उनले भने, ‘लटरम्म फलिरहने स्याउ खसेर सडकसम्म पुग्थ्यो, पेटभर खान्थ्यौँ, अनि झोलाभरि घर लग्थ्यौँ ।’
तत्कालीन राजा महेन्द्रको पहलमा विसं २०१९ मा सतबाँझमा वागवानी विकास केन्द्रको स्थापना गरिएको थियो । त्यसपछि तत्कालीन राजा वीरेन्द्र पनि सतबाँझ क्षेत्रलाई प्राथमिकतामा राख्दै विसं २०३६ मा यस क्षेत्रको भ्रमण पनि गर्नु भएको थियो । सोही बेलादेखि यस केन्द्रमा हेलिकप्टर बस्नका लागि सहज होस् भनेर हेलिप्याडसमेत बनाइएको थियो ।
स्याउ फल्न छोडेपछि हाल सुख्खा फलफूल विकास केन्द्र भनेर यस क्षेत्रको नामकरण गरिएको छ । यहाँको २९ हेक्टर क्षेत्रफलको जग्गालाई सुख्खा फलफूल क्षेत्रका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
वर्षेनी भइरहेको जलवायु परिवर्तनले पारेको असरसँगै र यो क्षेत्रको संरक्षण हुन नसक्दा स्याउ फल्न छोडेको जानकारहरुको भनाइ छ । जलवायु परिवर्तनको असरका कारण स्याउ फल्न छोडेको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्का बताउँछन् ।
‘जलवायु परिवर्तनले हिँउ पर्न छोडेको छ, चिसोको तापक्रम पुग्दैन् उनले भने, ‘स्याउ फल्नका लागि निरन्तर एक हजार ६०० घण्टासम्म सात डिग्री सेल्सियभन्दा कम तापक्रम चाहिन्छ ।’ उनले भने, ‘माओवादी द्वन्द्वका बेला कार्यालयमा नै आगजनी भयो, कार्यालय सारेर सदरमुकाम बस्नुपर्यो, २०५२ सालदेखि २०६२ सालसम्म कोही बसेनौँ, बगैँचाको हेरचाह भएन, रोगकिरा लाग्यो, द्वन्द्वकालमा कार्यालय सरेपछि स्याउका बोटको संरक्षण हुन सकेन, सबै नष्ट हुँदै गए ।’
त्यो समयमा सतबाँझमा रहेको स्याउ फार्ममा ७८ जातका स्याउ फल्ने गरेका थिए । तर स्याउको पुरानो बगैँचा सकिँदा अहिले स्याउ फल्न छाडेको स्थानीय बताउँछन् । हाल स्याउका अन्ना भेरिड, गोल्डेन डेलिसियस, रेड डेलिसियस, रोयल डेलिसियस, जुनाथन, मेनकन्टस, फुजी, गाला, होलीक्रिक्स, रेड ग्राभिप्टिन, क्रिस्पिन, काट्जा, रेडजोन, पिपिनलगायतका जातका स्याउका बिरुवा रोपिएकोमा यी बिरुवाले एक दुई वर्षमा फल दिने विश्वास गरिएको छ । स्याउको यो जात हिउँ नपरे पनि र सामान्य चिसो मौसममा पनि फल्ने जनाइएको छ । पुराना रुख सुक्दै गएपछि हाल स्याउको नयाँ बगैँचा निर्माणको काम भइरहेको केन्द्रले जनाएका छ ।
परीक्षणका लागि नयाँ बिरुवा रोपिएको सुख्खा फलफूल विकास केन्द्रका प्रमुख डम्बर भाट बताउँछन्। उनले भने, ‘हाल विभिन्न फलफूलका ५०० जति बिरुवा रोपेका छौँ, परीक्षणका लागि रोपेका हौँ, राम्रो फल्यो भने अझै रोप्छौँ ।’
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस