मेलम्ची पहिलो चरणको निर्माण सम्पन्न छिटै पूरा हुने
काठमाडौँ / मेलम्ची खानेपानी आयोजनाअन्तर्गत पहिलो चरणको निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । आयोजनाअन्तर्गत सुरुङ र पानी प्रशोधन केन्द्र सम्पन्न भएर सञ्चालनमा आइसकेको छ भने ‘हेडवर्क’ को थोरै काम मात्रै बाँकी छ ।
‘हेडवर्क’ मा अहिले गेट राख्ने काम भइसकेको र फ्रेम राख्न बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार आयोजनामा अब लामो समयको काम बाँकी छैन । विदेशबाट ल्याउनुपर्ने गेटको सामान ल्याउन मात्रै बाँकी छ । जर्मनीबाट ल्याउने सामान भन्सारमा आइसकेकाले थोरै काम बाँकी रहेको उनले बताए । उनले भने, “भन्सारमा आइसकेको छ त्यो आएर जडान भएपछि सकिनेछ ।”
‘हेडवर्क’ निर्माणको अवधि केही समय पहिले नै सकिएको थियो । कोभिडका कारण गत आवमा निर्माणमा अवरोध पुगेकाले अवधि थपिएको प्रवक्ता पन्तले बताउनुभयो । थप भएको अवधि आगामी साउनमा नै सकिँदैछ । त्यतिबेलासम्ममा निर्माण सकिने उनको भनाइ छ । उनले भन्नुभयो, “हेडवर्क सकिएप्छि पहिलो चरणको पूरै सम्पन्न हुनेछ ।”
राष्ट्रिय गौरवको सो आयोजना निर्माण शुरु भएको दुई दशकपछि सम्पन्न हुने चरणमा पुगेको हो । आयोजनाले तीन महिना पहिलेदेखि नै सुरुङको परीक्षण गरेर उपत्यकामा पानी झारेको थियो । अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पानी वितरण गरिरहेको छ । सुरुङको निर्माण गत आवमा नै सम्पन्न भएको थियो । गत वर्ष असारमा सुरुङ परीक्षणका क्रममा दुर्घटना भएकाले सुरुङमा आवश्यक त्रुटि सच्याएर पुनः परीक्षण गरिएको हो । दुई वर्ष पहिले नै सुन्दरीजलमा पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भइसकेको थियो ।
सुरुङ परीक्षणकै लागि पानी वितरण केही समय स्थगित गरिने आयोजनाले जनाएको छ । निर्माण कम्पनीसँग ठेक्का सम्पन्न गर्नका लागि एक पटक सुरुङ पूरै खाली गराएर परीक्षण गर्न लागिएको हो । सुरुङमा कुनै समस्या पाइएमा तुरुन्त सच्याएर पानी पुनः वितरण शुरु गरिनेछ । आयोजनाको पहिलो चरणको निर्माण सम्पन्न हुन लाग्दा सरकारले आगामी आवमा दोस्रो चरणको समेत निर्माण अघि बढाउने गरी रकम विनियोजन गरेको छ । आयोजनाले दोस्रो चरणको निर्माणका लागि अहिले पहुँच सडकको निर्माण गरिरहेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस