सडक खुलाउन जनप्रतिनिधि र प्रजिअको श्रमदान
म्याग्दी / म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकको पहिरो पन्छाएर यातायात सञ्चालन गर्न जनप्रतिनिधि, प्रशासक, सुरक्षा अधिकारी, सुरक्षाकर्मी र सर्वसाधारणले श्रमदान गरेका छन् ।
मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर दूरीको बेनी–दरबाङ सडकखण्ड यही असार १ गतेदेखि अवरुद्ध बनेको छ । बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतको पहिरो पन्छाएर यातायात सञ्चालन गर्न आइतबार जिल्लाका सरोकारवाला आफैँले श्रमदान गरेका हुन् ।
जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी, प्रहरी नायब उपरीक्षक श्यामकुमार राई, नेपाली सेनाको अर्थुङ्गे गुल्मका सेनानी र सशस्त्र प्रहरीको गलेश्वर आश्रित गुल्मका प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङको नेतृत्वमा सुरक्षाकर्मीहरु सडक मर्मतका लागि फापरखेत पुगेका थिए ।
प्रशासक र सुरक्षाकर्मीसँगै तातोपानी र बाबियाचौरका जनप्रतिनिधि र सर्वसाधारण पनि श्रमदानमा सहभागी भएका थिए । नेपाल प्रहरीका २२, नेपाली सेनाका १४ र सशस्त्र प्रहरीका १३ सहित स्थानीयवासीले पहिरोले भत्काएको ठाउँमा ग्यावियन पर्खाल बनाउन श्रमदान गरेका हुन् ।
पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित बेनी–दरवाङ सडक आयोजनाको ठेकेदार लामा–समानान्तर जेभीको दुई वटा स्काभेटर पनि सडक खुलाउन परिचालन भएको थियो । मङ्गला–२ सिमको पहिरोमा पनि फापरखेतमा जस्तै सुरक्षाकर्मी र स्थानीयवासीले श्रमदान गरेका हुन् । पूर्वाधार विकास कार्यालयले एउटा स्काभेटर परिचालन गरेको छ ।
फापरखेतको घुमाउनेमा सडक मर्मत गरेर बेनीदेखि सिमसम्म हलुका सवारी साधन आवतजावत गर्न मिल्ने बनाइएको प्रनाउ राईले बताउनुभयो । जिसस प्रमुख, प्रजिअ र सुरक्षा अधिकारीहरुले महत्वका साथ आफैँ उपस्थित भएर सडक खुलाउन प्रयास गरेको हुन् । यसअघि बेनी–दरबाङ सडक आयोजनाको दोस्रो प्याकेजको ठेकेदार बिरुवा क्याराभान जेभीले मालिका गाउँपालिकाको बाङ्गे पहिरोमा खसेको पहिरो पन्छाएर दरबाङदेखि तोराखेतसम्मको सडकमा यातायात सञ्चालन गराइएको थियो ।
यसैगरी बेनी–जोमसोम सडकको बेनी–६ जलेश्वर, रघुगङ्गा गाउँपालिकाको चमेरेलगायत ठाउँमा खसेको पहिरो बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनीको स्काभेटर परिचालन गरेर हटाई साँझ बेनीदेखि भुरुङ–तातोपानीसम्म यातायात सञ्चालन गराइएको छ । अन्नपूर्ण गाउँपालिकाको रुप्से र मुस्ताङको सिमाना काभ्रेभिरमा खसेको पहिरो पन्छाउने कार्य जारी छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस