यो वर्षको मनसुनमा बाढीपहिरोबाट ६३ जनाको मृत्यु, ३६ जना बेपत्ता
काठमाडौं । यो वर्षको मनसुनमा बाढी पहिरोका कारण सिन्धुपाल्चोक, मनाङ, बाजुरालगायतका ४७ वटा जिल्ला प्रभावित भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज एक कार्यक्रमको आयोजना गर्दै बाढी पहिरोका कारण हालसम्म ६३ जनाको मृत्यु भएको जानकारी दिएको छ । यस्तै, बाढी पहिरोबाट ५ सय ७२ वटा घर पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन् भने, १५५ घरमा आंशिक क्षति भएको छ । प्राधिकरणको तथ्यांकअनुसार मनसुनजन्य विपद्का कारण अझै ३६ जना बेपत्ता छन् भने ६७ जना घाइते भएका छन् ।
यस वर्षको मनसुनबाट ३७ वटा सरकारी कार्यालय, १३ वटा सामुदायिक भवन र विद्यालय, २५ वटा जलविद्युत् आयोजना २६ वटा पुल तथा सडकमा क्षति पुगेको छ । त्यस्तै क्षति भएको झोलुंगे पुलको संख्या २३ रहेको छ । प्राधिकरणको तथ्यांक अनुसार यो वर्ष हेलिकप्टरमार्फत २ सय ७५ र स्थलमार्फत ४३२ गरि ७ सय १० जनाको उद्धार गरिएको छ । सोही अवधिमा प्राधिकरणले ४ हजार ६०६ जनालाई सुरक्षित स्थलमा स्थानान्तरण गरेको छ ।
हाल सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र हेलम्बुका खोला किनारका १ सय ९३ घरमा भएको क्षतिको ड्रोन तथा स्थलगत सर्वेक्षणबाट क्षति र नोक्सानीको मूल्यांकन भइरहेको प्राधिकरणले जनाएको छ । त्योसँगै देशभर बाढी पहिरोबाट भएको भौतिक संरचनाको क्षति र नोक्सानीको मूल्यांकन गर्ने कार्य पनि जारी राखिएको छ ।
हालसम्म यो वर्षको मनसुनजन्य विपद्बाट क्षति भएका आठ जिल्लाका ५ सय ७३ घरपरिवारलाई अस्थायी आवास निर्माणका लागि २ करोड ८६ लाख ५० हजार रुपैयाँ असार मसान्तभित्र सबै जिल्लामा पठाइसकेको छ । त्यस्तैगरी गत वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका २२ जिल्लाका ४ हजार ९३७ निजी घर पुनर्निर्माणका लागि संघीय सरकारको तर्फबाट दिनुपर्ने पहिलो किस्तावापत २९ करोड ९९ लाख २६ हजार २५० रुपैयाँ पठाइसकेको पनि जानकारी गराएको छ ।
यो वर्ष सिन्धुपाल्चोक र मनाङ जिल्लामा सर्वाधिक क्षति पुगेको छ । जसकारण सरकारले दुवै जिल्लालाई असोज मसान्तसम्म संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । यसको आधारमा विपद् प्रभावित जिल्लामाका लागि विश्व बैंकले नेपाललाई थप २५ मिलियन डलर सहुलियतपूर्ण ऋण दिने प्राधिकरणले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस