सर्पले टोकेमा के गर्ने के नगर्ने ?
काठमाडौं । वर्षायामसँगै तराई क्षेत्रमा सर्पदंशका बिरामी बढ्ने गरेका छन्।
समयमै उपचार नपाउँदा सर्पले टोकेका कतिपय बिरामीको मृत्यु समेत हुने गरेको छ। सर्पले टोकेका धेरै बिरामी अस्पताल नै नपुगी मर्ने भएकोले सर्पदंशबाट वर्षमा कति जनाले मृत्युवरण गर्छन् भन्ने वास्तविक तथ्यांक पाउन गाह्रो छ। नेपालमा पाइने इलापिडे प्रजातिका कोब्रा, करेत, क्रोअल र भाइपरडे प्रजातिका पिट भाइपर, रुसेल्स भाइपर सर्प विषालु मानिन्छन्।
इलापिडे प्रजातिको सर्पको टोकाइपछि शरीरको संवेदना दिने नशाहरुमा असर देखाउँछ भने भाइपरडे प्रजातिको सर्पको टोकाइपछि शरीरको रगत जम्ने क्षमतामा कमी भई आन्तरिक रक्तस्रावमा असर देखाउँछ। सर्पले टोकेपछि समयमा अस्पताल पुर्योउन नसक्दा धेरैजसो बिरामीको मृत्यु भएको देखिन्छ। यातायातको असुविधा, नजिक अस्पताल नहुनु, भए पनि सर्पको टोकाइको उपचार सबै ठाउँमा नहुनु आदि कुराले पनि मृत्यु हुनेको संख्या बढेको छ।
साथै राजमार्गबाट धेरै टाढा बस्ती हुनु, एम्बुलेन्स भनेको बेला उपलब्ध नहुनु आदि कारणले पनि यो समस्या जटिल बन्दै गएको छ। कुखुरालाई विष थुताउने, टोकेको ठाउँमा डोरीले कस्ने, ब्लेड तथा धरिलो हतियारले काट्ने आदि चलनले पनि मृत्यु हुनेको संख्या बढाउनुको साथै जोखिम बढाएको छ।कुखुरालाई विष थुताउँदा बिरामीको तत्काल मृत्यु हुने, टोकेको ठाउँमा डोरीले कस्दा रक्तसञ्चार राम्रोसँग हुन नपाएर टोकेको अंग नै मरेर कालो हुने अथवा काट्नुपर्नेसम्मको अवस्था आउन सक्छ। त्यस्तै ब्लेड तथा धारिलो हतियारले काट्दा टिटानस हुने खतरा हुन्छ।
सर्पले टोक्दा के गर्ने, के नगर्ने ?
– टोकेको ठाँउमा हलचल नहुनेगरी राख्ने
– जति सक्यो छिटो अस्पताल पुर्याउने
– मुखबाट केही नखाने
– नआत्तिने, बिरामीको मान्छेले बिरामीलाई सान्त्वना दिने
– टोकेको ठाँउमा डोरी वा अन्य कुनै पनि वस्तुले नबाँध्ने
– विष तान्न कुखुरा वा अन्य कुनै पनि प्राणीको प्रयोग नगर्ने
– कुनै पनि धारिलो हतियार प्रयोग गरी टोकेको ठाउँ काट्ने काम नगर्ने
विष लागेका लक्षण
– आँखा धमिलो हुनु
– आँखाको ढकनी तल लत्रिनु
– थुक निल्न गाह्रो हुनु
– श्वास लिन गाह्रो हुनु
– पेट दुख्नु
– उल्टी आउनु
– शरीरको कुनै पनि ठाउँबाट रक्तस्राव हुनु
वर्षा याममा इमर्जेन्सीमा आउने बिरामीहरुले एक्कासि पेट दुख्यो वा एक्कासि ज्यान दुख्यो भनेर सिकायत गरेमा कतै सर्पले त टोकेन भनेर सोच्नुपर्ने हुन्छ। प्राय रातीको समयमा करेत सर्पले टोक्ने गर्छ र मान्छेलाई थाहा नै हुँदैन। यस्ता बिरामी एक्कासि अस्पताल आउने गर्छन्। सबै सर्प विषालु हुँदैनन् र विषालु सर्पले टोक्यो भन्दैमा विष लागिहाल्छ भन्ने पनि हुँदैन। विष लागेको यकिन भइसकेपश्चात् मात्र त्यसको विरुद्ध एन्टी स्नेक भेनम चलाइन्छ।
उपयुक्त समयमा विष लागेको लक्षण पत्ता लगाउने, समयमै औषधि पाउने हो भने सर्पको टोकाइबाट हुने मृत्युबाट बच्न सकिन्छ। सर्पको टोकाइबाट बच्न प्रयोग गरिने औषधि भारतबाट आउने र बेला बेलामा आपूर्ति अनियमित हुने हुँदा पनि यसप्रति सम्बन्धित निकायको चासो जानुपर्ने देखिन्छ साथै यो औषधि घोडाको शरीरबाट निकालिएको विभिन्न रसायनबाट बनाइने हुँदा भारतमा पशु अधिकारकर्मीहरुले जीवजन्तु मार्न पाइँदैन भनी आवाज उठाउँदै आएको पनि पाइन्छ। यसले गर्दा बेला बेलामा औषधि आपूर्तिमा असर पुग्छ। यसप्रति पनि नेपाल सरकारको ध्यान जानु जरुरी देखिन्छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस