बस्तीमा जङ्गली हात्तीको उत्पात : तीनवटा घरमा तोडफोड
महोत्तरी / महोत्तरीको गौशाला नगरपालिका–१० विश्वकर्माचोकमा गएराति जङ्गली हात्तीले तीनवटा घरमा तोडफोड गरेर उत्पात मच्चाएको छ ।
सागरनाथ वन विकास परियोजनाको वनक्षेत्रबाट हात्ती बस्ती पसेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । घर तोडफोड गरेर नोक्सान गरेको सूचना पाउनासाथ प्रहरीटोली घटनास्थल पुगी स्थानीयवासीको मद्दतले हात्ती वनतिर लखेटिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप वस्यालले जानकारी दिए । तीन वटा सङ्ख्यामा रहेका हात्तीको समूह अहिले जङ्गल पसेका छन् । बस्ती पसेको हात्तीले ठाउँठाउँमा केराका थाम, उखु र ओलसहितका बोट उखेलेर सोतर बनाएको छ । जङ्गली हात्तीको चहलपहल बढेपछि सर्वसाधारण डराएका छन् । अब घाँस दाउरा गर्न, बस्तु चराउन र खेतबारी डुल्न जान पनि डरमर्दो भएको सर्वसाधारणको भनाइ छ ।
महोत्तरी, सर्लाही र धनुषाको उत्तरीभेगका चुरे क्षेत्र नजिकका बस्तीमा वर्सेनी जङ्गली हात्तीको आतङ्क हुँदै आएको छ । चितवन निकुञ्जबाट बहेटिदै हात्ती यता आउने गरेको बताइएको छ । पछिल्ला चार/पाँच वर्षयता महोत्तरीका चुरे नजिकका बस्तीमा तीन वटा नै हात्ती पस्दै आएको हुँदा उही हात्ती वर्सेनी पसेको हुनसक्ने बर्दिबास–३ पाटुका सुदर्शन घिमिरेले बताउनुभयो । जङ्गली हात्तीले महोत्तरीका खयरमारा, वरडाँडा, गणन्ता, भव्सी, पर्साहीधाप, रजवास, पाटु, सोनापेटी, चेरु र ढुङ्ग्रेसहितका बर्दिबास नगरपालिका र गौशाला नगरपालिकाका वनप्लट नजिकका बस्तीमा उत्पात मच्चाउँदै आएको छ ।
हात्तीको यही समूहले छिमेकी जिल्ला धनुषाको ढल्केवरमा पछिल्ला चार वर्षबीच दुई जनाको ज्यान लिई सकेको छ । आहाराको खोजीमा भौतारिदै हात्ती बस्ती पस्ने गरेको वन्यजन्तु विज्ञ बताउँछन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस