• जीवनशैली | Jiwanshaili
  • समाचारले बलेको चेपाङको चुल्हो


    चितवन / फागुनदेखि साउनसम्म कन्दमूलमा गुजारा चल्ने चेपाङ समुदायको चुल्हो यतिबेला समाचारले बालेको छ । जिल्लाका पत्रकारहरुले चेपाङको ओसाएको चुल्होलाई चित्रण गरेर लेखिएका समाचारले नै उनीहरुको चुल्हो तातेको हो ।

    जिल्लाको पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ ९प्रजा० समुदायका दुई प्रतिशत परिवारलाई मात्रै १२ महिना खान पुग्छ । फागुन लागेपछि साउनमा मकै र घैया नपाकेसम्म जङ्गलको गिठा, भ्याकुर र सिस्नुको भरमा उनीहरुको गुजारा चल्ने गर्दछ । विगतका वर्षमा ज्याला मजदुरी गरेर, डोको, नाम्लो बुनेर, च्युरीको घ्यू बनाई बिक्री गरेर नुन–तेलको गुजारा गरेको भए पनि कोभिडका कारण यस वर्ष यी पेशा व्यवसाय पनि बन्द भएका छन् । त्यसैले उनीहरुलाई गिठा भ्याकुरमा हाल्ने नुनतेल समेत यस वर्ष पाउन मुस्किल भयो ।

    चेपाङका यिनै कथाबेथा बुनेर समाचारहरु आउन थालेपछि भने उनीहरुको गर्जो टर्दैै आएको छ । अन्नपूर्ण पोष्ट र एपिवान टेलिभिजनका समाचारदाता अनिल ढकाल आफूले चेपाङका पीडा समेटिएको समाचार प्रकाशन प्रसारण गरेपछि हालसम्म रु २७ लाखभन्दा बढीको राहात आएको बताए । उनले भने, “पीडा थाहा पाएपछि दाताबाट आएको राहतले एक हजार ३०० भन्दा बढी घरधुरीले राहत पाएका छन् ।” ढकालका अनुसार ग्रिन सोसाइटी नेपालका श्रीलाल परियारको समूहले ७१६ घरधुरी र नेपाल हेल्पका कृष्ण ढकालका समूहले ५०० घरधुरीलाई राहत बाँडेको थियो ।

    नारायणगढका युवाहरुले पनि सोही समाचारपछि राहत बाँडेको उनको भनाइ छ । तीसँगै अन्य सङ्घसंस्थाले पनि चासो दिएर आफ्नै ढङ्गले राहत बाँडेको उनले जानकारी दिए । कालिका नगरपालिका–११ बन्दीपुरे टोलको पीडा समेटेर ढकालले लेखेको समाचारपछि आएको राहत त्यसै क्षेत्रमा वितरण गरिएको हो ।

    कान्तिपुर दैनिकका रमेशकुमार पौडेल र सेतोपाटीका राजेश घिमिरे चेपाङ गाउँ गएर फर्किएपछि आएका समाचारसँगै गाउँमा आएको राहतले धेरैको चुल्हो बाल्यो । पौडेलका अनुसार राप्ती–१३ को तापाङका २१० घरधुरी र कालिका–११ सैपामका ४७ घरधुरीले राहात पाए । यसै समाचारपछि मितेरी फाउण्डेशनका अध्यक्ष फिल्म निर्माता तथा कलाकार रवीन्द्रसिंह बाँनियाको पहलमा फाउण्डेशनमार्फत् चेपाङ बस्तीका ५४५ घरधुरीले राहत पाएको पौडेलको भनाइ छ ।

    घिमिरेले कतिपय आफूहरुलाई सम्पर्क गरेर त कतिपयले सम्पर्क नगरी आआफ्नो ढङ्गले राहात बाँडेको बताए । त्यहाँको दयनीय अवस्थाको बारेमा चित्रण गरेपछि स्वदेश र विदेशमा बसेकाहरुको मन पग्लिएको उनको भनाइ छ ।

    कालिका नगरपालिका घर भएका पत्रकार शिशिर सिंखडा कोभिडको बेलामा चेपाङ बस्ती जाँदै गर्दा देखेका पीडा लेखेपछि राहत आउने क्रम निरन्तर रहेको बताए । रेडियो नेपाल र कालिका दैनिक अनलाइनमा कार्यरत सिंखडा कालिका–१० र ११ को सिद्धि गाउँको पीडा लेखेपछि ७०० भन्दा बढी परिवारले राहत पाएको बताए । त्यसैगरी उहाँकै समाचारले रत्ननगर र कालिकाका २०० भन्दा बढी ज्याला मजदुरी गर्नेहरुले राहत पाएका छन् । सिंखडाले भने, “गाउँगाउँका पीडा लेखेपछि उनीहरुले राहत पाउँदा निकै खुशी लाग्छ ।”

    चितवन पोष्ट दैनिकका समाचारदाता तुलमान गुरुङले कालिका–१० को जिङ्लाउको पीडा समाचारमा आएपछि त्यस क्षेत्रका सबैले एक चरण राहत पाएको बताए । स्वदेश तथा विदेशबाट राहत आएको उहाँले जानकारी दिए। उनले भने, “कतिपयले मलाई पनि खबर गर्नुभयो, कतिपयले आफैँ राहत बाँडिरहेका  छन् ।”

    बिबिसी र नेपाल टेलिभिजनमा कार्यरत पत्रकार ईश्वर जोशीले राप्ती नगरपालिकाको कोराकको पीडा सुनाएपछि त्यस क्षेत्रमा पनि दाताहरुले राहत बाँडिरहेका छन् । जिल्लाका पुराना पत्रकार जोशी अप्ठ्यारोको बेला यसअघि पनि धेरै पटक समाचार आएपछि चेपाङ बस्तीमा राहत मिलेको सुनाए ।

    चेपाङ समुदायको नभए पनि चेपाङलाई भन्दा बढी जानकारी राख्ने केपीकिरण शर्मा एउटा महत्वपूर्ण अभियानकर्मी छन्। रत्ननगरमा गामबेसीको चेपाङ संरक्षण केन्द्र सञ्चालन गर्दै आएका शर्माले हाल १६५ चेपाङ बालबालिकालाई निःशुल्क पालनपोषण र शिक्षादीक्षा दिलाउँदै आएका छन् । धेरै पत्रकार उनिसँगै गाउँ उक्लने गर्दछन् । चेपाङ बस्तीको भूगोलदेखि घरपरिवारका बारेमा उनलाई जानकारी छ ।

    उनले भने, “पत्रकारकै समाचारका कारण यो सङ्कटमा चेपाङ गाउँमा चुल्हो बल्यो ।” गत वर्ष कोभिड देखिएयता आफूमार्फत् १८ हजार परिवारलाई राहत बाँडिएको उनले बताए । कतिपयले एक पटक त कतिपयले धेरै पटक राहत बाँडेको उनको भनाइ छ । अधिकांशले ३० किलोको एक बोरा चामल, दुई किलो दाल, पाँच पोका मस्यौरा, दुई पोका तेल र एक पोका नुनको राहत प्याकेज लाने गर्दछन् । कसैकसैले भने यसमा अरु थप गरेर पनि बाँडेको उनको भनाइ छ । योभन्दा कम राहत बाँड्न शर्माले दिएन् । जिल्लाका अरु पनि धेरै पत्रकारले चेपाङका पीडा लेख्ने गर्दछन् । यसबाट उनीहरुको चुल्हो बाल्न सघाएको छ ।

    नेपाल चेपाङ सङ्घका शिक्षा विभाग संयोजक तिलक चेपाङको भनाइमा नेपालका चेपाङ समुदायलाई यतिबेला निकै सङ्कट छ । देशभर चेपाङको ६८ हजारभन्दा बढी जनसङ्ख्या छ । तीमध्ये ३८ प्रतिशत चितवनमा छन् । सैँतीस प्रतिशत मकवानपुरमा, १९ प्रतिशत धादिङमा, छ प्रतिशत गोरखामा तथा तनहुँ, लम्जुङ, बाँके र बर्दियामा न्यून सङ्ख्यामा चेपाङ रहेको उहाँको भनाइ छ । दुई प्रतिशतलाई मात्रै वर्षैभरि खान पुग्ने भन्दै उनले विगतका वर्षमा भन्दा यस वर्ष अनिकाल बढेको बताए। ज्याला मजदुरी, डोको नाम्लो केही काम गर्न नपाएपछि चेपाङ अनिकालमा परेको उनको भनाइ छ ।

    भदौ लागेपछि घैया र मकै खान पाउने भन्दै उहाँले यस वर्ष मकैमा फौजी किरा देखिएकाले चेपाङ समुदाय चिन्तित बनेको बताउनुभयो । भदौ २२ गते न्वाई खाएपछि घैया खान मिल्ने उनले बताए । असी प्रतिशत चेपाङको आफ्नो लालपूर्जा छैन भने ३० प्रतिशतको नागरिकता पनि छैन । पत्रकारले समाचार लेखेपछि चेपाङले राहत पाएको भन्दै उनले सङ्घीय, प्रदेश र स्थानीय सरकारले नहेरेको गुनासो गर्नुभयो । सरकारले २०७४ सालमा चेपाङ विकास कार्यक्रमसमेत खारेज गरेको उहाँले बताउनुभयो । उनले भने, “चेपाङहरुको यो दर्दनाक अवस्थाको बारेमा राज्यले ध्यान दिएन ।”

    जिल्लामा कालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाको पहाडी भूभागमा चेपाङ समुदायको बसोबास छ । इच्छाकामना प्रमुख गीता गुरुङ पत्रकारका कलमले धेरैलाई राहत मिल्ने गरेको बताए । उनीहरुका पीडा समाचारमा आएपछि स्वदेश र विदेशमा रहेका दाताहरुले सहयोग गर्ने गरेको उनको भनाइ छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार