गोसाइँकुण्डमा शिवमूर्ति राखिँदै
नीलकण्ठ विराजमान तीर्थस्थल गोसाइँकुण्डमा शिवको मूर्ति राखिने भएको छ । छब्बीसौँ वन्यजन्तु सप्ताहअन्तर्गत गोसाइँकुण्ड गाउँपालिकाले धुञ्चेमा आयोजना गरेको साताव्यापी पालिका अध्यक्ष कप फुटबल तथा भलिबल प्रतियोगिताको समापनका अवसरमा वाग्मती प्रदेशका भौतिक तथा पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले २७ फिट अग्लो मूर्ति प्रतिस्थापन गर्ने गृहकार्य अगाडि बढेको जानकारी दिए ।
तीर्थको पश्चिमतर्फ अमरसिंह थापाले शहादत प्राप्त गरेको स्थानमा पनि अमर शालिक राख्न बोलपत्र प्रक्रिया अगाडि बढेको बताइएको छ । धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणका लागि गोसाइँकुण्ड गाउँपालिकाले चालेको कदम र वातावरण विज्ञले तयार पारेको कार्यविधि कहिले स्वीकृत हुन्छ भन्ने राससका प्रश्नमा मन्त्री फुयाँलले प्राकृतिक सम्पदाको संरक्षणको अध्ययन गरी कार्यविधि स्वीकृत हुने जानकारी दिए ।
प्रदेश सरकारले गोसाइँकुण्ड बृहत् गुरुयोजना बनाइसकेको र पूर्वाधार विकासमन्त्री फुयाँलले बोलेका कुरा कार्यान्वयन गर्न धमाधम अगाडि बढिरहेको जिल्ला समन्वय समिति प्रमुख कुलप्रसाद भटृले बताए ।
समारोहमा गोसाइँकुण्ड गाउँपालिकाले आयोजना गरेको भलिबल तथा फुटबल खेलका विजेतालाई गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ र लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले मङ्गलबार ट्रफी, नगद तथा प्रमाणपत्र वितरण गरे ।
यही वैशाख १ देखि ४ गतेसम्म रसुवा रङ्गशाला धुञ्चेमा भएको फुटबल प्रतियोगितामा भाग लिएका १७ समूहमध्ये उत्तरगया यूनिक समूह प्रथम, अकियास धुञ्चे द्वितीय र ठूलोगाउँ युवा क्लबले तृतीय स्थान प्राप्त गरेको खेल संयोजक तेम्बा जिएलले जानकारी दिए । वैशाख ५ र ६ गते भएको भलिबल खेलतर्फ भने भीमलाल हीराचन स्मृति समूह प्रथम, अकियास धुञ्चे द्वितीय र नौकुण्ड समूह तृतीय भएको बताइएको छ । भलिबलमा १३ समूहले भाग लिएका थिए । प्रथमलाई रु एक लाख, द्वितीयलाई रु ५० हजार र तृतीयलाई रु २५ हजार प्रदान गरिएको आयोजकले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस