बझाङका दुर्गम गाउँमा सोलार लिफ्टिङ प्रविधिबाट खानेपानी
जिल्लाको बुङ्गल नगरपालिका–६ बड्डी ज्यावनकी धनमती धामीलाई अचेल खानेपानीको चिन्ता हुँदैन । अहिले धनमतीले बिहान सबेरै उठ्नुपरेको छैन भने घरमा खानेपानी छ कि छैन भन्ने चिन्ता पनि छैन । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले सोलार लिफ्टिङ प्रविधिबाट गाउँमा खानेपानी पु¥याएपछि उहाँ मात्र होइन, गाउँलेकै दैनिकी फेरिएको छ ।
आयोजना निर्माण हुनुअघि गाउँभन्दा तलको खोलाबाट पानी बोक्नुपर्ने र वर्षात्को समयमा वर्षाको पानी पिउनुपर्ने बाध्यता थियो । वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीयवासी घर अगाडि धारा जडान भएपछि खुशी छन् । पानी भर्नका लागि पालो कुर्नुपरेको छैन भने पानी भर्नकै लागि आधा रातमा उठ्नुपर्ने अवस्था पनि नरहेको उनि बताउछन् ।
दुर्गाथली गाउँपालिका–५ बाजगडाकी धर्मा जप्रेललाई पनि आँगनमै खानेपानीको धारा बनेपछि हाइसञ्चो भएको छ । वर्षौँदेखि खोलाको पानी बोक्दै आएकी उनि गाउँमा बाजगडा सोलार लिफ्टिङ खानेपानी आयोजना बनेपछि दुःखका दिन हटेको बताइन् । “अहिले आँगनमै पानीको धारा छ । न त बिहानै उठेर पानी भर्नुपरेको छ न एक गाग्री पानी भर्न दिनभर कुर्नुपरेको छ”, उनि भन्छिन् “पहिले एक घण्टा हिँडेर खोलाबाट पानी ल्याउनुपर्ने बाध्यता थियो । सरसफाइमा पनि त्यति ध्यान दिन सकिएको थिएन । आफूलाई त बोकेरै पानी पिउन सम्भव थियो । गाईभैँसीलाई पनि बोकेरै पानी दिनुपर्ने अवस्था भएपछि हामीले पाउनसम्मका दुःख पायौँ ।” गाउँमा यसभन्दा पहिले खानेपानीको कुनै योजना आएको थिएन । अहिले पानी बोक्नुपर्ने दुःख हटेसँगै सरसफाइमा पनि ध्यान दिन थालेको उनले बताइन् ।
महिलालाई महिनावारी भएको बेला नुहाउनलाई एक घण्टा हिँडेर खोलामा जानुपर्ने बाध्यता थियो । पानी नहुँदा महिनावारी भएको समयमा विद्यालयसमेत नजाने गरेको खप्तडछान्ना–२ की पुजा सुनारले बताइन् । उनि भन्छिन, “नुहाउन टाढा जानुपथ्र्यो । विद्यालय जाने समय पनि नुहाउनमै जान्थ्यो । महिनावारी भएका बेला सात दिनसम्म दिनहुँ नुहाउने, लुगा धुने गर्नुपर्छ, टाढाको धारा र मुहान जाँदा यता पढाइ छुट्छ ।” पानी नहुँदा महिनावारी भएका छात्रालाई समस्या हुने गरेको थियो । अहिले घरमै पानी पुगेपछि महिनावारी भएका बेला स्कूल छुट्ला भन्ने चिन्ता हुँदैन ।
दुर्गम गाउँमा सोलार लिफ्टिङ प्रविधिबाट खानेपानी आएपछि स्थानीयवासीले खोला र कुलाको फोहर पानी पिउनुपरेको छैन । वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका ग्रामीण क्षेत्रका बासिन्दा खानेपानी आयोजना निर्माण भएसँगै खुशी छन् । घरघरमा पानीका धारा भएपछि गाउँमा सरसफाइको क्षेत्रमा मात्रै नभई व्यावसायिक तरकारी खेती गर्नेहरूका लागि पनि सहज भएको छ । नेपाल सरकारको सहकार्यमा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक र सामाजिक तथा प्राविधिक विकास सेवा समूह बझाङको प्राविधिक सहयोगमा जिल्लाका दुर्गम बस्तीमा सोलार लिफ्टिङ प्रविधिबाट खानेपानी पु¥याइएको हो । जिल्लामा अहिलेसम्म १३ ठाउँमा सोलार लिफ्टिङ प्रविधिबाट आयोजना निमार्ण सम्पन्न गरी स्वच्छ पिउनेपानीको पहुँचमा पु¥याइएको सामाजिक तथा प्राविधिक विकास सेवा समूहका टोलीनेता कलक खत्रीले बताए ।
परियोजनाअन्तर्गत जिल्लाका छविसपाथीभेरा, थलारा, दुर्गाथली, खप्तडछान्ना, तल्कोट, वित्थडचिर, केदारस्युँ गाउँपालिका, जयपृथ्वी नगरपालिका र बुङ्गल नगरपालिकामा गरी नौ स्थानीय तहमा लिफ्टिङ प्रविधिबाट खानेपानी आयोजना निर्माण भएका छन् । सोलार लिफ्टिङ प्रविधिबाट दुर्गाथलीमा पाँच, खप्तडछान्नामा एक, वित्थडचिरमा दुई, थलारामा दुई र बुङ्गल नगरपालिकामा दुईवटा आयोजना सम्पन्न भई प्रयोगमा आएको परियोजनाका इञ्जिनीयर लोकेन्द्र ओलीले बताए । उनले भने, “बस्तीभन्दा माथि पानीको मुहान नभएका ठाउँमा सौर्य ऊर्जा जडान गरीे लिफ्ट प्रविधिबाट पानी तानिन्छ । यसरी तानिएको पानी आठ हजारदेखि २० हजार घनलिटर क्षमताका आरविटी ट्याङ्कीमा जम्मा हुन्छ । सोही ट्याङ्कीबाट घरघरमा वितरण गरिन्छ ।” आयोजनाबाट हालसम्म विभिन्न स्थानीय तहमा एक हजार २०० घरधुरीका करिब सात हजार जनसङ्ख्या लाभान्वित भएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस