अझै पाएनन् स्वास्थ्यकर्मीले जोखिम भत्ता
कोरोना महामारीको समयमा अग्रपङ्क्तिमा काम गरेका बागलुङका स्वास्थ्यकर्मीले एक वर्षदेखि जोखिम भत्ता पाएका छैनन् । सरकारले पहिलो लाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मीलाई शतप्रतिशत र दोस्रो लाइनमा खटिनेलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो ।
धवलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा शैलेन्द्र पोखरेलका अनुसार आइसोलेसनमा लगातार तीन-चार महिनासम्म खटिएका चिकित्सक र नर्स मात्रै २५ जनाले जोखिम भत्ता पाएका छैनन् । प्रयोगशालामा खटिने १०-१० पालिकामा स्थापना भएका कोभिड अस्पतालका पाँच जनाको दरले ५० जना, १० चालक र स्वास्थ्य संस्थामा कार्यरत थप १०० गरी झण्डै २०० जनाले अहिलेसम्म भत्ता नपाएको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले जानकारी दिए ।
गत वर्ष क्वारेन्टिन सञ्चालनमा खटिएका स्वास्थ्यकर्मी र अन्य कर्मचारीले पनि भत्ता पाएका छैनन् । ‘सङ्क्रमणदर बढिरहँदा पनि क्वारेन्टिन र आइसोलेसन थप गर्ने विषयमा चासो बढ्न सकेको छैन’, उनले भने, ‘काम गरेको केही पाइँदैन भनेर धेरै साथी सुस्ताएका छन् ।’
‘गत आर्थिक वर्षको असार महिनाको भत्ता पाएका छैनौँ, यसपछि सङ्क्रमण बढेर चौबीसै घण्टा खटिनेलाई पनि केही राहत भएन’, कार्यालयका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले भने, ‘कार्यालयको नियमित कामबाहेक जोखिममा खटिँदा केही नपाएपछि निराशा बढेको हो । ‘
जोखिम मोलेर काम गर्दा अग्रपंक्तिमा खटिने ५० बढी स्वास्थ्यकर्मी, केही एम्बुलेन्स चालक र सहयोगीलाई कोरोना सङ्क्रमण भएको थियो । उनीहरु अहिले नियमित खटिन डराएको कार्यालय प्रमुख गुरौले बताए । जोखिम भत्ताका लागि स्वास्थ्य मन्त्रालयसम्म पत्राचार गरे पनि भत्ता नआएको उनको भनाइ छ ।
अस्पताल विकास समितिले पनि जोखिममा खटिएकाको सेवासुविधाका लागि पहल गरिरहेको अध्यक्ष केवी रानामगरले बताए । गत वर्ष जोखिम भत्ताका लागि एक करोड बजेट आयो भनेर चर्चा भए पनि त्यो व्यवस्थापकीय काममा मात्रै खर्च भएको उनको भनाइ छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस