आगलागीबाट करोडौँको वन पैदावार नष्ट
कैलालीको जानकी गाउँपालिका–६ जगतपुरस्थित कैलाशेश्वर सामुदायिक वनमा आइतबार दिउँसोदेखि भीषण आगलागी भएको छ । समूहका अध्यक्ष खडक शाहले लायकपुर मुक्त कमैया शिविर नजिकै सामुदायिक वन क्षेत्रमा आगलागी भएको जानकारी दिए।
आगलागीबाट करोडौँको वन पैदावार नष्ट भएको छ । आगलागी नियन्त्रणका लागि टीकापुर र लम्की चुहा नगरपालिकाका दुई दमकल, दुई स्थानीय तह र रानी जमरा कुलरिया सिँचाइ आयोजनाका ३ स्काभेटर, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय वासिन्दा र उपभोक्ता नियन्त्रणमा खटेका छन् । ‘आगो लायकपुर बस्ती नजिकै रहेको जंगलबाट शुरुआत भयो । लायकपुर बस्तीका सयौँ घर जोखिममा छन्’, उनले भने, ‘दिउँसो भएकाले तुरुन्तै खबर पायौँ । हामीले स्थानीय तह र प्रहरीको सहयोग लियौँ, दिउँसोदेखि आइतबार राति १ बजेसम्म आगो नियन्त्रणमा खट्दा बस्तीलाई जोखिमबाट बचाइएको छ ।’
सबैको प्रयासबाट आगलागी बस्तीमा आउनबाट जोगाइएको भए पनि वनमा लागेको आगो पूर्णरुपमा नियन्त्रणमा आएको छैन । सुकेका रुखमा लागेको आगो नियन्त्रणमा अझै नियन्त्रणमा आएको छैन । आगलागीबाट वनमा १० हेक्टरमा रहेका वन पैदावार जलेर नष्ट भएको उनको भनाइ छ । सो सामुदायिक वन ४६० हेक्टर जमीनमा फैलिएको छ ।
‘आगलागीका कारण करोडौँ क्षति भएको छ । पुराना सालका रुख, नयाँ पलाउँदै गएका पालुवा समेत नष्ट भएका छन्’, उनले भने, ‘अत्यधिक गर्मी बढेको र हावाहुरी चल्ने भएकाले आगो फैलने जोखिम छ । आगलागी बस्तीमा आएमा नियन्त्रण गर्न सकिदैन ।’
पछिल्लो समय देशैभरि रहेका सामुदायिक वनमा आगलागी तथा डढेलोका कारण करोडौँको वन पैदावार नष्ट भएको छ । जिल्लाका अधिकांश सामुदायिक वनले आगलागीबाट बच्न अग्नीरेखा निर्माण समेत गरेका छन् । ‘नागरिकको लापरवाही, उपभोक्ताको हेलचेक्र्याइले वनमा आगलागी जस्ता घटना भइरहन्छन् ।’ स्थानीय उपभोक्ता गीता धामीले भने, ‘बस्ती नजिक रहेका वन अझ आगलागीको जोखिममा पर्ने गरेका छन् । आगलागीका घटना हुन नदिन उपभोक्ता बढी जिम्मेवार बन्न आवश्यक छ ।’
जिल्लामा ५७६ सामुदायिक वन छन् । यी वनमा अधिकांश वन बस्तीसँग जोडिएका छन् । बस्तीसँग जोडिएका वन आगलागीको जोखिममा पर्ने गर्दछन् । ‘वर्षेनी कैलालीका दर्जनौँ वनमा आगलागी हुँदा करौडौँको क्षति हुन्छ । आगलागी जस्ता घटना नियन्त्रणका विषयमा उपभोक्ता तथा वन पदाधिकारीबीच छलफल भए पनि यस्ता घटना भइरहने गर्छन्’, संरक्षणकर्मी जयप्रसाद ढुंगानाले भने, ‘आगलागी भइहाले तत्काल आगो नियन्त्रणका लागि आवश्यक दमकल र जनशक्तिको अभाव छ ।’ आगलागीबाट वन पैदावार मात्र होइन वन्यजन्तु समेत जोखिममा पर्ने गरेका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस