• जीवनशैली | Jiwanshaili
  • कमलरी मुक्त घोषणाको ८ वर्ष पुरा, अझै लुकीछिपी कमलरी प्रथा कायमै


    काठमाडौं । नेपाल सरकारले नेपाललाई कमलरी मुक्त घोषणा गरेको ८ वर्र्ष पुरा भएको छ ।

    तत्कालिन सरकारले २०७० असार १३ गते कमलरी मुक्त घोषणा गरेपछि असार १३ गतेलाई कमलरी मुक्ति दिवसको रुपमा मनाउन थालिएको छ । सरकारले कमलरी मुक्त घोषणा गरेकाआठ वर्ष पुगेपनि मुक्त कमलरीहरुको आर्थिक सामाजिक जीवन स्तरमा सुधार भने आउन सकेको छैन ।

    पश्चिम नेपालको थारु समुदायका युवतीहरु अरुको घरमा न्यून ज्यालामा काम गर्न बाध्य पारिदै आएका छन् । सरकारले मुक्त घोषणा गरेपनि अझै लुकीछिपी कमलरी प्रथा कायमै राखिएको छ । काठमाडौं उपत्यकामा अझै संयौंका संख्यामा थारु चेलीहरु कमलरी जीवन व्यतित गरिरहेका बताइन्छ । पश्चिम नेपालको दाङ, बाँके, वर्दिया, कैलाली, कञ्चनपुर सुर्खेत गरी यी छ जिल्लाका थारु चेलीहरु कमलरी जीवन व्यतित गर्न बाध्य रहेको देखिएको छ ।

    गरिबी र अभावका कारण थारु चेलीहरु दासदासी जीवन बाँच्न बाध्य रहेको ती समुदायका मानिसहरुको बुझाई छ । चेलीबेटीहरुलाई विद्यालय पढाईदिने र नोकरी लगाइदिने लोभ देखाएर धनी परिवारले गरिब परिवारका सदस्यहरुलाई कमलरी बनाउँदै आएका छन् । अभिभावकलाई फकाई फुल्याई आफ्नो घरमा ल्याएपछि घरको काममा जोताउने र थारु चेली ठूली भएपछि यौन शोषणसमेत गरेको देखिन्छ । ०६९ चैत १४ गते काठमाडौंको लाजिम्पाटस्थित एक घरमा १२ वर्षिया कमलरी सिर्जना चौधरीको शरीरमा आगो लगाई हत्या भएको थियो ।

    शोषण हुनथालेपछि कमलरी स्वयम् आन्दोलित भएका थिए । थारु कल्याणकारिणीसभा, गैरसरकारी संघ संस्थाको अगुवाईमा आन्दोलन हुनथालेपछि तत्त्कालिन सरकारले कमलरी मुक्त घोषणा गरेको थियो । तर उचित व्यवस्थापन नहुँदा अहिलेपनि मुक्त कमलरीको अवस्था नाजुक रहेको छ । सरकारले मुक्त घोषणा गरेपछि अब कसैका चेलीलाई न्यूनज्याला वा प्रलोभनमा पारेर कमलरी बनाउन नमिल्ने कानुनी व्यवस्था छ ।

     


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार