खोप लगाउन लाम
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा डल्लुका सुरेश बोगटी कोभिड–१९ विरुद्धको खोपको पहिलो मात्रा लगाउनका लागि बिहान ६ बजे पुगे । उनी पुग्दा टोकन लिनेको भीड थियो । बिहान ७ बजेदेखि बाँडिएको टोकन केहीबेरमा नै सकियो । बिहान साढे ७ बजे कुपन लिएका उनको पालो ११ बजे मात्र आएको थियो । ‘म पुगेको एक घण्टापछि खोपका लागि टोकन बाँड्न शुरु गरिएको थियो,’ उनले भने, ‘मैले त्यही लाइनमा बसेर टोकन लिएँ । मेरो टोकन नं ५२१ थियो, बिहान ११ बजेतिर खोप लगाउन पालो आयो ।’
प्रसूति अस्पतालमा टोकनअनुसार पालो आएकालाई प्रहरीले खोप लगाउनका लागि पठाउने गरेको छ । बोगटीजस्ता मानिसहरु खोप लगाउनका लागि अहिले बिहानै काठमाडौँ उपत्यकाका ११ खोप केन्द्रमा जाने गरेका छन् । खोप लगाउनका लागि बिहान गए मात्र पालो पाइने भएकाले मानिस सबेरै उठेर जाने गर्छन् । अहिले निजामती कर्मचारी अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, कीर्तिपुर आयुर्वेद अस्पताल, नेपाल कोरिया मैत्री अस्पताल, भक्तपुर अस्पताललगायत अस्पतालमा कोभिड–१९ विरुद्धको खोप लगाउनेका भीड छ । सरकारले १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका सबैलाई खोप लगाउन थालेपछि अहिले भीड भएको हो ।
यस्तै प्रसूतिमै बिहान ७ बजे खोप लगाउन आउनुभएका ललितपुर च्यासलका दीपेश शाक्यको पालो साढे ११ बजे मात्र आयो । बिहान टोकन लिएर उनी १० बजेमात्र खोप लगाउन आए ।
प्रसूति अस्पतालले खोप लगाउन आउने व्यक्तिको भीड भएपछि मङ्गलबारदेखि टोकन प्रणाली शुरु गरेको हो । बिहान एक घण्टा टोकन बाँड्ने गरिन्छ । टोकन लिनेले आफ्नो पालोअनुसार गएर खोप लगाउने गर्छन् ।
सरकारले यही वैशाख १२ गतेदेखि कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ लगाउन शुरु गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काका अनुसार अहिलेसम्म एक लाख ४१ हजारले खोप लगाइसकेका छन् ।
सङ्क्रमण बढ्न थालेपछि अहिले कोभिड–१९ विरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ लगाउनेको पनि भीड देखिएको छ । ‘भेरोसेल’ लगाएपछि असर पनि नदेखिने भएकाले मानिसको आकर्षण बढेको उनले जानकारी दिए । ‘खोप लगाएपछि कतै पनि असर नहुने भएपछि खोप लगाउने मानिसमा उत्साह भएको छ’, उनले भने, ‘बिहानैदेखि मानिस खोप लगाउनका लागि खोप केन्द्र आउने गर्दछन् ।’
उनले खोप केन्द्रमा बिहान १० देखि ४ बजेसम्म लाम लागेका सबैलाई लगाउन भनिएको जानकारी दिए । चीन सरकारले अनुदानमा उपलब्ध गराएको ‘भेरोसेल’ आठ लाख मात्रामध्ये चार लाख मात्रा पहिलो चरणमा दिइने छ । यसअघि पहिलो मात्रा एक लाख २३ हजारलाई प्रदान गरिएको थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस