• जीवनशैली | Jiwanshaili
  • ‘बुद्ध दर्शनले मानवीयता सिकाएको छ’ : मुख्यमन्त्री


    कर्णाली – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुद्ध दर्शनले मानवीयता सिकाएको बताएका  छन् । उनले आज एक शुभकामना सन्देशमार्फत ‘२५६५औँ बुद्धजयन्ती–२०७८’ का अवसरमा बौद्ध धर्मावलम्बीसहित देशविदेशमा रहेका सम्पूर्ण नेपाली आमा, दाजुभाइ तथा दिदीबहिनीहलाई शुभकामना व्यक्त गर्दै बुद्धले प्रतिपादन गरेका उपदेश तथा मार्गदर्शनले सिङ्गो विश्व समुदायलाई मानवीय सिकाएको जनाएका छन् ।

    आफ्नो सन्देशमार्फत उनले भनेका छन्, “बुद्ध संसारकै शान्ति र अहिंसावादी सोचले पूर्ण प्रेरणाका स्रोत हुन्, बुद्धकै योगदानले नेपाल विश्वमा शान्तिको देश भनेर चिनिँदै आएको छ, अहिंसा, त्याग र शान्तिका प्रतीक बुद्धका उपदेशलाई विश्वले मान्यता दिएको छ, यो नेपालका लागि गर्वको कुरा हो, बुद्धभूमिका नेपालीले उनका मार्गदर्शनलाई अवलम्बन गरेर विश्वका अन्य मुलुकका नागरिकलाई एकता र शान्ति खोज्न नेपाल आउने वातावरण बनाउनु पर्दछ ।”

    विश्व शान्तिका अग्रदूत तथा बौद्ध धर्मका प्रवर्तक र नेपालका राष्ट्रिय विभूति गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति सबै आज अर्थात् वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले त्रिसंयोगको दिनको महत्वपूर्ण अवसरमा मनाउँदै गरिएको बुद्धजयन्तीले सबै नेपालीमा आपसी प्रेम, सद्भाव, सहिष्णुता र भ्रातृत्व अभिवृद्धि गर्दै सामाजिक एकता कायम गर्न प्रेरणा प्रदान गर्ने अपेक्षा गरेको उनले बताएका छन् ।

    बुद्धका मागदर्शनको आत्मसात्बाट सामाजिक तथा सांस्कृतिक विविधतासहितको राष्ट्रिय एकता सुदृढ हुने विश्वास व्यक्त गर्नुभएका मुख्यमन्त्री शाहीले हाल विश्वभर फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ बाट आफू बच्न र अरूलाई बचाउन नेपाल सरकारले लागू गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड र निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गरेका छन् ।


    क्याटेगोरी : चाडपर्व विशेष

    प्रतिक्रिया दिनुहोस