मकैको बीउ अभाव
रुकुम स् पूर्वमा मकैको बीउ अभाव भएको छ । जिल्लाका सबै ठाउँमा अहिले मकै रोप्ने चटारो चलिरहेको छ । लामो समयको खडेरीपछि परेको पानीले जमीन भिजेपछि मल बोक्ने र खेतबारी खनजोतमा व्यस्त भएका कृषक बीउ अभावले समस्यामा परेका छन् । जिल्लामै मकैको बीउ उत्पादन हुने गरेको छैन ।
बाहिरबाट बीउ आयात गर्ने गरिएकामा यस वर्ष आयात गर्न नसकिएको गाउँपालिकाले जनाएका छन् । सिस्ने गाउँपालिकाले यस वर्ष १५ क्विन्टल उन्नत जातको मकैको बीउ ल्याउने योजना बनाएको तर बीउ अभावले जिल्लामा मनकामना जातको आठ क्विन्टल मात्र भित्र्याएको गाउँपालिका कृषि शाखाका नायब प्राविधिक सहायक दिनेश ओलीले जानकारी दिनुभयो । सिस्ने गाउँपलिका–१ र २ मा सबैभन्दा बढी मकैको बीउ आवश्यक छ । १ र २ नं वडामा सलह किराले सबै मकै सखाप पारेपछि बीउसमेत उत्पादन नभएको त्यहाँका कृषकले बताएका छन् ।
सोही कुरालाई दृष्टिगते गर्दै १ नं वडामा दुई क्विन्टल र २ मा चार क्विन्टल मकैको बीउ पठाएको प्राविधिक सहायक ओलीले बताए । उनका अनुसार, सिस्ने–७ र ८ मा एकएक क्विन्टल मकैको बीउ पठाइएको छ ।
यस्तै, अन्य ३, ४, ५ र ६ नं वडामा भने हुरेड कार्स रुकुम –पूर्वले लगभग साढे आठ क्विन्टल मकैको बीउ वितरण गरेको छ । नेपालगञ्ज, सुर्खेत र चितवनमा सम्पर्क राख्दा पनि पर्याप्त मात्रामा बीउ आउन नसकेको गाउँपालिका कृषि शाखाले जनाएको छ ।
भूमे गाउँपालिकाले पनि यस वर्ष २० क्विन्टल मकैको बीउ ल्याउने तयारी गरेको थियो । कृषकको माग सङ्कलन गरी २० क्विन्टल मकैको बीउ ल्याउने तयारी गरेको गाउँपालिकाले बीउ अभावमा ल्याउन नसकेको गाउँपालिका कृषि शाखाका नायब प्राविधिक सहायक शिखर विश्वकर्माले बताए । बीउ नआएपछि अहिले भूमेका कृषकले पुरानै बीउ लगाएका छन् । यसले गर्दा रोग, किराको प्रकोप हुने र उत्पादनमा गिरावट आउन सक्ने उनले बताए ।
यस्तै पुथाउत्तरगङ्गा गाउँपालिकामा भने स्थानीय बीउ छ । यसपालि गाउँपालिकाले बीउ खरीदका लागि बजेट पनि नछुट्याएको र बाहिर पनि बीउको अभाव भएकाले उन्नत जातको मकैको बीउ भित्र्याउन नसकिएको गाउँपालिका कृषि शाखाका नाप्रास ओमप्रकाश ओलीले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस