१६५ चेपाङ बालबालिकालाई पालनपोषण र शिक्षा
चितवन / शिक्षा–दीक्षा र पालनपोषण महङ्गो हुँदै गएपछि धेरैले एक वा दुई सन्तान मात्रै जन्माउन थालेका छन् । बालबालिकालाई हुर्काउन, बढाउन र पढाउन निकै खर्चिलो हुँदै गएको छ । यस्तो परिवेशमा पनि यहाँका एक व्यक्तिले चेपाङ समुदायका १६५ बालबालिकालाई पाल्दै पढाउँदै गरिरहेका छन् ।
रत्ननगर नगरपालिका–१३ सुब्बाचोक निवासी केपीकिरण शर्माले सोही नगरपालिकाका वडा नं ११ मङ्गलपुरमा गामबेँसीको चेपाङ संरक्षण केन्द्र खोलेर बालबालिकालाई पालनपोषण र पढाउँदै आउनुभएको छ । चितवन, धादिङ र मकवानपुरका ग्रामीण क्षेत्रमा बसोबास गर्ने अतिविपन्न चेपाङ समुदायका बालबालिकालाई केन्द्र खोलेर उहाँले संरक्षकत्व दिँदै आएका हुन् ।
गोरखाको गण्डकी गाउँपालिका–५ मा विसं २०२८ साउन ११ गते जन्मिनुभएका शर्माको बाल्यकाल गाउँमै बिते पनि उच्च शिक्षा काठमाडौँको सरस्वती क्याम्पसबाट भयो । सोही क्याम्पसबाट स्नातक गरेपछि तीनमहिने पत्रकारिता तालिम लिनुभएका उनको आफ्नै कहानी छ । “तत्कालीन समयमा पत्रिकामा लेख्ने रहर जाग्यो”, उनले भने, “विसं २०५८ मा मैले कान्तिपुर पब्लिकेशनको गेटमा रहेको पत्रमन्जुषामा ५० वटा जति लेख छिराएँ तर एउटा पनि प्रकाशित भएन ।” साहै्र दुःख लागेपछि विदेश गएर पैसा कमाउने र यहाँ फर्किएर आफैँ पत्रिका खोल्ने जोश उनमा जाग्यो । त्यसलगत्तै विसं २०५९ मा दुबई पुगेका उनि छ वर्षको बसाइपछि नेपाल फर्किए।
दुबईको पैसाले घडेरी र घर मात्रै जोड्नु भएन पत्रिका प्रकाशनका लागि क्यामेरा, ल्यापटप, प्रोजेक्टरजस्ता उपकरण बोकेर विदेशबाट फर्किए । विसं २०६५ साउन १८ गते काठमाडौँ झर्नुभएका शर्मा भोलिपल्टै चितवन आए । उनकी श्रीमती अम्बिका खनाल चेपाङ गाउँमा पढाउने हुँदा घर आएको भोलिपल्ट क्यामेरा बोकेर पहाडी गाउँ सिद्धी उक्लिएको उनले बताए । एक दिनको त्यहाँको बसाइमा उनले धेरै तस्बीर लिए । ती सबै तस्बीर मन छुने खालका थिए । तस्बीर त लिए कहाँ प्रकाशित गर्ने छटपटी भयो ।
गाउँबाट फर्किएर दुई दिनभित्र उनले गामबेँसीको खबर नामक साप्ताहिक पत्रिका दर्ता गरे । सो पत्रिकामा चेपाङ बस्तीका दुःखका समाचार र तस्बीर प्रकाशित भए । साइकलमा आफआफैँले जिल्लाका शहरी क्षेत्रमा पत्रिका बाँडे । अलिअलि विज्ञापन उठ्यो । त्यसपछि उनले बचेको पैसाले ११ जना चेपाङ छात्रालाई रु एक हजार ५०० का दरले छात्रवृत्ति दिए । त्यसको दुई वर्षपछि विसं २०६८ मा छात्रवृत्ति पाएकालाई भेट्न जाँदा केही परिवर्तन भएको उनले पाएन ।
“श्रीमतीसँग अब म परिवारको आश पनि गर्दिनँ, मैले कमाएर दिन पनि सक्दिनँ भनेर चेपाङ संरक्षण अभियानमा लागेँ”, शर्माले शुरुआती दिनको स्मरण गर्दै भने । त्यही गाउँ बस्तीबाट २५ बालबालिका लिएर उनि शहर झरे । विसं २०६८ को वैशाखमा हालको कालिका नगरपालिकाको खोलेसिमलमा रहेको विन्देश्वरी माविमा ती बालबालिकालाई छात्राबासमा राखे । त्यसैबेला कान्तिपुरका पत्रकार विमल खतिवडासँगै सङ्गत भयो । शर्मासँगै पहाड उक्लिएका खतिवडाले बन्दीपुरे चेपाङको कथा लेखे । शर्माले भने, “यो कथा कान्तिपुरमा आएपछि तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराई रात बिताउन चेपाङको घर आए ।” त्यतिबेला शर्माले त्यहाँको कथा, व्यथा, पीडा सबै प्रधानमन्त्री भट्टराईलाई सुनाउने अवसर पाए ।
त्यसपछि प्रधानमन्त्री भट्टराईले बाख्रापालनका लागि रु ९० लाख बजेटको व्यवस्था गर्नुभयो । त्यसमा हेफर, सपना भिलेजलगायतका संस्थाले थप सहयोग गरे । शर्माले विगत सम्झँदै भने, “गएको दशैँमा म त्यो गाउँ पुग्दा रु आठ करोड ५० लाखको खसी बोका बिक्री भएभन्दा खुशी लाग्यो ।”
छात्राबासमा पढिरहेका बच्चाका बारेमा समाचार आएपछि सिप्रदी सहायता संस्थाले स्नातकसम्म पढाउने व्यवस्था ग¥यो । यससँगै शर्मा अन्य बालबालिकाको संरक्षणमा जुटे । विसं २०६९ मङ्सिरमा उनले जिल्लाको पहाडी गाउँ कोराक, चण्डीभज्याङ, कविलास, काउले, लोथरलगायतका क्षेत्रबाट ५० बालबालिका ल्याए । रत्ननगरको जयमङ्गलामा मासिक रु आठ हजार ५०० भाडा तिरेर घर लिई ती बालबालिकाको पालनपोषण र पढाइ शुरु गरे । त्यतिबेलाको स्मरण गर्दै उहाँले भन्नुभयो, “छ महिनासम्म मैले बोरा बोकेर सहयोग जुटाएँ ।”
क्रमशः सहयोग जुट्दै गयो । बालबालिका थपिँदै गए । दुई वर्षपछि आफ्नै संरचना बनाउनुपर्छ भन्ने उनलाई लाग्यो । उनले भने, “मैले रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ‘कि ठाउँ दिनुहोस् नभए सबै बालबालिकालाई नगरपालिकाको गेटमा राख्छु भनेँ ।” त्यसपछि कार्यकारीले हाल केन्द्र रहेको नजिकै ठाउँ त देखाइदिए तर स्थानीयवासीले बस्न दिएनन् । त्यो थाहा पाइसकेपछि स्थानीय पञ्चवेदज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रामबहादुर मगरले स्कूल नजिकैको सार्वजनिक जग्गा व्यवस्था गरिदिए । सोही जग्गामा संरचना बनाउन शुरु भयो ।
तत्कालीन गैरआवासीय नेपाली सङ्घका अध्यक्ष जीवा लामिछानेको रु एक लाख सहयोगबाट थालिएको संरचना क्रमशः जापानमा रहनुभएका दीपक नेपालले जुटाइदिएको रु तीन लाख हुँदै विभिन्न दाताको सहयोगले संरचना बनेको छ । हालसम्म सबै संरचना निर्माण गर्दा रु दुई करोड ५० लाख खर्च भइसकेको छ । त्यहाँ १६५ बालबालिकालाई आवासीय सुविधा उपलब्ध छ । ती बालबालिका रत्ननगरका विभिन्न विद्यालयमा अध्ययनरत छन् । पछिल्लोपटक सौराहाका रामकुमार अर्यालको समन्वयमा जर्मनीमा बसोबास गर्नुहुने रामप्रताप थापाले रु ४० लाख खर्च गरेर छात्राबास बनाइदिनुभएको छ । थापाले दुई महिनासम्म ती बालबालिकाको सम्पूर्ण खर्चसमेत बेहोरे ।
पछिल्ला दिनहरु धेरै सहज भएको शर्मा बताए । उहाँले २० भन्दा बढी दाताहरु साँचेर राख्नुभएको छ । बच्चाले खान पाएनन् भने नारायणगढका बालगोपाल चुके, छाया श्रेष्ठ, रोटरी क्लब अफ नारायणगढजस्ता दाताहरु उनका छन् । गाउँमा खान र पढ्न नपाएका ती बालबालिकाले तातो बाफ उठाउँदै खाना खाँदा र राम्रो अङ्क ल्याएर कक्षा उत्तीर्ण हुँदा आनन्द आउने शर्मा बताए ।
चेपाङ बालबालिकाका संरक्षक शर्मालाई धेरैले चेपाङका ‘बा’ भनेर चिन्छन् । उनले खुशी हुँदै भने, “यहाँ बसेर पढेका आठ जेटिए, चार स्टाफनर्स, एक एचए र पाँच जना सिएमए बनेका छन् ।” एक जना सिभिल इञ्जीनियर पढ्दैछन् । सकेसम्म शुल्क मिनाहा गर्ने नसके शुल्कसमेत तिरेर दाता जुटाई उच्च शिक्षासम्म उहाँले पढाउँदै आएका छन् ।
दाताहरुसँग नगदभन्दा जिन्सी माग्ने उनको केन्द्रमा ठूला बालबालिकाले पालो मिलाएर आफैँ खाना पकाउँछन् । एकजना मात्रै सहयोगी रहेको उनले बताए । यो अभियानमा उनलाई चितवनका पत्रकारहरुको साथ छ । अभियानमा पत्रकार अखण्ड भण्डारी, दीपेन्द्र बडुवाल, विमल खतिवडा, शिशिर सिंखडा, अनिल ढकाल, होमनाथ सापकोटा, अनिता अर्याल, ध्रुवराज खनाल, रमेश रानालगायतले प्रत्यक्षरूपमा साथ दिएका छन् । यससँगै जिल्लाका अन्य पत्रकारको पनि सहयोग रहेको शर्माले बताए ।
चेपाङ बालबालिकाको पीडा राष्ट्रिय र स्थानीय सञ्चारमाध्यममा आएपछि सहयोग जुट्ने गरेको छ । शर्माको अभियानमा साथ दिँदै आउनुभएका पत्रकार सिंखडा पत्रकारहरुलाई पनि शर्माले चेपाङगाउँ पु¥याएर स्थापित गर्नमा सहयोग गर्दै आउनु भएको बताए । कालिका नगरपालिका निवासी सिंखडाले आफ्नो सम्पूर्ण जीवन चेपाङ बालबालिकाको हितमा शर्माले व्यतित गरेको बताए।
जिल्लाका चेपाङ बस्ती उक्लिँदा अधिकांश पत्रकारले शर्मालाई सँगै लिएर जाने गर्दछन् । अखबारहरुमा त्यहाँको पीडा लेखिएमा राहत पाउने आशमा शर्मा नियमितरूपमा पहाड उक्लिने गरे । सिंखडाले भने, “चेपाङका बालबालिका पढाउन सकियो भने उनीहरुको भविष्य अहिलेको पुस्ताजस्तो हुँदैन ।” तिनै बालबालिकाले आफ्नो परिवार र समाज परिवर्तन गर्न सक्ने सिंखडाको भनाइ छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस