• जीवनशैली | Jiwanshaili
  • सिन्धुपाल्चोक बाढी अपडेट: ३ जनाको शव भेटियो १३ जना अझै बेपत्ता


    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीमा अझै १३ जना हराइरहेका छन् ।

    हराइरहेकाहरूको खोजी कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । अहिलेसम्म तीन जनाको शव भेटिएकोमा दुई जना चिनियाँ नागरिक र एक जना भारतीय नागरिक रहेका सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए। ज्यान गुमाउने मृत्यु हुने तीनै जना मेलम्ची खानेपानी आयोजनामा कार्यरत रहेका उनले बताए ।

    यस्तै अहिलेसम्म ८० जनाको उद्धार भएको छ । घाइते भएका पाँच जनामध्ये दुई जना डिस्चार्ज भएका छन् भने तीन जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । अहिले मेलम्ची नदीमा पानीको सतह घटेपछि केही राहत भएको छ । पानी पर्न कम भएपछि उद्धार र राहत टोलीलाई पनि सजिलो भएको छ । पानी पर्न रोकिएपछि आज नेपाली सेनाको एउटा हेलिकप्टरले हेलम्बुमा खाद्यान्नसहित राहत सामग्री पुर्‍याएको थियो ।

    बाढी र पहिरोपछि हेलम्बु र मेलम्चीमा बिजुलीको आपूर्ति ठप्प भएको छ । बत्ती नहुँदा सञ्चार सम्पर्क विच्छेद भएको छ । हेलम्बु गाउँपालिका १ मा रहेको मेलम्ची खानेपानीको मुख्य हेडवर्क्समाथि पहिरो जाँदा नदी थुनिएको र पछि त्यो बाँध फुट्दा बाढी आएको थियो । बाढीले सुरुमा हेलम्बुको तिम्बु बजार बगाउन सुरु गरेको थियो । त्यस्तै पाँचपोखरी गाउँपालिका–३ को भोताङको लार्केबाट पनि त्यही बेला बाढीको बहाव सुरु भएको र दुवै खोला मेलम्चीमा मिसिँदा ठूलो क्षति हुन पुगेको स्थानीयवासीले बताएका छन् ।

    बाढीका कारण मेलम्ची–हेलम्बु र मेलम्ची–भोताङको सडक सञ्जाल सम्पर्क विच्छेद भएको छ । बाढीका कारण मेलम्ची बजार बगरमा परिणत भएको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार