सामाजिक सुरक्षा भत्ताबाट वञ्चित ज्येष्ठ नागरिकको पीडा
कञ्चनपुर- कृष्णपुर नगरपालिका–२ बाणिका आशाराम (असिराम) डगौरा सय वर्ष पूरा हुनै लाग्नुभएको छ । सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिकलाई उपलब्ध हुने भत्ताको रकम उहाँले थाप्न पाउनु भएको छैन ।
नागरिकताको प्रतिलिपि नगरपालिकामा पेश गर्न नसक्दा उहाँले भत्ताको रकम पाउनबाट वञ्चित हुनुपरेको हो । धेरै पटक सामाजिक सुरक्षा भत्ताका लागि उनले निवदेन नदिएका भने होइन । नागरिकतानै नभए भत्ताका लागि सिफारिस गर्न सकिँदैन भनेर उहाँलाई फिर्ता गरियो ।
कैलालीको उदासिपुरमा जमिन्दारको घरमा कमैया बस्दा पञ्चायतकालमै उनले नागरिकता बनाउनु भएको थियो । विसं २०६४ मा आएको दोदा नदीको बाढी बस्तीमा छिरेर घरको सामानसँगै उनको नागरिकता राखेको झोला बगाएर लगेको थियो ।
“बाढीले नागरिकतासहितको झोला बगाएपछि नदीको बस्तीमा छिरेको पानी घटेपछि निकै खोजबिन गर्दा भेटेनौं”, उनले भने,“नयाँ प्रतिलिपि लिनका लागि सिफारिस बनाउन उदासीपुर पुगेर कार्यालयमा दौडधुप गर्ने क्षमता नहुँदा बनाउन पाएका छैनौँ । पुरानो गाउँविकास समितिको कार्यालय अब रहेन भन्छन् । कार्यालयमा गएर नागरिकताका लागि पहल गरिदिने कोही छैन ।”
आफू भन्दा कम उमेर भएका व्यक्तिले मासिक रुपमा नगरपालिकाबाट भत्ताको रकम थाप्दै आएका छन् । उनले भने, “कागजात जुटाउन नसक्दा भत्ता पाउनबाट वञ्चित भएको छु । हामी जस्तालाई कसैले हेर्दैनन्”, उहाँले भन्नुभयो, “भत्ताको रकम पाए परिवारको मुख ताक्नुपर्ने थिएन । अरुकै सहारामा बाच्नुपर्ने अवस्था छ ।”
डगौराले जीवनका ऊर्जावान समय कमैया बसेर बिताए । कमैया छँदै विवाह गरेका उनको श्रीमतीले संसार छाडेको धेरै भइसकेको छ । कमैया मुक्तिको घोषणासँगै २०५७ सालमा सरकारले पुनःस्थापन गराउँदा दिएको पाँच कट्टा जग्गामा छोराका परिवारसँगै उनि बस्दै आएका छन् ।
डगौराका छोराको स्थायी रोजगारी छैन । परिवार पाल्ने एउटै माध्यम भनेको मजदूरी हो । परिवारका सबै जनाले मजदूरी गरेर ल्याएको पैसाले घरखर्च धानिदै आएको छ ।
दाङमा जमिन्दारको दमन सहन नसक्ने अवस्था भएपछि वर्षैँ पहिले बुबा आमासँगै आशाराम तीन वर्षको हुँदा पश्चिमको तराई झरेका हुन । पुख्र्यौली थातथलो छाडेर तराई झर्दा दुई वटा टोकरी काँधमा बोकेर श्रीमती र छोराछोरीसहित उहाँका बुबा तराइ झरेका थिए ।
दाङबाट कैलाली झरेपछि १५ वर्षको उमेरमै जमिन्दारको घरमा बुबासँगै उनि कमैया बसे । उनले ६० वर्षको उमेरसम्म कमैया बसेर काम गरे । कमैया बस्दा १० किलो धानको बीउ लाग्ने खेत कमाउनका लागि दिने गरिन्थ्यो । त्यसबाटै परिवारको गुजारा चल्थ्यो ।
खर्चका लागि जमिन्दारबाट रकम मागे सौकी(ऋण)का रुपमा रकम जम्मा हुँदै जान्थ्यो । त्यो तिर्न नसकेपछि वर्षौसम्म एकै जमिन्दारको घरमा कमैया भएर बस्नु पर्दथ्यो । वर्षेनी ऋण थपिँदै जान्थ्यो । “ऋण तिर्न सामथ्र्य हुने कुरै थिएन”, उनले भने, “ब्याजमा समेत काम गर्नुपर्दथ्यो । पुरुषले हलो जोत्ने र महिलाले जमिन्दारको घरको काम गर्नुपर्दथ्यो ।” काम गर्दै आएको जमिन्दारको घरमा काम गर्न मन नलागे अर्को जमिन्दारलाई गुहार्नु पर्दथ्यो । ऋणबापत लिएको रकम (सौंकी) उनैले तिर्दथे ।
सो ऋणमा अर्को जमिन्दारको घरमा काम गर्नका लागि बस्नु पर्दथ्यो”, उनले अगाडि कुरा बढाउँदै भने, “पहिले बुबा कमैया बसेँ, त्यसपछि म बसेँ त्यसपछि केही वर्ष छोरा पनि कमैया बसेका हुन । तीन पुस्ता कमैयामै बिताएका छौं ।”
उनले एउटै जमिन्दारको घरमा १२ वर्षदेखि छ वर्षसम्म बिताए । तत्कालीन देखतभूली गाविसको जाइमा कमैया बसेकै बेला उनले सरकारले गरेको मुक्तिको घोषणासँगै मुक्त भएका हुन् ।
विगतका दिन सम्झिँदा उहाँ निन्द्राबाट बिउझिएझै लाग्ने गरेको बताए । उनले भने,“पूरै जीवन अर्काको घरमा कमैया बसेर बिताएँ ।” कमैंया मुक्तिको घोषणासँगै घर जग्गा र रोजगारी पाउने आशा थियो । “घर जग्गा त मिल्यो । रोजगारी पाइएन । सरकारले ज्येष्ठ नागरिकलाई दिँदै आएको भत्ताको रकमसमेत पाउन सकेन”, उनले सुनाए ।
दुःखपछि सुख आउछ भन्थे दुःखीको भाग्यमा सधैँ दुखनै लेखेको हुने रैछ । “सुख जीवनमा कहिल्यै आएन”, उनले भने । सरकाले कमैयाबाटमुक्त गरेर अलपत्र छाडेपछि जीवन चलाउन मुस्किल भएको छ । युवालाई रोजगारीको व्यवस्था गरी आत्मनिर्भर बनाउनका लागि कार्य अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।
नगरपालिका कार्यालयले मुक्तकमैया परिवार पुनःस्थापन गराइँदा पाएको जग्गाको मालपोतबापत लाग्ने रकम भने मिनाहा गरेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस