• जीवनशैली | Jiwanshaili
  • वर्षाले राहत


    महोत्तरी – उखरमाउलो गर्मी र निषेधाज्ञाले घरै बस्नुपर्ने परिवेशबीच आज बिहानैदेखि परेको पानीले राहत भएको छ । कोभिड–१९ महाव्याधिको त्रास, प्रचण्ड गर्मी र कामविहीन भएर बसेका यहाँका किसानलाई आजको वर्षाले राहत भएको हो । जिल्लाको सबै भेगमा आज बिहानैदेखि लगातार मन्द वर्षा भइरहेको छ ।

    गर्मी घटाउनसँगै खेतबारी खनजोत गर्न आजको वर्षाले प्रशस्त चिस्यान भएपछि किसान दङग छन् । अब बर्खे धान र कोदोको बीउ राख्ने र भदैया ९भदौरे, भदौमा उत्पादन दिने० तरकारीको बीउ रोप्न अनुकूल भएको किसानको भनाइ छ । पछिल्लो वर्षाले फलपूmल, उखु र प्रचण्ड रापले ओइलिँदै गएका तरकारीका बोट र लहरा लहलहाउने बर्दिबास–९ पशुपतिनगरका किसान महेन्द्र महतो खुशी हुँदै बताउनुहुन्छ । चिस्यान राम्रो भएपछि अब प्रचण्ड घामले रुखिएको उखुबारीमा नाइट्रोजन मल (युरिया) हाल्न सकिने किसान बताउँछन् ।

    “हामी आकाश ताक्नेका लागि त अमृत वर्षा नै भएको छ”, जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरका किसान चन्देश्वर राय दनुवार भन्नुहुन्छ, “वर्षा नहुँदा घरमा धुमधुमती बसेर निषेधाज्ञा काट्न सकस थियो, अब खेतबारीमा काम गर्न पाइने भइयो ।” जिल्लामा गत वैशाख २२ गते जारी निषेधाज्ञाको अवधि जेठ १० सम्मलाई बढाइएको छ ।

    जिल्लाभरिकै कूल खेतीयोग्य जग्गामध्ये ८० प्रतिशतभन्दा बढी आकाशे पानीकै भरमा खेती गनुपर्ने अवस्था छ । जिल्लामा करिब ७० हजार हेक्टर जग्गामध्ये १० प्रतिशतमा स्थायी सिँचाइका कुलो नहर लाग्ने र करिब त्यत्तिमै वैकल्पिक सिँचाइका प्रबन्ध ९इनार पम्पसेट, बोरिङ० जेनतेन पुगेको छ । जिल्लाका ८० प्रतिशत जग्गा अझै आकाशे पानीको भरमा रहेका कृषि ज्ञान केन्द्र जलेश्वरका विज्ञ नै बताउँछन् ।

    आकाशे पानीको भरमा खेती गर्नुपर्ने किसानलाई ठिक समयको वर्षा हुँदा सबै कुरा भेट्टाएजस्तो लाग्छ । “हुन त के छ र हाम्रा लागि रु न बजारमा मल, न समयमा बीउबिजन न सुलभ ऋण”, बर्दिबास नगरपालिका–९ का किसान सुरजसिंह कुशवाहा दिक्दारिँदै भन्नुहुन्छ, “सबै कुरा प्रकृतिकै शरणमा रहेका हामीलाई अहिलेको वर्षाले राहत दिएको हो ।”

    पछिल्लो वर्षाले निषेधाज्ञा अवधिमा कुँजिएर बस्नु पर्दाको मानसिक पीडा पनि कम हुने पाका किसान बताउँछन् । “महाव्याधि त्रासले बाहिर निस्कीसक्नु छैन, जताततै महामारीको चपेटाका खबर सुन्दा सुन्दा मन पनि रोगी भएजस्तो थियो”, गौशाला–१२ का ७० वर्षीय किसान लक्ष्मीप्रसाद सिंह भन्छन्, “अब त पानी प¥यो, मान्छे खेतबारीमा काम गर्न निस्केपछि मानसिक बोझिलोपन कम हुँदै जानेछ ।”


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार