स्थानीय युवाद्वारा घर निर्माण
दमक / झापाको कमल गाउँपालिका–५ टुकुरेकी एक असहाय तथा विपन्न महिलालाई स्थानीय युवाले घर निर्माण गरिदिएका छन् । घर र पारिवारिक अवस्थाका विषयमा सञ्चारमाध्यममार्फत खबरबाहिर आएपछि सोही वडाका केही मनकारी युवाको समूहले तीन दिनभित्रै स्थानीयवासी सङ्गीता राईलाई चिटिक्क परेको नयाँ घर बनाइदिएका हुन् ।
असहाय राई परिवारलाई बसोबासको व्यवस्था गर्न सक्रियता दिएपछि तीन दिनमै टिनको छानो र घेरबार पनि टिनको राखेर घर बनाइएको स्थानीयवासी एकराज प्याकुरेलले बताए । घर निर्माणका लागि स्थानीय युवा नेता हुकुमसिंह राईको नेतृत्वमा व्यवसायी थरेन्द्रराज पौडेल, राजकुमार न्यौपाने, बुद्धिशेखर बजगाइँ, पवन लुइँटेल लगायतको सहयोगमा चिटिक्क घर बनाइएको हो ।
त्यस्तै घर बनाउन भौतिक रुपमा निर्माण कार्यका लागि चन्द्र मोक्तान, विपिन खडका, भक्त मगर, यज्ञबहादुर थापा र दुर्गा अधिकारी खटिनुभएको थियो । काखका दुई छोरी सपु र विपासा भएपछि तेस्रो सन्तान जन्मिन केही महिना मात्रै बाँँकी छँदा एक वर्षअघि सङ्गीताका पति पुष्प राईको अचानक रतुवा खोलामा डुबेर मृत्यु भएको थियो । ज्याला मजदूरीबाट परिवार धान्दै गरेका घरमूलीको नै अकालमा ज्यान गएपछि पीडित राई परिवारको अवस्था नाजुक बनेको थियो ।
सुकुम्बासी बस्तीमा ओत लागि बसेका उहाँको बालबच्चाको पालनपोषण र ओत लाग्ने छाप्रो पनि हावाले उडाएपछि झनै समस्या बनाएको छिमेकी शान्ता चेम्जोङ देवानले बताउनुभयो । अहिले स्थानीय युवाको सक्रियतामा पीडितलाई घर बनाइएपछि सङ्गीतालाई ठूलो खुशी प्राप्त भएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस