• जीवनशैली | Jiwanshaili
  • चितवनमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु, तीन जना बेपत्ता


    चितवन । चितवनको राप्ती नगरपालिका १२ पर्खालमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ। अन्य तीन जना बेपत्ता भएका छन्।

    पहिरोले २ वटा घर र ४ जना मानिसलाई बगाएको जिल्ला प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए। बेपत्ता भएकामध्ये एक पुरूषको शव घटनास्थलभन्दा ५० मिटर तल फेला परेको उनले बताए। पहिरोले एउटा गोठ बगाएको र उक्त गोठमा रहेको १६ वटा गाई, गोरु, दर्जन बढी बाख्रा बगाएको जानकारी पाएको उनले बताए।

    त्यस्तै, बिहीबार दिउँसो २ बजेतिर कालिका ११ दानेटारका ५२ वर्षीय ज्ञानबहादुर चेपाङको पहिरोमा पुरिएर मृत्यु भएको छ। आफन्तको घर जाने क्रममा पहिरोमा पुरिएर बेपत्ता भएका उनको शव पहिरो झरेको स्थानबाट १ किलोमिटर तल घैयावारी भन्ने स्थानको खोलाको छेउमा फेला परेको थापाले बताए।

    राप्ती–९ रसौली स्थित लदरी खोलामा एक्कासि पानीको बहाव बढेपछि केही घर, कटेज र चौपाया बगाएको छ। त्यसैगरी, राप्ती–९ लालपुरकी ४५ वर्षीया बिजुलीमाया श्रेष्ठको चट्याङ लागेर मृत्यु भएको छ। आफ्नै घर नजिक रहेको खेतमा धान रोप्न जाने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि भरतपुरतर्फ ल्याउने क्रममा बाटोमा मृत्यु भएको थियो।

    लगातारको वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्ड पनि अवरूद्ध छ। उक्त सडकखण्डको केराबारीमा पहिरो खसेपछि सडक अवरूद्ध भइरहेको डिएसपी थापाले जानकारी दिए। दुइटा डोजर प्रयोग गरेर पहिरो पन्छाउने प्रयास भइरहेको उनले बताए।

    यो सडकखण्डमा बिहानैदेखि विभिन्न स्थानमा पहिरो झरिरहेको छ। चारकिलो र पाँचकिलोमा झरेको पहिरो पन्छाएको केही समयमा केराबारीमा पहिरो खसेको हो।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार