लङ्गाउँमा खानेपानीको चरम अभाव
स्थानीय सरकार आएपछि खानेपानीको अभाव टर्ला भनेर आशावादी रहेका बागलुङ नरपालिका–६ स्थित लङ्गाउँका बासिन्दाको आशा निराशामा परिणत हुँदै गएको छ । बागलुङ बजार नजिकैको लङ्गाउँका बासिन्दाले विगत १० वर्षदेखि खानेपानीको चरम अभाव खेप्दै आएका छन् । अहिले लङ्गाउँमा एक दिन बिराएर दुई गाग्री पानी मात्रै धारामा आउने गरेको स्थानीयवासीले दुखेसो व्यक्त गरेका छन् । खानेपानीको समस्या भएपछि विसं २०३४ मा बागलुङ–६ धारापानीको मुहानबाट पानी ल्याएर खाँदै आउनुभएका लङ्गाउँवासीलाई पुनः १० वर्षअघिदेखि खानेपानी समस्याले सताउन थालेको छ ।
जनसङ्ख्या वृद्धिदर बढ्दै जानु र धारापानीको मुहान सुक्दै जान थालेपछि विगत १० वर्षदेखि लङ्गाउँमा खानेपानीको हाहाकार हुँदै आएको स्थानीयवासी टेकबहादुर थापाले बताए । ‘हिउँदको चार महिनामा खानेपानीको निकै समस्या छ, दुई दिन बिराएर धारामा दुई गाग्री पानी आउँछ’, थापाले भने, ‘एकै ठाउँमा बस्ती छ, थोरै खानेपानीले पुग्दैन, सरसफाइ र पशुका लागि लङ्गाउँमुनिको गोजीको धारोबाट बोकेर ल्याउँछौँ, आउन जान आधा घण्टा लाग्छ ।’
बजार नजिकैको घर भएरसमेत हिउँदमा दुर्गममा जस्तो खानेपानी बोक्नुपर्ने समस्या पीडादायी भएको उनको गुनासो छ । पटक–पटक एक घर एक धाराको कुरा आए पनि हालसम्म कुनै काम हुन नसकेको स्थानीयवासी याम थापाले जानकारी दिए । अहिले लङ्गाउँका लागि भनेर भिरलाखुरीमा एक लाख लिटरको खानेपानी ट्याङ्की निर्माण भए पनि काठेखोलाको पानी तानेर ल्याउनुपर्ने नगर खानेपानीको आयोजना अगाडि नबढ्दा समस्या भइरहेको छ ।
खानेपानी समस्या समाधानका लागि बागलुङ नगरखानेपानी र नगरपालिकाको साझेदारीमा काठेखोलाको पानी लिफ्टमार्फत माथि ल्याउने काम भइरहे पनि समयमै नसकिँदा सोही लिफ्टको पानीमाथि लगेर लङ्गाउँ पुर्याउने कार्य अलपत्र पर्दै आएको छ । हिउँदको फागुन, चैत, वैशाख र जेठमा खानेपानीको चरम अभाव हुने गरेको छ । अहिले लङ्गाउँका साुदायिक धारामा रित्ता गाग्री छरपष्ट देख्न पाइन्छ ।
अहिले लङ्गाउँका बासिन्दाले भिरलाखुरीमा बनाइएको ट्याङ्की हेरेर काठेखोलाको पानी कुर्दै बसेका छन् । मुख्य खानेपानी आयोजनाको काम पूरा नहुनु र भिरलाखुरी पम्पमार्फत पुर्याउने खानेपानीको कामको कुनै सुरसार नहुँदा अझै केही वर्ष खानेपानीको अभाव झेल्दै बस्नुपर्नै लङ्गाउँवासीको पीडा छ ।
नगरपालिकाले खानेपानीका लागि अधिकतम प्रयास गरेर तल्लो लङ्गाउँमा खानेपानी पुर्याएको भए पनि उपल्लो लङ्गाउँमा समस्या समाधान केही वर्षमा हुने नगर प्रमुख जनकराज पौडेलले बताए । नगर खानेपानीको काम सकिएर काठेखोलाको पानी रातामाटा पुग्नासाथ पुनः एक लाख लिटरको ट्याङ्की निर्माण गरिएको बताइएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस