आयोडिनयुक्त नुनका चार डिपो रित्तै
सरकारले अनुदानस्वरूप दिएको आयोडिनयुक्त नुन डोल्पाका छ स्थानीय तहका सर्वसाधारणले खान पाएका छैनन् । आयोडिनयुक्त नुनको ठाउँमा ढिके नुन नै प्रयोग गर्न बाध्य भएको यहाँका सर्वसाधारणले जानकारी दिएका छन् । जिल्लाका मुड्केचुला गाउँपालिकाको सर्मी, जगदुल्ला गाउँपालिकाको काइगाउँ, त्रिपुरासुन्दरी गाउँपालिकाको लिकु र उपल्लो डोल्पाका स्थानीय तहका लागि तिन्जेमा आयोडिनयुक्त नुनको डिपो रहेको छ ।
त्यस्तै तिन्जेबाट टाढा रहेको फोक्सुण्डो, सालदाङका लागि क्याटोबाट वितरण हुने गरेको साल्टटेड्रिङ कर्पोरेशन लिमिटेड डोल्पाका प्रमुख प्रकाशबहादुर धामीले जानकारी दिनुभयो । बर्सेनि सदरमुकाम दुनै र जुफालबाट मात्र आयोडिनयुक्त नुन वितरण हुने गरेको उहाँको भनाइ छ । उपल्लो डोल्पाको तिन्जे डिपोमा जाने नुन केन्द्रीय कार्यालयले नै कोटा निर्धारण गर्दै आएको छ । चीनको बाटो हुँदै उपल्लो डोल्पाको क्याटो र तिन्जेमा नुन ढुवानी हुँदै आएको छ । अघिल्लो वर्ष कोभिडका कारण चीनले नाका नखोल्दा उपल्लो डोल्पामा आयोडिनयुक्त नुनको ढुवानी हुन नसकेको हो । यस वर्ष चीनबाटै त्यहाँ ढुवानी हुन सकेन । तल्लो तथा मध्य डोल्पामा नेपालगञ्जबाट नुन ढुवानी हुने गर्दछ ।
सरकारले सदरमुकाम दुनैमा ३०० क्विन्टल, जुफालमा २०० क्विन्टल, त्रिपुरासुन्दरीको लिकुमा ४५० क्विन्टल, मुड्केचुलाको सर्मीमा ३०० क्विन्टल र जगदुल्लाको काइगाउँमा २५० क्विन्टल आयोडिनयुक्त नुनको कोटा निर्धारण गर्दै आएको छ । बर्सेनि मागका आधारमा पनि कोटा तल माथि हुनसक्ने बताइएको छ । अघिल्लो र यस आर्थिक वर्षमा सदरमुकाम दुनै र जुफालमा मात्र आयोडिनयुक्त नुन बिक्री वितरण हुँदै आएको छ । यस आवमा सदरमुकामबाट बाहिरका कुनै पनि डिपोमा ठेक्का नलागेका कारण आयोडिनयुक्त नुन सर्वसाधारणले खान नपाएको प्रमुख धामीले जानकारी दिए ।
धामीले भने, “मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले आयोडिनयुक्त नुन माग गरेका कारण १५० क्विन्टल पठाउने तयारी गरिरहेकै समयमा कोरोनाका कारण बन्द हुँदा ढुवानीमा समस्या परेको छ ।” अघिल्लो वर्ष जुफालमा एक हजार क्विटल र दुनैमा ३०० क्विन्टल आयोडिनयुक्त नुन आएको थियो । दुर्गम तथा पिछडिएका जिल्लामा सरकारले ढुवानी भाडासहित नुन अनुदानमा दिँदा प्रतिपोका रु ९ मा बिक्री हुँदै आएको छ ।
डिपोमा नुन नभएपछि स्थानीय पसलमा महङ्गोमा ढिके नुन खरिद गरेर प्रयोग गर्न बाध्य भएको सर्वसाधारण बताउँछन् । जतिपटक नुनका लागि डिपोमा गए पनि सधँै छैन भन्ने जवाफ आउने गरेको मुड्केचुला गाउँपालिका–७ का रामबहादुर सिंहले बताए ।
सदरमुकाम दुनै र जुफालमा नियमित आयोडिनयुक्त नुन बिक्री वितरण भए पनि सदरमुकामबाहिर बिक्री वितरण कार्य शून्य रहँदै आएको छ । सदरमुकाम बाहिरका मुड्केचुलाबाहेक अन्य स्थानीय तहले नुनको आवश्यकताका विषयमा कुनै पनि चासो नदिएको प्रमुख धामीले बताए । माग गरेको भए सदरमुकामको कोटाबाट काटेर भए पनि ढुवानी गर्न सकिने अवस्था रहे पनि स्थानीय सरकारले चासो नदिँदा नुन पठाउन नसकिएको उनले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस