• जीवनशैली | Jiwanshaili
  • जाजरकोटमा गोठालो गएका ७ जना तीन दिनदेखि बेपत्ता


    जाजरकोट । जाजरकोटमा गाईभैँसी र बाख्रा चराउन गएर बेपत्ता भएका ७ जनाको अझै खोजी हुन सकेको छैन।

    जाजरकोटको जलजला पाटनमा गएका उनीहरू मंगलबारदेखि सम्पर्कविहीन छन्। कुशे गाउँपालिका औलरिजाका ३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीम खड्का, १७ वर्षीया धनसरा खड्का र ४० वर्षीय कृष्ण रोकाय अझै सम्पर्कमा आएका छैनन्।

    बेपत्ता भएका उनीहरूको खोजीका लागि प्रहरी र स्थानीयलाई घटनास्थलतर्फ पठाए पनि त्यहाँ पुग्न नसकेको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताए।

    उनीहरूसँगै रहेका ४४ वर्षीय भक्तबहादुर रोकाय, १० वर्षीय ईश्वर रोकाय, १४ वर्षीय दुर्गा रोकाय र ५५ वर्षीया गङ्गा खड्का भने सम्पर्कमा आएका छन्। त्यस्तै जलजला पाटनमा २२ गाई, १० भैँसी र ५० बाख्रा मरेको प्रहरीले बताएको छ। बुधबार बिहान घटनाबारे जानकारी आएपछि प्रहरी र स्थानीयलाई घटना स्थलतर्फ पठाएको थियो। प्रहरी र स्थानीयवासी भैँसी ओडारमा पुगेर लेक लागी बिरामी भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताए।

    घटनास्थल पुग्न पाँच घण्टाभन्दा बढी लाग्ने स्थानीयको भनाइ छ। बेपत्ताको उद्धारका लागि गृह मन्त्रालय, प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा पत्राचार गरिएको छ। उद्धार टोली बिरामी पर्नुका साथै पानी, हावाहुरी सहितको बहुकाले माथि जान नसकेको उनले बताए। घटनास्थल समुद्र सहतदेखि चार हजार ८०० मिटर उचाइमा छ।

    यस्तै सदरमुकामदेखि बाहिर टेलिफोन सेवा अवरुद्ध भएको छ। सौर्य ऊर्जा प्रणालीले काम नगर्दा फोन सेवा अवरुद्ध भएको हो।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार