रोग र भोकका कारण कष्टकर जीवन बिताउँदै वृद्धा
लमजुङ / “उमेर भइसक्यो असी, झन् ठूलो दुःखले घेरेको
सिमली छायाँमा बसी भरियाले लामो सास फेरेको !”
जनवादी गायक जीवन शर्माले गाउनुभएको गीतका यी हरफले बोलेझैँ उमेरले ८० नाघेकी सुन्दरबजार नगरपालिका–४ अर्चल्यानीकी टीकाकुमारी सेढाईंको उमेर जति घर्किँदो छ, दुःखको पहाडले त्यति नै थिच्दै गइरहेको छ ।
तातो–चिसोको ख्याल गर्दै खानपिन र स्याहारसुसार पाउनुपर्ने अवस्थाकी ८७ वर्षीया यी वृद्धा निकै दयनीय र कष्टकर जीवन बाँचिरहेको छन् । तातो, नरम र मिठो–मसिनोको त कुरै छाडौँ साँझ–बिहानको दुःखको गाँससमेत आँसुसँग निल्दै आइरहेका छन् । वृद्धावस्थामा हेरचाह र स्याहारसुसार गर्ने परिवार र आफन्त नहुँदा रोग, शोक र उमेरको बोझले थलिएकी सेढाईंको जीवन कष्टकर बन्दै गइरहेको हो ।
उनि लामो समयदेखि एक्लै बस्दै आएकि छन् । पुरानो घर, त्यही माथि घरको विभिन्न ठाउँमा प्वालैप्वाल परेको छ । खाने, बस्ने ठाउँ राम्रो छैन । सुत्ने ओछ्याउने नहुँदा चिसो भुइँमै सुत्दै आएकि छन् । त्यही आफू सुत्ने तथा खाना पकाउने ठाउँमा बाख्रा राखेर त्यही बाख्रा राख्ने ठाउँमै सुत्ने गरेको उनले बताइन् ।
उनले भने, “आँखाले राम्रो ठम्याइ पाउँदिनँ, हत्तपत्त कान नि सुन्दिनँ, यताउता गर्न पनि भनेको बेला नसक्ने भइसकेकाले जीवनमा धेरै दुःख भइरहेको छ ।” वृद्धाको घरमा न बिजुली बत्ती न कुनै उज्यालोको माध्यम नै छ । दिनमा जसोतसो गर्न सके पनि रातिको समयमा बाहिर शौचायलय जानु परेमा छामछाम छुमछुम गर्दै निस्कने गरेको र कुनै बेलामा त लड्ने गरेको उनले सुनाइन् ।
शारीरिक र आर्थिक अवस्थामा दयनीय जीवन बिताउन बाध्य वृद्धा सेढाईंले सुखको सपना देख्न नै बिर्सि सकेकि छन् । करिब २० वर्षअघि श्रीमान् महाकान्त सेढाईंको मृत्यु भएसँगै सहाराविहीन जीवनमा जसोतसो दिन बिताउँदै आएको उनले बताइन्। उनले भनिन्, “आफूपट्टि छ सन्तान भए पनि सबै खेर गएकाले श्रीमान्ले अर्की कान्छी श्रीमती ल्याए । श्रीमान् हुँदा अलिअलि खानका लागि हेर्ने गर्थे, श्रीमान् बितेपछि त कान्छीपट्टिका छोराछोरीले पनि हेर्दैनन् ।”
“उनीहरु शहरमा बस्छन् । यहाँ मलाई एक छाक टार्नसमेत अरुको भर पर्नुपरेको छ”, उनले भनिन्, “खानाका लागि माग्नलाई पनि अरुको घर घरै जान सक्दिनँ, कसैले ल्यायो भने, खान्छु नत्र कैयौँ दिन भोकभोकै पनि बस्दै आएकी छु । खानेपानी पनि घर नजिकै छैन, घरभन्दा तल अलि टाढा छ ।” टाढा भए पनि जसोतसो गरेर ल्याउने गरेको वृद्धाले सुनाइन् । उनको दुःख यति मात्र छैन । कान्छो छोरो जन्मेदेखि अर्थात् ३० वर्षदेखि छिनछिनमै पिसाब चुहिने समस्याले सताउँदै आए पनि हालसम्म पैसा नभएकाले उपचार गर्ने कुरा स्वर्ग पुग्नुजस्तै भइरहेको उनले बताइन्।
उनले भनिन्, “मर्न बरु सहिजो हुन्छ होला, बाँच्नलाई साह्रै गाह्रो भइरहेको छ । अलिअलि हिँड्न सकिरहेकी छु, बिरामी पर्दा र अझै उमेर ढल्दै जाँदा एक मुख पानी खानलाई पनि के गरेर खाने भन्ने चिन्ताले सताइरहेको छ ।” उनले वृद्धाभत्ता चार/चार महिनामा रु १२ हजार माइती दाजुले बुझ्ने गरेको र आफूलाई रु पाँच हजार मात्रै दिने गरेको बताइन् । त्यही रु पाँच हजारले चार/चार महिनामा मिठो–मसिनो खाने गरे पनि पर्याप्त नहुँदा खानलाई समेत समस्या हुने गरेको उनको भनाइ छ ।
वृद्धा सेढाईँ पहिला सक्ने बेलामा गाउँघरमा कसैको विवाह, व्रतबन्ध, पूजाआजा भएको बेलामा सालको पात टिपेर ल्याएर दुना, टपरी बुनेर दिने र सोवापत केही रकम तथा अन्नपात लिने र त्यहीबाट जीवन चलाने गर्थिन् । केही वर्षपछि हिँड्डुल गर्नै नसक्ने अवस्थामा पुगेपछि गाउँमा उनि जान छाडेको र खानलाई पनि समस्या पर्न थालेको स्थानीयवासी टेकबहादुर गुरुङले बताए ।
उनले भनिन्, “गाउँलेले कहिलेकाहीँ दयामायाले खाना दियो भने खाने गर्छनि, नत्र आफैँ जानुहुन्न, काम पनि गर्न नसक्ने भएकाले कति दिन पटक–पटक भोकै पनि बस्दै आएकि छन् ।” त्यस्तै अर्का स्थानीयवासी कृष्णप्रसाद अधिकारीले भने, “वृद्धाको अवस्था देखेर पनि गाउँलेले उनको उपचार गर्नेतर्फ ध्यान दिन नसकेकाले रोगसँग लडिहेको छिन् । उनको समस्या समाधान गर्नका लागि सबै गाउँ एकजुट भएर लाग्नुपर्छ ।”
“लामो समयदेखि वृद्धाले शारीरिक अवस्था र आर्थिक अवस्थाले गर्दा विभिन्न समस्या झेल्दै आएकि रहिछन्, तर केही दिनअघि मात्र थाहा पाएँ”, सुन्दरबजार नगरपालिका प्रमुख जनकराज मिश्रले भने, “उनको बस्ने ठाउँ राम्रो, छैन, शौचालय छैन, धारा छैन, बिजुली रहेनछ, एउटा सुत्ने खाट पनि नरहेछ, यस्तो अवस्थामा रहेका उनलाई नगरपालिकाले ती सुविधा तथा व्यवस्था गर्नेछ ।”
वृद्धामा वर्षौँदेखि पाठेघरको समस्या रहेकाले उपचार ढिलो भएको छ । ढिलै भए पनि अब निषेधाज्ञा खुलेपछि सुविधासम्पन्न अस्पतालमा लगेर जाँच गर्ने र आवश्यक उपचार गरिदिने उनको भनाइ छ । उनले भने, “यस्तो अवस्था रहेको जानकारी यहाँका स्थानीय राजनीतिक दल, समाजिक अगुवा, जनप्रतिनिधि एवं वडाध्यक्षले नगरपालिकामा जानकारी दिनु पर्ने थियो, नदिँदा हालसम्म पनि जानकारी भएन”, नगरप्रमुख मिश्रले भने, “ढिलै भए पनि उनलाई राज्य नभएको अनुभूति नहोस्, राज्य तथा सरकार छ भन्नका लागिसमेत उनको विभिन्न समस्यामा साथ दिँदै समाधानतर्फ स्थानीय सरकार अघि बढ्नेछ ।”
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस