एकादशीमा व्रत बस्नु स्वास्थ्यका लागि हितकर :डा.बास्तोला
आज अपरा एकादशी तिथि हो जसलाई अचला एकादशी पनि भनिन्छ । पौराणिक कालदेखि नै स्वस्थ र दीर्घायु जीवनका लागि यो एकादशीको महत्त्व रहेको पाइन्छ । वर्ष भरी नै विभिन्न एकादशी व्रतहरू पर्ने गर्दछन् ।
यस्ता व्रतले हाम्रो स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने कुरा विज्ञहरूले बताउँदै आएका छन् । व्रत बस्नाले केकस्तो स्वास्थ्य लाभ लिन सकिन्छ भन्ने विषयमा जीवनशैलीका रीता श्रेष्ठले धन्वन्तरि आयुर्वेदिक अस्पतालका वरिष्ठ आयुर्वेद चिकित्सक डाक्टर नवीन बास्तोलासँग गरेको कुराकानीको सम्पादित अंश :
व्रत बस्ने परम्परा र स्वास्थ्यको सम्बन्ध कस्तो छ ?
व्रत बस्ने परम्परा प्राचीन कालदेखि नै थियो । हाम्रो समाजमा धार्मिक रुपमा मात्र व्रत बस्ने गरेको पाइन्छ तर धार्मिक आस्थाका सँगसँगै स्वास्थ्यका लागि पनि व्रत बस्नु एकदम फाइदाजनक हुन्छ । हिजोआज व्रत बस्नुलाई ‘फास्टिङ्ग’ भनेर चिनिन्छ । तर हाम्रो बुझाइ के छ भने केही नखाईकन बस्नु फास्टिङ्ग हो तर त्यसो भन्दा पनि पानी र केही विशेष खानेकुराको तालमेल मिलाएर फास्टिङ्ग गर्दा स्वास्थ्यलाई एकदम फाइदा पुग्छ । फास्टिङ्गले हाम्रो पाचन प्रक्रियालाई समेत फाइदा पुर्याउँछ ।
फास्टिङ्गका कारण मन र चित्त शुद्ध हुने गर्दछ । शरीरको विकार तत्त्वहरूलाई पनि कम गर्न मद्दत गर्छ । यसरी मानसिक र शारीरिक, दुवै हिसाबले फास्टिङ्ग स्वास्थ्यका लागि फाइदाजनक नै मानिन्छ ।
फास्टिङ्गको तरिका कस्तो हुनु पर्छ ?
हाम्रो समाजमा फास्टिङ्ग चाहिँ गलत तरिकाले भइरहेको छ । भोलि फास्टिङ्ग छ भने आज हेभी डाइट खाने त्यो पनि पेटभरि नै । अनि फास्टिङ्गको भोलिपल्ट पनि एकदम धेरै नै खाने चलन छ । तर यो तरिका एकदम गलत हो । यसरी फस्टिङ्ग गर्दा भने शरीरमा फाइदा भन्दा पनि धेरै असर गर्न सक्छ ।
अघिल्लो दिन हेवी डाइट खाने र भोलि पल्ट केही नखाईकन फास्टिङ्ग बस्दा पाचन प्रक्रियामा प्रत्यक्ष रूपमा असर गर्न सक्छ । स्वास्थ्यलाई लाभ मिल्ने हिसाबले फास्टिङ्ग गर्ने हो भने हामीले भोलि फास्टिङ्ग छ भने अघिल्लो दिन पनि एकदम हलुका खाना खानुपर्छ र पानीको मात्रा पनि शरीरमा मिलाउने गर्नुपर्छ । फास्टिङ्गको भोलि पल्ट पनि हलुका खानाबाट खानपिन सुरु गर्नुपर्छ । यो तरिकाबाट फास्टिङ्ग गर्दा शरीरमा फाइदा पुग्छ ।
फास्टिङ्गले स्वास्थ्यमा कस्तो लाभ मिल्छ ?
हालको समय हेर्ने हो भने हाम्रो खानपान र जीवनशैली निकै आधुनिक र परिवर्तित छ । हाम्रो खानामा आवश्यक भन्दा बढी मात्रामा कोलेस्ट्रोल, फ्याट, प्रोटिन जस्ता तत्त्वहरू समावेश भएको हुन्छ,जुन हामी नियमित रूपमा खाइरहेका हुन्छौँ र त्यसले असर पनि गरिरहेको हुन्छ । हाम्रो जीवनशैली कै कारण हामीलाई विभिन्न दिर्घरोगहरु समेत लाग्ने गरेको छ । जीवनशैलीलाई एउटा नियममा बाँध्न, त्यस्ता खानपानका कारण शरीरमा जम्मा भएका अनावश्यक तत्त्वको मात्रालाई मिलाउन र शरीर अनि चित्तको शुद्धि करणको लागि पनि फास्टिङ्गबाट लाभ मिल्छ ।
हप्तामा हामीले एक पटक सम्म फास्टिङ्ग गर्न सक्छौँ । तर स्वास्थ्य ठिक छ भने मात्र । सामान्यतया पन्ध्र पन्ध्र दिनमा फास्टिङ्ग गर्नाले चाहिँ शरीरमा निकै फाइदा पुग्छ ।
सबैले फास्टिङ्ग गर्न मिल्ने नमिल्ने भन्दा पनि स्वास्थ्य अवस्था हेरेर हामीले फास्टिङ्ग गर्नु पर्छ अनि बल मात्र हामीलाई फाइदा हुने हो । सबैमा यो लागु हुँदैन ।
के सबैको लागि फास्टिङ्ग फलदायक छ ?
सबैको लागि फास्टिङ्ग फलदायक हुन्छ भन्न मिल्दैन । बालबच्चाहरूले नियमित वा धेरै पटक फास्टिङ्ग गर्दा उनीहरूलाई चाहिने पोषण तत्त्वहरूको कमी हुन सक्छ । त्यसैले बालबालिकाको लागि यो त्यति फलदायक छैन । त्यस्तै वृद्धवृद्धाहरुले स्वास्थ्य अवस्था हेरेर मात्र फास्टिङ्ग गर्नुपर्ने हुन्छ । सबैले फास्टिङ्ग गर्न मिल्ने नमिल्ने भन्दा पनि स्वास्थ्य अवस्था हेरेर हामीले फास्टिङ्ग गर्नु पर्छ अनि बल मात्र हामीलाई फाइदा हुने हो । सबैमा यो लागु हुँदैन ।
कस्ता व्यक्तिलाई व्रतले फाइदा पुर्याउँदैन ?
स्वास्थ्य स्थिति ठिक भएकाहरूले मिलाएर फास्टिङ्ग गर्दा राम्रो हुन्छ । तर यदि दिर्घरोगी हो, बालबच्चा हो, गर्भवती हो, ग्यास्ट्रिकको बिरामी हो, पाचन प्रक्रियामा समस्या भएको व्यक्ति हो, र नियमित कुनै औषधिको सेवन गर्ने व्यक्ति हो भने त्यस्ता व्यक्तिहरूलाई फास्टिङ्गले लाभ पुर्याउदैन ।
हप्तामा कति पटक सम्म हामीले व्रत बस्न सक्छौं ?
हप्तामा हामीले एक पटक सम्म फास्टिङ्ग गर्न सक्छौँ । तर स्वास्थ्य ठिक छ भने मात्र । सामान्यतया पन्ध्र पन्ध्र दिनमा फास्टिङ्ग गर्नाले चाहिँ शरीरमा निकै फाइदा पुग्छ ।
व्रत बस्दा कमजोर भयो भने के के गर्ने ?
यदि फास्टिङ्गका बेला कमजोरी आयो र गाह्रो महसुस भयो भने पानी र फलफूलको जुस खान दिनुपर्छ । कमजोरी छ भन्दैमा एकैचोटी ‘हेभी’ खालका खानेकुराहरू दिनु हुँदैन । पहिला पानी र बिस्तारै जुस गर्दै फलफूल खान दिन सकिन्छ । स्वास्थ्यका दृष्टिकोणले हेर्ने हो भने फास्टिङ्ग वा व्रत बस्नु भनेको राम्रो नै हो तर स्वास्थ्य ठिक हुनेले गर्दा अझ धेरै फाइदा लिन सक्छन् ।
क्याटेगोरी : चाडपर्व विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस