• जीवनशैली | Jiwanshaili
  • बालबालिकाको विकासमा अभिभावकको भूमिका


    काठमाडौं । बालबालिकाको विकासमा अभिभावकको सबैभन्दा महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

    बालबालिका जुन वातावरणमा हुर्कन्छन्, उनीहरुले त्यही प्रकारको कुरा र व्यवहार सिक्छन् । कहिलेकाहीँ अभिभावकहरुले जानी–नजानी गरेका गल्तिको नराम्रो असर बालबालिकामा पर्छ । जसमा आमा–बुबाको आपसमा तालमेल नहुनु र भाषाको स्तरमा कुनै सन्तुलन नभएर घरमा तनाव हुनु प्रमुख रहेको छ ।

    कसरी बन्ने असल अभिभावक ?

    आदर्श व्यक्तित्व

    बालबालिका ठूला मानिसबाट सजिलै प्रभावित हुन्छन् । यदि अभिभावक घरमा मोबाइल धेरै समयसम्म चलाउनुहुन्छ भने बालबालिका पनि त्यही सिक्न थाल्छन्। अभिभावक नराम्रो बोल्नुहुन्छ भने उनीहरू पनि त्यस्तै बोल्न थाल्छन्। तसर्थ, बालबालिकाको असल आचरण विकासको लागि अभिभावक आफैंले आशातीत आचरण प्रदर्शन गर्नुपर्छ।

    समय निकाल्ने

    बालबालिकालाई गरिने सबैभन्दा ठूलो खर्च उनीहरूलाई दिइने समय हो । बालबालिकालार्ई दिइने थोरै समयले पनि उनीहरूको सर्वांगिण विकासमा महत्वपूर्ण भूमिका खेल्छ । जति नै व्यस्त भए पनि दैनिक रूपमा केही समय बालबालिकासँगै पढ्ने, उनीहरूले पढेका कुरा सोध्ने, चासो दिने, गृहकार्य गर्न सघाउने वा प्रोत्साहन गर्ने जस्ता कार्यहरू गर्नु असल अभिभावकको कर्तव्य हो ।

    उपयुक्त वातावरणको सिर्जना

    बालबालिकाको पढाइमा घरको वातावरणले पनि असर गर्छ । ठूलो स्वरमा धेरैबेरसम्म गफ गर्ने, टीभी हेर्ने बाबुआमाको बानीले बालबालिकालाई पढाइमा केन्द्रित हुन गाह्रो पर्न सक्छ । तसर्थ, पढ्नको लागि शान्त र ध्यान केन्द्रित गर्न सक्ने वातावरण सिर्जना गर्नु असल अभिभावकको गुण हो ।

    निर्माणात्मक आलोचना

    आलोचना मन नपर्ने मानवीय गुण हो । बालबालिकालाई अरूसँग तुलना गर्दै आलोचना गरियो भने उनीहरूमा नैराश्यता पैदा हुन गई गलत दिशातिर लाग्ने डर हुन्छ । त्यसैले, बालबालिकालाई आलोचना गर्दा मनोवैज्ञानिक रूपमा असर नगर्ने गरी गरिनुपर्छ ।

    प्रोत्साहन

    राम्रो कामको लागि पुरस्कार दिएर प्रोत्साहन गर्ने गरिएमा बालबालिकालाई राम्रो काम गर्न ऊर्जा मिल्छ ।

    शिक्षक र विद्यालयसँग निरन्तर सम्पर्क

    अभिभावकको शिक्षक र विद्यालयसँग हुने निरन्तर सम्पर्कले बालबालिकाको एउटा असल पहरेदारको भूमिका निर्वाह गर्छ । फलस्वरूप, उनीहरू कर्मपथबाट विचलित हुन पाउँदैनन्।

    खुला छलफल

    अध्ययन अनुसन्धानले बालबालिकाको इच्छा, रुचि र समस्याको बारेमा खुलेर छलफल गर्ने अभिभावकको बालबालिका बढी सफल भएको देखाउँछ । त्यसैले बालबालिकाको इच्छा, रुचि र समस्याको बारेमा खुलेर छलफल गर्नु असल अभिभावकत्व हो ।

    पढाइलाई उच्च प्राथमिकता

    कतिपय अभिभावक सानोसानो काममा पनि आफ्ना बालबालिकाको विद्यालय छटाउने गर्छन् । बिदापछि स्कुल खुलेको दिन त ‘पढाइ नै हुँदैन, किन स्कुल जानू ? ’ भन्ने अभिभावक पनि थुप्रै छन् । यसो गर्दा बालबालिकाको पाठ छुट्छ र विस्तारै पढाइमा कमजोर हुन पुग्छन् । तसर्थ, विद्यालय अविछिन्न पठाउने वातावरण सिर्जना गर्नु असल अभिभावकको कर्तव्य हो ।

    अभिभावकको थुप्रै बानी व्यवहारले बालबालिकाको आचरण निर्माण र उनीहरूको शिक्षामा महत्वपुर्र्ण भूमिका खेल्छन् । असल अभिभावकको भूमिकाको जती नै चर्चा गरिए पनि यस्ता कयौं तौरतरिका हुन सक्छन् जसले बालबालिकाको सफल भविष्यको लागि उत्प्रेरकको काम गर्छन् । त्यसैले, अभिभावकले बालबालिकाप्रति आफ्नो दायित्व के के हुन सक्छन्, एकचोटी फरक ढंगले सोच्न आवश्यक छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार