कोरोना कहर : रोगसँग भन्दा भोकसँग लड्न गाह्रो
सप्तरी । हावाहुरी आए भत्किएला झैँ झुप्रो छ । पश्चिममा ६ फिट चौडाइ र ७ फिट लम्बाइ रहेको झ्याल नभएको एउटा कोठा छ । त्यसैमा भान्सा रहेको कोठामा दुई जना सरस्वती नाम गरेकी महिला बस्छन् । एउटीको थर दास हो भने अर्कीको चौधरी । दुबैको मुहार हिजोआज मलिन छ ।
सस्तोमा पाइएकाले सप्तरीको राजविराज–४ भलुवाही खोला किनारमा एउटा सानो कोठा डेरा लिएका उहाहरूसँगै दासकी १२ वर्षीया छोरी प्रियंका पनि बस्छिन् । एउटा खाटमा सुत्न ठाउँ नपुगेपछि खाटसँग जोडेर बेञ्च लगाइएको छ । प्रियंका पनि निन्याउरो र चिन्तित मुद्रामा आमाको छेउमा सँगै देखिन्छिन् ।
राजविराज नगरपालिका–६ माइत भएकी सरस्वती दासको १६ वर्षकै उमेरमा सप्तरीको हनुमाननगर बजारका उमेश दाससँग मागी विवाह भयो । विवाह भएर घर गएपछि मात्र उनलाई थाहा भयो कि त्यो घर आफ्नो नभई सासुको माइती रहेछ । केही महिनापछि सासुलाई उनका माइतीले घरबाट निकालेपछि सरस्वतीको परिवार घरवारविहीन भयो । सासुले त उनको अर्को भाइकोमा शरण पाइन् । तर नवविवाहिता उनले सहारा पाउनु भएन ।
श्रीमान सन्तोष साहुजीको पसलमा मिठाइ बनाउनु हुन्थ्यो र केही रकम हात लाग्थ्यो । दासका अनुसार उनि पनि मादकपदार्थ र नशालु पदार्थ सेवनकर्ता भएकाले त्यसैमा पैसा सक्थे । दास भन्छिन्,‘श्रीमानले त्यतिबेला छाडनु भयो, जतिबेला सबैभन्दा बढी सहाराको जरुरी थियो ।’ गर्भवती भएका बेलामा श्रीमानले छाडेर बेपत्ता भएको घटनालाई उनि सबैभन्दा अप्ठ्यारो समयको रूपमा सम्झिनु हुन्छ । गर्भवती भएका बेला घरपरिवारबाट कुनै पनि सहयोग नपाएपछि माइती घरमा नै गएर छोरीलाई जन्म दिएको उनले सुनाइन् ।
सानै उमेरमा विवाह गरी आमा बनेकि दासले रोजीरोटीका लागि तरकारी पनि बेचिन् । रोजगारी तथा कमाइखान तरकारी बेच्ने व्यवसाय उनको लागि सुरक्षित भएन । तरकारी कुहिने र पर्याप्त पुँजी नभएपछि गुजारा चलाउन उनलाई समस्या भयो । पछिल्लो समय उनले होटलमा भाँडा माझ्ने काम गरिन् ।
तरकारी बिक्री गर्दा दासको चिनजान भवन निर्माणमा मजदूरी गर्दै आएकी सरस्वती चौधरीसँग भयो । एउटै नाम भएका उनिहरूको चिनजान मित्रतामा परिणत भयो ।
सुनसरीको भोक्राहा गाउँपालिका–६ नरसिंह घर भएकी चौधरीका श्रीमान् दमका रोगी थिए । श्रीमानको मृत्यु र एक मात्र छोरीको विवाहपछि एक्ली बन्नु भएकी ३९ वर्षीया सरस्वती मजदूरी गर्दै राजविराज आइन् । भवन निर्माणको ज्याला मजदूरीको काम दैनिक रूपमा नपाएपछि उनि स्थायी कामको खोजीमा थिइन् । यस काममा दासले सघाउनु भयो र उनलाई पनि होटलमा सँगै काम दिलाउनु भयो । बिहान ७ बजे होटल जाने गरेका उनिहरूले राति साढे ९ बजे छुट्टी पाउथेँ । दुबै जनाले महिनाको सात/सात रुपैयाँ हजार पाउछन्। खर्च बचतका हिसाबले दुबै जनासँगै एउटा कोठामा बस्न थालेका हुन् ।
उनिहरू काम गर्दै आएका होटल कोभिड–१९ रोकथामका लागि भएको लगातारको बन्दाबन्दीका कारण अहिले बन्द छ । बन्दाबन्दी खुल्ने अनिश्चित भएसँगै होटल खुल्ने पनि अनिश्चित बनेपछि होटल सञ्चालकले उनिहरूलाई छुट्टी दिएका छन् ।
न्यून तलबमा जसोतसो गुजारा चलाइरहेका उहाँहरूलाई अहिले हातमुख कसरी जोर्ने भन्ने चिन्ता छ ।
उहाँहरूलाई कोभिड–१९ को सन्त्रासभन्दा पनि भोकभोकै मरिन्छ कि भन्ने चिन्ताले सताउन थालेको छ । छोरी जन्मिदा र हुर्कदा माइतीको सहयोग भए पनि हाल सहयोग नभएको दासले बताइन् । लकडाउनका बेला माइत जाँदा भाइ बुहारीले कोरोनाका बेला नआउन भनेको बताइन् । बन्दाबन्दीले होटल बन्द भई काम गर्न नपाउँदा आफूहरूलाई घरखर्च चलाउन निकै समस्या परेको उनिहरूको भनाई छ ।
बन्दाबन्दी भएको १७ दिन पुगेको छ । उनिहरूसँग भएको पैसा पनि सकिएको छ । उनिहरूसँग नत पैसा छ, नत एक छाक गाँसको व्यवस्था गर्ने अन्य उपाय नै छ । पोषणयुक्त खाना खाने कुरा त परै जाओस् घरमा साँझ, बिहानको छाक कसरी टार्ने भन्ने उनिहरूलाई चिन्ता छ । चौधरीको श्रीमानको मृत्यु भइसकेको छ भने दासको श्रीमान सम्पर्कमा छैनन् । चौधरीको एक मात्र छोरीको विवाह भइसकेको छ भने दासको एउटी छोरी नाबालिका छिन् ।
होटलमा काम गर्दै आएका उनिहरूले कोभिड–१९ रोकथामका लागि शुरु भएको बन्दाबन्दीका कारण काम गर्न पाउनु भएको छैन् । बन्दाबन्दीका कारण काम गर्न नपाएपछि उनिहरूलाई दैनिक छाक टार्न समेत मुस्किल परेको छ । काम गर्ने होटलमा नै दुई छाक खान पाइरहेका उनिहरूको होटल बन्द भएपछि खाने समस्या भएको हो । त्यसै माथि १२ वर्षीया छोरी भोकाउँदा झनै पिडा थपिने गरेको दासले बताइन् । आँखाभरि आँसु लिदै दासले भनिन्– ‘आफू भन्दा पनि छोरीलाई भोकले तडपिएको देख्दा निकै गाह्रो हुन्छ ।’
तस्बिर रासस
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस