९३ वर्षीय डिलानाथ ८२ वर्षपछि जन्मथलामा

रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ का डिलानाथ अधिकारी ११ वर्षका उमेरमा घर छाड्न विवश भए । आमाबुवाको निधनपछि सहाराविहीन बन्नुपर्दा उनी घर छाडी हिँडे । घर छाडेको ८२ वर्षपछि अधिकारीले जन्मस्थल पुग्ने अवसर पाए । जन्मस्थल पुग्न पाउँदा उनी अहिले निकै खुशी छन् । सानो उमेरमै घर छाड्नुपरेकामा उनमा निकै पीडा थियो । त्रियानब्बे वर्षीय अधिकारीलाई बुढ्यौली लागेपछि भने घर जाने इच्छा तीव्र भएको थियो ।
उनले धेरैलाई आफ्नो जन्मथलो पुर्याउन आग्रह गरे पनि उनको बोली सुनिदिने कोही थिएन । ‘राजधानीको एक घरमा ६५ वर्ष भान्छे र पुजारीको काम गरेँ’, उनले भने, ‘मालिकले घर पुर्याउन भन्दा मान्नुभएन ।’ उनलाई गत वर्ष लकडाउनको बेला वीर अस्पतालको पछाडिबाट बेवारिसे अवस्थामा नवजीवन परोपकार समाजले उद्धार गरी तार्केश्वरस्थित आश्रम पुर्यायो । ‘हामीले उनलाई उद्धार गर्दा शारीरिक अवस्था निकै कमजोर थियो’, आश्रमका अध्यक्ष दुर्गानाथ दाहालले भने, ‘राम्रोसँग हेरचाह गरी पालनपोषण गरेपछि बुवाको अवस्था राम्रो हुँदै गयो ।’
स्वास्थ्यावस्था तङ्ग्रिएपछि उहाँले घर जाने तीव्र्र इच्छा व्यक्त गरेकाले आफूहरु घर पहिचान गर्नेतर्फ लागेको दाहालले बताए । ‘उनले रामेछापको कठजोर घर बताएका थिए’, दाहालले भने, ‘हामी उनको घर पहिचान गर्न सोही ठाउँमा गयौँ, उनको घर कठजोर नभई सोही ठाउँसँग जोडिएको अर्को गाउँमा रहेको पत्ता लगाउन सफल भयौँ ।’
स्थानीयवासी दुर्गाप्रसाद श्रेष्ठले सहयोग गरेका कारण जन्मठाउँ पत्ता लगाउन सजिलो भएको उनले बताए । अधिकारीका दाजुभाइ कोही छैनन् । उनका नाममा रहेको जग्गा पनि अर्कैका नाममा नापी भइसकेको रहेछ । अधिकारीको नागरिकता बनाउन पहल थालिएको वडाध्यक्ष शिवप्रसाद न्यौपानेले बताए । नागरिकता बनाउने विषयमा प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरिएको छ । उनलाई अहिले नजीकैका दाजुभाइका घरमा राखिएको छ । अधिकारीले आश्रममै बस्ने इच्छा व्यक्त गरेकाले केही दिनपछि लिएर राखिने दाहालले जानकारी दिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस