गरे के हुन्न? गलैंचा बुनेर आत्मनिर्भर रुम्बा दम्पती
मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका ३ पाल्दमारका २८ वर्षीय कमल रुम्बा आफ्नो घरको पिढिंमा लगाइएको गलैँचाको तानमा गलैँचा बुन्नमा व्यस्त देखिन्थे । उनको श्रीमती सुन्तली रुम्बा पनि एउटै तानमा गलैँचाको धागो भरिरहेकी थिइन् । श्रीमान् श्रीमती मिलेर गलैँचा बुन्नमा निकै व्यस्त देखिन्थे रुम्बाका दम्पती ।
करिब ३ वर्षदेखि गलैँचा बुन्ने काम गर्दै आइरहेका उनीहरूले आफ्नो घर खर्च र बालबच्चाको पढाई खर्च गलैँचा बुनेकै रकमबाट पुर्याउँदै आएको रुम्बा बताउँछन् । ‘गलैँचा बनाएर काठमाण्डौं सम्म पुर्याउन पर्छ । तर त्यो काम भने हामीले गर्न पर्दैन । धागो ल्याइदिने, तयार भएको सामान लैजाने कामहरू गर्नको लागि मनहरी बजारको एक जना ठेकेदार छन् । सबै उहाँकै जिम्मेवारीमा, हामीले बुन्ने काम मात्रै गर्ने हौँ, कमलले भने ।
खेतीपातीको काम भएको समयमा खेतबारी कै कामहरू गर्ने र बिहान, बेलुका अथवा काम नभएको समयमा गलैँचा बुन्ने काम गरेर महिनाको १० देखि १२ हजार रुपेैंया सम्म सजिलै आम्दानी गर्ने गरेको रुम्बा दम्पतीले बताए । उनीहरूका २ जुम्ल्याहा छोरीहरू अहिले ४ वर्षका भए । उनीहरूलाई पढाउने खर्च समेत त्यसैबाट पुग्दै आएको कमलका श्रीमती सुन्तलीले बताइन् ।
‘घरमा यत्तिकै बस्नु भन्दा समय पनि छिटो बित्ने, घर खर्च पनि हुन्छ । यो काम गरौंन त भनेर दुवै जनाको सल्लाहमा गलैँचा बुन्न सुरु गरेका थियौँ । पहिले-पहिले नजान्दा त एउटा गलैँचा तयार पार्न निकै समय लाग्थ्यो । अहिले त बानी भइसक्यो । सजिलो पनि लाग्छ । अनि छिटो पनि हुन्छ । घर खर्च, नुन तेल सबै यही पैसाबाट पुगेको छ,’ सुन्तलीले भनिन् । रुम्बा दम्पतीका अनुसार कामको मात्रै चिन्ता भएको र धागो लगायतका सामानहरू सकियो भने जिम्मा लिएका ठेकेदारले सबै सामान घरमै ल्याइदिने व्यवस्था रहेको छ ।
ठुलो गलैँचा बुन्नको लागि २० देखि २५ दिन लाग्ने गरेको सुन्तलीले बताइन् । उक्त गलैँचा तयार बनाए वापत् १० देखि १२ हजार रुपैँया पारिश्रमिक पाउने गरेका छन् । त्यस्तै सानो चकटी तयार बनाउन ४ देखि ५ दिन लाग्ने र उक्त चकटी तयार बनाए बापत २८ सय रुपैँया देखि ३ हजार रुपैँया सम्म लिने गरेको रुम्बा दम्पतीले बताए । आफ्नो सामान नपर्ने मेहनत मात्रै पर्ने भएकोले धेरै दिन लागे पनि घाटा भने नहुनेमा उनीहरू ढुक्क देखिन्छन् ।
मनहरी बजारका ४० वर्षीय सुमन लामा गलैँचा बुनेर तयार भरसकेपछि काठमाण्डौं सम्म लगेर बुझाउनको लागि घर÷घरमा गलैँचा बटुल्न हिँड्ने गरेका छन् । काठमाण्डौं देखि गलैँचाका सामानहरू ल्याएर मनहरी बजारबाट वितरण गर्दै मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाका केही मानिसहरूलाई लामाले आत्मनिर्भर बनाउँदै आइरहेका छन् । घरमा यत्तिकै बसिरहने मानिसहरूलाई एकदमै उपयुक्त काम भएर पनि होला धेरै जनाले यो काम गर्न इच्छा देखाउनुहुन्छ, लामाले भने ।
विगत ४ वर्षदेखि काठमाण्डौंमा रहेको कारखानाहरूबाट धागो र आवश्यक सामाग्रीहरू ल्याएर गाउँका मानिसहरुलाई रोजगारी दिँदै आइरहेका लामा अब छिट्टै आफ्नै कारखाना खोलेर अझै व्यवस्थित तरिकाले सञ्चालन गर्ने योजना रहेको बताउँछन् । मनहरी बजार क्षेत्रमा गलैँचाको ठेकेदार भनेर चिनिने गरेका लामाको कारण दर्जनौँ मानिसहरूले रोजगारी पाएर खुसी भएका छन् ।
केही समय अघि सम्म राम्ररी चलिरहेको गलैँचा उत्पादन पछिल्लो समय भने कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको निषेधाज्ञा र लकडाउनका कारण आवश्यक सामाग्रीहरू समयमा नै ल्याउने र पुर्याउने गर्न नसक्दा समस्या परेको लामा बताउँछन् । काम गर्नेहरूले पनि सामान अभावका कारण अरू समयमा जसरी धेरै गलैँचा उत्पादन गर्न नसकेको बताउँदै, निषेधाज्ञाको समयमा अन्त काम गर्न जान नपाएको समयमा घरमै बसेर गर्ने काम पनि सोचे जति गर्न नसक्दा आर्थिक समस्याहरू भोग्नु परेको बताउँछन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस