• जीवनशैली | Jiwanshaili
  • कोरोना कहरमा गभर्वती र सुत्केरी


    काठमाडौं । कोरोेना कहरको सबैभन्दा बढी मारमा गर्भवती र सुत्केरी परेका छन् ।

    विश्वभर फैलिइरहेको कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि अहिले देशका केही बाहेक सबै जिल्लामा निषेधाज्ञा जारी छ । निषेधाज्ञाका कारण यो समयमा धेरैलाई समस्या छ, त्यसमा पनि गर्भवती तथा सुत्केरी महिलाहरु भने सबैभन्दा बढी समस्यामा परेका हुन् ।

    गर्भवतीलाई नियमित गर्भ परीक्षण गराउन नपाउँदा र सुत्केरीलाई घरैमा प्रसूती गराउँदा हुने प्रसव पीडा र आवश्यक स्याहार प्राप्त हुन नसक्दा उनीहरु शारीरिक मात्रै होइन मानसिक समस्यामा समेत परेका छन् । काठमाडौं निवासी अछामकी बीन्दु भट्टराई ७ महिनाकी गर्भवती छिन् । उनि भन्छिन् अहिलेसम्म त चेकजाँचका लागि अस्पताल गइरहेकी थिए अब कोरोना बढेसंगै निषेधाज्ञा लागु भएपछि अस्पताल जान पनि समस्या भएको छ । साथै अब पोषिलो खाने कुरा, फलफूल किन्न बाहिर जान पनि समस्या छ । घरमै भएको खानेकुरालाई मिलाएर खाने गरेको छु ।’’ उनले भनिन्, ‘‘पछि स्वास्थ्य संस्थासम्म जाने बेलामा समयमा यातायात सहजै पाए त हुन्थ्यो । फेरि कोरोनाको डरले स्वास्थ्य संस्थामा पनि राम्रो सेवा पाइदैन कि भन्ने लाग्छ ।’’ उनको जस्तो समस्या गाउँदेखी शहरसम्मका सबैजसो गर्भवती र सुत्केरी महिलाहरुमा छ ।

    त्यस्तै अर्की एकजना गर्भवती महिलाको पनि त्यस्तै समस्या छ । उनि भन्छिन् गर्भावस्थामा लगाउनुपर्ने टीटी खोप लगाउन पाएको छैन । कोरोनाको जोखिम बढेसंगै सवैजसो अस्पतालले ओपीडी सेवा बन्द गरेपछि खोप पनि लगाउन नपाएको उनले गुनासो गरिन् । समयमा गर्भजाँच गर्न नपाउनु, किनमेल गर्न नपाउँदा पोषिलो खाना खान नपाउनुलगायतका समस्या त छँदैछन् । कोरोनाको सङ्क्रमण बढेसँगै गर्भवती तथा सुत्केरीहरुले सुरक्षित मातृत्व सेवा समेत सहज रुपमा लिन सकेका छैनन् । स्वास्थ्य संस्था सुरक्षित छ भन्ने पूर्ण विश्वास नहुँदा नियमित गर्नुपर्ने गर्भ जाँच रोकिएको छ ।

    घर बाहिर निस्कन डराउँदा महिलाहरु नियमित परीक्षण तथा सेवाका लागि नजानु तथा यो बेला स्वास्थ्य संस्था सुरक्षित छ भन्ने पूर्ण विश्वास नहुँदा पनि थुप्रै गर्भवती तथा सुत्केरीहरुले सेवा लिन नआउने गरेको चिकित्सकहरु बताउँछन् । गर्भवतीले धेरै चिन्ता लिँदा गर्भमा भएको बच्चालाई समेत असर पर्ने भन्दै यो समयमा गर्भवती तथा सुत्केरी महिलाको स्याहारसुसारमा परिवारका सदस्यहरुले विशेष ख्याल गर्नुपर्ने उनिहरुको भनाई छ । कोरोनाको कहर र निषेधाज्ञाको प्रभाव यतिबेला नेपालको मात्र नभएर विश्वभरको साझा समस्या हो । मानव स्वास्थ्यमा गर्भवती तथा सुत्केरी अवस्था विशेष मानिन्छ । त्यो अवस्थामा शारीरिक तथा मानसिक रुपमा स्वस्थ हुनुपर्छ । स्वास्थ्यकर्मीको नियमित निगरानीमा रहेर गर्भजाँच गराउन नपाउँदा पेटमा भएको शिशुमा कुनै समस्या हुने हो कि भन्ने गर्भवतीहरुमा पिरलो पनि छ ।

    सुत्केरी गराउन कसरी स्वास्थ्य संस्थामा लैजाने भन्ने समस्या एकातिर छ भने अर्कातिर गर्भमा रहेको बच्चालाई असर पर्ने हो कि भन्ने चिन्ता छ । चिकित्सकका अनुसार यो समयमा खानपान, सरसफाईसँगै आफ्नो बच्चाको सुरक्षामा ध्यान दिनुपर्छ । यो समयमा फुर्सदमा रहेका परिवारका सदस्यहरुले गर्भवती तथा सुत्केरी र नवजात शिशुको स्याहारसुसारमा विशेष ख्याल गर्नु आवश्यक छ । स्वास्थ्यकर्मीहरुले पनि आफू कार्यरत क्षेत्रमा रहेका गर्भवती तथा सुत्केरी महिलाको सहजताको लागि नियमित गर्भ जाँच लगायतका कुराहरुमा थप सहयोग गर्नुपर्ने आवश्यता बढेको छ । त्यस्तै स्थानीय सरकारहरुले पनि यी समस्यामा विशेष ध्यान दिनु अति जरुरी देखिन्छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार