अग्रज पत्रकार बाँस्तोलाको कोरोनाका कारण निधन
गण्डकी / नेपाल पत्रकार महासङ्घ कास्की शाखा सदस्य एवं अग्रज पत्रकार यज्ञप्रसाद बाँस्तोलाको कोरोना सङ्क्रमणका कारण ७० वर्षको उमेरमा निधन भएको छ ।
कोरोना सङ्क्रमण पुष्टि भएपछि रिजनल अस्पताल पोखरामा उपचार गराइरहनुभएका उहाँलाई थप उपचारका लागि चरक अस्पताल भर्ना गरिएकामा आज बिहान ३ः१० बजे उपचारका क्रममा निधन भएको हो । कास्कीको पुरञ्चौरमा जन्मिनु भई हाल पोखरा महानगरपालिका–५ मा स्थायी बासिन्दा रहनुभएका स्व बाँस्तोलाका दुई श्रीमती, तीन छोरा र एक छोरी छन्।
पोखरामा झण्डै चार दशक पत्रकारिता गर्नुभएका स्व बाँस्तोलाले पोखराको माछापुच्छे् एफएम, माइक्रो न्यूज, आदर्श समाज र स्वतन्त्र सन्देशमा कार्यक्रम प्रस्तोतादेखि सहसम्पादक र सम्पादकको भूमिका निर्वाह गरेका थिए ।
यसैबीच बाँस्तोलाको निधनप्रति नेपाल पत्रकार महासङ्घ कास्कीले चरक अस्पताल परिसरमा श्रद्धाञ्जलिसभा गरेको छ । श्रद्धाञ्जलिसभामा महासङ्घका अध्यक्ष विमला भण्डारी र केन्द्रीय सदस्य त्रिभुवन पौडेलले पत्रकारिताका क्षेत्रमा उनले गरेका योगदानको चर्चा गरेका थिए । असामयिक निधनप्रति नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिलगायतका पत्रकार सम्बद्ध सङ्घसंस्थाले शोक वक्तव्य प्रकाशित गर्दै दुःख व्यक्त गरेका छन् ।
बाँस्तोलाको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, ऊर्जाशील, इमान्दार र यस क्षेत्रको एक अभिभावक गुमाएको उल्लेख गर्दै विज्ञप्तिमा स्व पत्रकार बाँस्तोलाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ । यसअघि कास्कीका युवा पत्रकार जगन्नाथ पौडेल (गणेश)को पनि कोरोना सङ्क्रमण भई निधन भएको थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस