• जीवनशैली | Jiwanshaili
  • दक्षिणकालीमा मृत फेला परेकी युवतीको पहिचान


    काठमाडौं । दक्षिणकाली मन्दिर नजिकै शौचालयमा मृत अवस्थामा फेला परेको शवको पहिचान भएको छ ।

    शव थरीथरीका आवाज निकाली चर्चामा आएकी २५ वर्षीया सन्तोषी सुब्बाको भएको प्रहरीले बताएको छ । सुब्बा धनबहादुर तामाङसँग कालोपुलमा बस्दै आएकी थिइन् । तामाङले उनलाई धर्मछोरी बनाएर लामो समयदेखि आफूसँगै राखेका थिए । तीन दिनदेखि सम्पर्कविहीन रहेकी सुब्बाको शव दक्षिणकाली मन्दिरस्थित पार्किङ सँगैको ट्वाइलेटमा हत्या गरेर फालिएको अवस्थामा फेला परेको थियो ।

    काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार उनी धनबहादुरलाई गँगटो खोज्न जान्छु भन्दै निस्किएकी थिइन् । एसएसपी सिंहका अनुसार उनको शव घाँटीमा सलले कस्सिएको र अनुहार चिन्नै नसक्ने गरी किचिएको अवस्थामा फेला परेको थियो । प्रहरीले उनी गर्भवती भएको हुनसक्ने आशंका गरेको छ ।

    अवैध सम्बन्धका कारण उनको हत्या गरिएको हुनसक्ने प्रहरीले बताएको छ । ‘प्रारम्भिक अनुसन्धानको क्रममा अवैध सम्बन्धका कारण घटना गरेको देखिएको छ । थप पोष्टमार्टम रिपोर्टपछि थाहा हुनेछ’, एसएसपी सिंहले भने । घटनास्थलको प्रकृति हेर्दा शौचालय बाहिर झगडा परेको देखिएको छ । अभियुक्तले पहिचान लुकाउनका लागि क्रुर तरिकाले हत्या गरेको देखिएको उनले जानकारी दिए ।

    सुब्बाले गलाबाट थरी थरीका आवाज निकाल्दै चर्चामा आएकी थिइन् । उनका केही भिडियोसमेत युट्युबमा छन् ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार