निषेधाज्ञा उल्लङ्घन गर्ने ३८८ पसललाई कारबाही
चितवन / कोरोना कहरका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै जिल्लामा ३८८ व्यवसायीलाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खेमराज पौडेलका अनुसार निषेधाज्ञा उल्लङ्घन गरी व्यापार व्यवसाय सञ्चालन गरेकालाई कारबाही गरिएको हो ।
उनका अनुसार उनीहरुलाई रु एक हजारदेखि रु १० हजारसम्म जरिवाना गरिएको छ । निषेधाज्ञाको समयमा स्थानीय प्रशासनले तोकेको समयभन्दा बढी व्यवसाय सञ्चालन गरेका उनीहरुलाई जरिवाना गराई सम्झाएर पठाइएको उनले बताए ।
यस्तै निषेधाज्ञाको समयमा विनाकारण बजारमा हिँड्डुल गर्ने ११ हजार ७२० जनालाई होल्डिङ सेन्टरमा राखिएको छ । होल्डमा राखिएकामा मास्क नलगाई हिँड्डुल गर्ने पनि छन् । निषेधाज्ञाको समयमा अनावश्यक रुपमा बजारमा देखिएका सात हजार ७०० सवारी साधनलाई कारबाही गरिएको छ । त्यसमा चारपाङ्ग्रे सवारी साधन एक हजार ४४५ र दुईपाङ्ग्रे सवारी साधन छ हजार २६० रहेका छन् । उनीहरुलाई रु ५०० देखि एक हजारसम्म जरिवाना गरिएको कार्यालयले जनाएको छ ।
निषेधाज्ञा उल्लङ्घन गर्नेबाट कारबाहीस्वरुप रु २२ लाख ९१ हजार ४०० राजश्व सङ्कलन गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण स्थानीय प्रशासनले गत वैशाख १७ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरेको छ । जारी गरिएको निषेधाज्ञा तेस्रो पटकसम्म थप गरिएको समयसमेत यही जेठ २० गते सकिँदैछ । कोरोना सङ्क्रमणका कारण जिल्लामा २२१ जनाको मृत्यु भएको छ भने १३ हजार ८८९ सङ्क्रमित भएका छन् । सोमध्ये चार हजार ८४५ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लाका विभिन्न अस्पतालमा उपचाररत १५०, होम आइसोलेशनमा रहेका चार हजार ६७९ र सार्वजनिक आइसोलेशनमा रहेका १६ सङ्क्रमित छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस