८५ घर भत्किए
यस वर्षको मनसुन शुरु भएयताको बाढी, पहिरो र कटानले म्याग्दीमा ८३ घर भत्किएका छन् । थप १२ घरमा आंशिक क्षति, १४४ घर उच्च र ७३ घर कम जोखिममा परेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलका अनुसार बाढी पहिरोले दुई जनाको मृत्यु र छ जना घाइते भएका छन् ।
पहिरोले घर क्षति भएकामध्ये ५८ परिवारलाई जिल्ला प्रशासन कार्यालयले रु नौ लाख ६० हजार र मृतक दुई जनाका परिवारलाई रु तीन लाख राहत उपलब्ध गराएको छ । पाँच जनासम्म सदस्य भएका परिवारलाई रु १५ हजार र पाँच जनाभन्दा बढी सङ्ख्यामा सदस्य भएका परिवारलाई रु २० हजारका दरले राहत वितरण गरिएको सहायक प्रजिअ पौडेलले बताए ।
पहिरोबाट घर भत्किएका तथा जोखिममा परेर विस्थापित भएका आफन्तको घर र सामुदायिक भवन तथा सामूहिक टहरा बनाएर बसेका छन् । अन्नपूर्ण गाउँपालिकाको धोस्केखोर, रघुगङ्गाको बेग, बेनीको सिंगा तातोपानी, मङ्गलाको अर्मन, मालिकाको रुम र धौलागिरिको खोरियामा पहिरोले क्षति पुगेको छ । गत वर्षको बर्खामा भत्किएका घर पुनःनिर्माणका लागि पर्याप्त बजेट नआउँदा प्रभावित भएको छ । गत वर्ष पहिरोले म्याग्दीमा २४७ घर भत्किएकामध्ये म्याग्दी प्रवासी नेपाली सङ्घ मोनाले ४० वटा घर बनाएको छ ।
सरकारले पहिरोले भत्किएका हिमाली जिल्लाका घर बनाउन प्रतिघर रु पाँच लाखका दरले अनुदान दिने निर्णय गरेको थियो । निर्णयानुसार आवश्यक बजेट व्यवस्थापन नगर्दा सबै पहिरो पीडितले निजी आवास पुनःनिर्माणका लागि पहिलो किस्ताको पनि अनुदान पाएका छैनन् । वैशाख अन्तिम साता रु एक करोड आठ लाख ९७ हजार ५०० पठाएको गृहमन्त्रालयले असारमा थप रु ३६ लाख ३२ हजार ५०० पठाएको थियो । मोनाले बनाएकाबाहेकका घरका लागि रु १० करोड बजेट माग गरिएको थियो ।
सङ्घ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा घर बनाउने कार्यविधि भए पनि सङ्घ र प्रदेशले बजेट नपठाएकाले पुनःनिर्माण प्रभावित भएको स्थानीय तहका पदाधिकारीले बताएका छन् । धौलागिरि गाउँपालिकाको मराङ, मालिकाको बिम, देवीस्थान, रघुगङ्गाको भगवती र अन्नपूर्णको फगाममा पहिरोले क्षति गरेको थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस