कोरोना संक्रमितको संख्या बढेसंगै सुदुरपश्चिमका अस्पतालमा स्रोत साधनको अभाव
कैलाली । सुदूरपश्चिम प्रदेशका सेती प्रादेशिक अस्पताल धनगढी र महाकाली अस्पताल महेन्द्रनगरमा कोरोना सङ्क्रमित बिरामी बढ्दै गएपछि शय्या र दक्ष जनशक्तिलगायत स्रोत साधनको अभाव देखिन थालेको छ ।
महाकाली अस्पतालमा शङ्कास्पदको नमूना परीक्षण गर्न आवश्यक पर्ने कीटको अभावसमेत देखिएको छ । कीट अभाव हुँदा कन्ट्याक्ट ट्रेसिङ र एन्टिजेन परीक्षणको काम गर्न समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी राजकुमार महतोले बताए । प्रदेशको रेफरल अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पताल धनगढीका आकस्मिक बाहेकका सबै सेवा आजबाट बन्द गरिएको छ ।
अस्पतालमा कोभिड–१९ का बिरामीका लागि व्यवस्था गरिएका ५५ शय्या मध्ये ५२ शय्या सङ्क्रमित बिरामीले भरिएका छन् । कोरोना सङ्क्रमितको नमूना परीक्षण गर्ने यो अस्पातालका दुई पिसिआर मेसिनमध्ये एक मेसिन मात्र सञ्चालन छन् । अहिलेकै अवस्थामा कोरोनाको सङ्क्रमण दर बढ्दै जाँदा अस्पतालमा शय्या, जनशक्ति र अक्सिजनको अभाव हुने सम्भावना रहेको अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले बताए।
अस्पतालमा कोरोना सङ्क्रमितमध्ये आठ जनालाई सघन उपचार कक्षमा र तीन जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने २३ जनालाई अक्सिजन दिएर तथा बाँकीलाई मोड्रेटमा राखेर उपचार भइरहेको बताइएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा आज विहान ६ः०० बजेवाट राति १२ः०० बजेसम्म निषेधाज्ञा लागू गरिएको छ । कोरोनाको सङ्क्रमण दर गुणात्मक रुपमा बढेपछि यसको ‘चेन ब्रेक’ गर्न निषेधाज्ञा लागू गरिएको हो । निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा भने सुचारु हुने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।
स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार दुई दिनमा मात्रै शङ्कास्पद एक हजार ५४ जनाको नमूना परीक्षण गर्दा ५७२ मा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्लो हप्तामा कारोनाका जटिल अवस्थाका बिरामी ह्वात्तै बढ्दा बिरामीको उपचार व्यवस्थापन गर्न गराउन अन्योल थपिएको छ । सुदूरपश्चिममा सक्रिय सङ्क्रमित बिरामीको सङ्ख्या एक हजार १७६ पुगेका छन् । तीमध्ये सबैभन्दा बढी कैलालीका ६४६ जना रहेका छन् । सीमानाका हुँदै भित्रिनेमा ज्वरो भए नभएको जाँच गरी शङ्कास्पद देखिने व्यक्तिको मात्र एन्टिजेन परीक्षण गर्ने गरिएकोमा पछिल्ला दिनमा सबै व्यक्तिको परीक्षण गर्ने गरिएको छ ।
भारतमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण र मृत्यु दर बढ्दै गएसँगै सुदूरपश्चिम प्रदेशमा पनि यो रोगको सङ्क्रमण दर पछिल्ला दिनमा उकालो लागेको छ । भारतवाट फर्किनेहरुवाट नै समुदायमा यो रोगको सङ्क्रमण बढी देखिएको बताइएको छ । कैलालीलाई यो प्रदेशकै कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम जिल्लाका रुपमा लिइएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस