• जीवनशैली | Jiwanshaili
  • अझै चुलोचौकामै सिमित छन् ग्रामिण महिलाहरु


    काठमाडौं । विश्वका धेरै मुलुकहरूमा जस्तै नेपालमा पनि महिला र पुरुष बिच ठुलो बिभेदको अवस्था छ ।

    यँहाको सामाजिक,आर्थिक, शैक्षिक,राजनितिक,प्रसाशनिक लगायतका सबै क्षेत्रमा पुरूषको तुलनामा महिलाको पँहुच ज्यादै न्यून रहेको छ । नेपालमा कुल जनसङ्ख्याको आधा भन्दा बढी (५१.५०५)हिस्सा ओगटेका महिलाहरू राज्यका हरेक पक्षमा पिछडिएका छन् । त्यसमा पनि ग्रामिण क्षेत्रका महिलाहरुको अवस्था अंझ दयनिय छ । परम्परागत रूपमा जातपातको भेदभाव, चाँडो विबाह,छोराको महत्व जस्ता मान्यता जस्ता कारणले ग्रामिण महिलाहरुको स्तर विकास हुन सकेको छैन ।

    चुलोचौकामै सिमित ग्रामिण महिला

    गाउँघरका महिलाहरुले आफ्ना घरमा खाना पकाउने, खाना खुवाउने, वच्चाहरुको स्याहार गर्ने, भाँडा माझ्नेदेखि लिएर घरको अन्य सवै काम गर्नुपर्छ ।
    त्यसको साथै आफूले नसक्ने काम समेत जिम्मा लिई पूरा गर्नुपर्ने, पूरा गर्न नसकेमा लोग्नेको कुटाइ खानुपर्ने वा भोकभोकै बस्नुपर्ने बाध्यता छ । त्यतिन्जेलसम्म पुरुषहरु आनन्दले गफ मारेर बस्ने वा अरु कुनै मनोरञ्जनात्मक काम गर्छन् । महिलाहरुलाई सन्तान उत्पादन गर्ने र पुरुषहरुको मनोरञ्जनको साधनको रुपमा प्रयोग गर्ने चलन अझै पनि धेरै ठाउँमा देख्न सकिन्छ । यी घटना र हिंसा हुनुमा राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक चेतनाको अभाव नै प्रमुख कारण देखिन्छ ।

    उसो त देशका प्रमुख निकायमा महिलाहरुलाई नेतृत्व गर्ने अवसर पनि दिइएको छ । तर उनिहरुको नेतृत्व देखावटी मात्रै देखिन्छ । नेतृत्वमा ३३ प्रतिशत महिला सहभागिता गराउनैपर्ने भन्ने बाध्यकारी कानुनका कारण त्यो पुर्तिका लागी मात्रै स्थान दिइएको देखिन्छ । त्यसमा हर्ताकर्ता पुरुष नै हुन्छन् । हुन त महिला हिंसा कम गर्न महिलाप्रतिको शोषण, उत्पीडन, हिंसा, अत्याचार, दुव्र्यवहार अन्त्यका निमित्त थुप्रै कानुन बनेका छन् । यति हुँदा पनि नेपालमा महिलामाथि हुने हिंसाका विभिन्न स्वरूपहरू छन् ।

    बहुविवाह, बाल विवाह, दाइजो प्रथा, कुटपिट, सम्बन्ध विच्छेद, गालीगलौज, अपहेलना, यातना, तिरस्कार, बोक्सीको आरोप, जबर्जस्ती करणी, वैवाहिक करणी, विधवा प्रथा, घुम्टो प्रथा, अनमेल विवाह, छाउपडी प्रथा, वादी प्रथा, देउकी प्रथा आदि महिला हिंसाका केही रूप हुन् । नेपालको सन्दर्भमा हरेक समुदाय, समाज, संस्कृति, धर्ममा महिलामाथि हिंसा रहेको पाइन्छ ।

    ग्रामिण महिलाहरुको आर्थिक अवस्था

    नेपालको अर्थतन्त्रमा महिला सहभागिता अर्थपूर्ण छ ।

    कृषि, घरेलु कामलगायत समाज र समुदायमा हुने हरेक क्रियाकलापमा ज्यालाविहीन कार्यमा महिलाको सक्रियता बढ्दो छ । राज्यले महिलाको ज्यालाविहीन कामलाई प्रत्यक्ष नगद प्रदान नगरे पनि उत्पादनशील कार्यलाई स्विकार्दै गार्हस्थ उत्पादनमा समावेश गरेको छ । यसले समानताको विषयलाई एक कदम अगाडि बढाएको रूपमा लिनुपर्छ ।

    अर्थतन्त्रका महत्वपूर्ण आधारमा कृषि, उद्योग, व्यापार व्यवसाय, पर्यटन, पेसागत र वैदेशिक रोजगार आदि प्रमुख हुन् । कृषि क्षेत्रले कूल जनसंख्याको ६६ प्रतिशत रोजगार प्रदान गरेको छ । नेपालको कृषि प्रणाली व्यावसायीकरणमा जान सकेको छैन । परम्परागत आधारमा परिवारको बिहान र बेलुकाको छाक टार्ने काम मात्र हुँदा पनि गार्हस्थ उत्पादनमा करिब ३३ प्रतिशत योगदान छ । ६६ प्रतिशत कृषिमा संलग्न जनसंख्यामध्ये ७२ प्रतिशतमध्ये १० प्रतिशत महिलाको कृषि जमिनमा स्वामित्व रहेको तथ्यांकले देखाउँछ ।

    महिला संलग्नताकै कारणले गार्हस्थ उत्पादनमा २८.९ प्रतिशत योगदान पु¥याएको हो । परम्परादेखि नै महिलालाई ज्यालाविहीन कामदारका रूपमा काम गराउने र हेरिने प्रचलन आज पनि यथावत् छ । यस क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता तथा नेतृत्व कायम राख्न राज्यले अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रतिबद्धताले अर्थ राख्छ ।

    दिगो विकासका लक्ष्य र सहस्राब्दी विकास लक्ष्यमा कम्तीमा पनि १३ वटा लक्ष्यले कृषि तथा लैंगिक समानताको अर्थ प्रस्ट हुन्छ । यो लक्ष्य प्राप्ति र अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि उच्च राख्ने नीतिको उचित कार्यान्वयनमा सजग हुन आवश्यक छ ।

     


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार