बगरफाँटमा १५ दिनदेखि खानेपानीको हाहाकार
म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा पहिराले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि १५ दिनदेखि खानेपानीको हाहाकार भएको छ ।
गत असार १७ गते मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा गएको बाढी तथा पहिराले मुहान र पाइप लाइन बगाइदिए पछि यहाँका २०८ घर परिवारलाई खानेपानीको समस्या भएको हो । गाउँमा रहेका २८ वटा धारामा पानी नआए पछि यहाँका बासिन्दा कुवा र म्याग्दी नदीको धमिलो पानी उमालेर पिउन बाध्य भएका बेनी नगरपालिका–२ बगरफाँटका टेकबहादुर कार्कीले बताउनुभयो । दुई सय १४ घरधुरी रहेको बगरफाँटमा १५ दिनदेखि खानेपानीको समस्या हुँदासमेत कुनै वैकल्पिक व्यवस्था हुन नसक्दा यहाँका बासिन्दा ठूलो समस्यामा परेका स्थानीयले बताएका छन् ।
विसं २०६९ मा बेनी नगरपालिका–३ भकिम्ली र बेनपा–२ ज्यामरुककोटको सिमानामा पर्ने कोप्रे खोलाको मुहानबाट पानी ल्याई बगरफाँटका २८ वटा धारामा वितरण गरिएको थियो । रु ५४ लाखको लागतमा बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाले योजना सम्पन्न गरी गाउँमा खानेपानीको सुविधा उपलब्ध गराएको थियो । त्यसपछि बर्सेनि बर्खाको समयमा बाढी र पहिरोले पाइप लाइनलाई क्षति पु¥याउँदा मर्मत गरी पानी सञ्चालन गर्ने गरिएकोमा यस वर्ष भने पाइप लाइन र मुहानलगायत सात ठाउँमा ठूलो पहिरो गएकाले सामान्य मर्मतले मात्र सम्भव नहुने र निरन्तर वर्षा भइरहेकाले मर्मत कार्य गर्न नसकिएको बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष कृष्णबहादुर कार्कीले बताए ।
अध्यक्ष कार्कीका अनुसार अझै केही दिनसम्म समस्या यथावत रहने र वर्षा रोकिएपछि मर्मत कार्य अघि बढाइने छ । खानेपानीको समस्याका कारण बगरफाँटको २१४ घरधुरीका एक हजार २०० भन्दा बढी जनता प्रत्यक्षरुपमा प्रभावित भएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस