क्युडीमा ९४ परिवार पहिरोले विस्थापित
मार्तडी / असारको शुरुदेखि आएको अविरल वर्षाका कारण बाजुराको जनजीवन प्रभावित बनेको छ । वर्षासँगै खोलामा आएको बाढी र पहिरोले गर्दा दर्जनौँ बस्ती जोखिममा रहेका छन् । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण जिल्लाका सयौँ बस्ती उच्च जोखिममा परेका छन् ।
जिल्लाको उत्तरपूर्वी भेगको हिमाली गाउँपालिका–५ क्युडीका ९४ परिवार गाउँभन्दा तलपट्टिको सडक भासिएर पहिरो बग्न थालेपछि विस्थापित भएको गाउँपालिकाका प्रधानमन्त्री रोजगार संयोजक बिर्खबहादुर पाण्डेले बताउनुभएको छ । उहाँका अनुसार गाउँभन्दा तलपट्टिको खोलामा गत वर्ष पनि पहिरो गएको र अहिले पनि गाउँ नजिकै रुगिन हुँदै विच्छ्या जोड्ने सडक निर्माण भएपछि सडक भासिएर पहिरो गएकाले बस्ती नै विस्थापित भएको हो ।
सडकका कारणले गाउँ नै भासिन थालेपछि स्थानीयवासी त्रिपालको सहारामा बस्दै आएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताउनुभयो । सडकमाथि गाउँ भएकाले पूरै जमीन भासिएका कारण स्थानीयवासीले आफ्नो घर नै छाडेर खुला ठाउँमा त्रिपालमा रात बिताउने गरेको भण्डारीले बताए ।
पहिरोले विस्थापित भएका उनीहरु एउटै त्रिपालमा चार परिवारले रात बिताउने छन् । विस्थापित भएको खबर आएपनि अविरल वर्षाका कारण क्युडी जान नसकिएको र केही दिनपछि गएर स्थलगत अनुगमन गर्दा बस्ती नै सार्नुपर्ने अवस्था भएको गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताउनुभयो । बस्ती नै विस्थापित भएपछि गाउँपालिकाले राहत र उद्धारका लागि जिल्ला प्रशासन कार्यालय बाजुरामा आग्रह गर्ने अध्यक्ष मल्लले बताए ।
प्रहरी, गाउँपालिका कर्मचारी र वडाध्यक्षको संयुक्त अनुगमनबाट पहिरोले विस्थापित भएका क्युडी बस्तीका परिवारका बारेमा मुचुल्का तयार पारेर पालिकामा बुझाएको गाउँपालिकाले जनाएको छ । पहिरोले क्युडीका घरहरु चर्किएको र घरभित्र पानी पसेर कतिपय घरको खाद्यान्नलगायतका सामग्री ओसार्न नसक्दा आफन्तले दिएको खानेकुरा खाएर बस्न बाध्य भएको गाउँपालिका प्रधानमन्त्री रोजगार संयोजक पाण्डेको भनाइ छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस