भूमिहीनको समस्या नबुझ्ने सरकार
मकवानपुर/ सरकारले भूमि सम्बन्धि समस्या आयोग खारेज गरेसँगै भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित रुपमा बसोबास गर्दै आइरहेका मकवानपुरका नागरिकहरु आक्रोसित भएका छन् ।
जिल्लाको ५ वटा पालिकाको गरी कुल ४० हजार ४ सय ६९ भूमिहिन तथा अव्यवस्थित नागरिकहरुको पहिचान गरी असोज महिना सम्ममा पुर्जा वितरण गर्ने अन्तिम चरणमा पुगिसकेको भूमि सम्बन्धि समस्या आयोग मकवानपुरले तथ्यांक सार्वजनिक गरेको थियो ।
तर मन्त्रिपरिषद्को बैठकले आयोग नै खारेज गरेपछि जिल्लाका भूमिहिन तथा अव्यवस्थित नागरिकहरुको पूरा हुनै लागेको सपना पुनः एकपटक टुटेको बताउँदै हेटौंडाको बुद्धचोकमा सरकारको यो निर्णय विरुद्ध बिरोध प्रर्दशनको आयोजना भएको थियो ।
अखिल नेपाल किसान महासंघ जिल्ला कार्य समिति मकवानपुरको आयोजनामा भएको बिरोध कार्यक्रममा भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्दै आइरहेका दर्ननौं नागरिकहरुको उपस्थिती थियो ।
आफ्नो पीडा सरकारको कान सम्म पुगोस् भन्ने उदेश्यले गाउँ÷गाउँबाट आफ्नो आवाज राख्नको लागि बिरोध प्रर्दशन गर्न आएको प्रर्दशनमा उत्रिएका नागरिकहरुले बताए ।
पुर्जा बन्ने बेला भैसकेको अवस्थामा आफ्नो अधिकार गुमेको पीडालाई सरकारसामू पुर्याउनको लागि चर्काे घाममा हेटौंडाको तातो सडकमा पसिना निकाल्दै सोही भीडमा बसेर ६२ बर्षिय एक बृद्धा स्वरमा स्वर मिलाएर नारा लगाइरहेकी थिइन् ।
भूमि अधिकारको माग गर्दै सरकारको निर्णय बिरुद्ध नारा लगाउन बुद्धचोकमा हेटौंडा १० न्युरेनीबाट आएकी ६२ बर्षिय पुतली बस्नेत सरकारको यो निर्णयले आफुलाई अहिले दिनमा भोक न रातमा निन्द्रा भएको बताइन् । दशौं बर्षदेखि भूमिहिन भएर बसिरहेको अवस्थामा सरकारले भूमि दिलाउँछ भन्ने आशामा बस्दा एक्कासी निराशा थपिएको कारण चिन्ता लागेको बस्नेत बताउँछिन् ।
नापजाँच गर्ने टोलीहरु गएर नापजाँच सबै भैसकेको थियो । बर्षौ देखि भोगचलन गरेर बस्दा पनि आफ्नो नाममा ल्याएर बस्न नसकिएको अवस्थामा सरकारले आश देखाएको थियो । पुर्जा पाउने बेला हुनै लाग्दा यो काम गर्ने के जाती नामको संस्था नै खारेज गरिदियो । अब जग्गा आफ्नो नाममा ल्याउन मिल्दैन भन्ने हल्ला सुनेँ । त्यो सुनेदेखि निकै नरमाइलो लागेको छ । गरिब जनताको लागि बनेको सरकार हैन रहेछ भन्ने प्रष्ट भएको छ । जसरी भएपनि हामी सुकुम्बासीलाई पनि बासको व्यवस्था गरिदिए जाती हुन्थ्यो, बस्नेतले भनिन् ।
त्यस्तै मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ डुम्रेकुनाबाट बिरोध प्रर्दशनमा आएका ४१ ब्र्षिय प्रदिप स्याङ्तान आफुले भोगचलन गर्दै आइरहेको ऐलानी जग्गाको नापजाँच गरेर पुर्जा पाउने समयमा सरकारले घात गरेको प्रति पिडा बोध भएको बताउँछन् । अहिले प्रधनमन्त्री फेरिने बित्तिकै नियमहरु पनि फेरिदा सुकुम्बासी नागरिकहरु लाई चिन्ता थपिएको उनको भनाइ छ ।
बर्षौ देखि भोगचलन गर्दै आइरहेको जग्गा आफ्नो नाममा बनाउन पाउने आशाले खुसी थियौं । देउवा सरकार आउने बित्तिकै हामीहरु माथी घात भएको छ । यसको परिणाम राम्रो हुँदैन भनेर सरकारलाई चेतावनी दिनको लागि विरोध प्रर्दशनमा सहभागी भएको स्याङ्तान बताउँछन् । हाम्रो लागत संकलन गरेको जग्गाको पुर्जा हामीलाई जसरी पनि चाहिन्छ भन्ने माग सहित सरकार विरुद्धको प्रर्दशनमा आएको उनको भनाइ थियो ।
बर्षौदेखि ऐलानी जग्गामा जीवन निर्वाहा गर्दै आइरहेका भूमिहिन नागरिकहरुको लागि नयाँ गठित सरकारले पीडा माथी पीडा थपिदिएको भन्दै विभिन्न स्थानबाट विरोध प्रर्दशनमा आएका भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्दै आएका नागरिकहरुले आक्रोश पोखेका थिए ।
त्यसो त अखिल नेपाल किसान महासंघ जिल्ला कार्य समिति मकवानपुरका अध्यक्ष बिष्णु दंगालले सरकारको यो निर्णय नसच्याए पुनः बैठक बसेर चरणबद्ध तरिकाले आन्दोलनमा समेत उत्रन पछि नपर्ने बताए । गरिब जनता माथी राजनितिक प्रतिशोधका कारण गरिएको घातको महासंघले माफि नदिने बताउँदै सरकारको यो कदमले लाखौं भूमिहिन नागरिकको सपना टुटेको अध्यक्ष बिष्णु दंगालले उक्त कार्यक्रममा बताए ।
जिल्लामा भूमि सम्बन्धि समस्या आयोग, मकवानपुरले ५ महिनाको अवधिमा ४० हजार ४ सय ६९ नागरिकहरुको लागत संकलन गरिएको भूमि सम्बन्धि समस्या आयोग, मकवानपुरका अध्यक्ष रामेश्वर रानाले जानकारी दिए । आयोगले संकलन गरेको तथ्यांकअनुसार हेटौंडा उपमहानगरपालिकामा भूमिहिनको संख्या ३ हजार १ सय ५० रहेको छ भने अव्यवस्थीतको संख्या ६ हजार ८ सय ११ गरी कुल संख्या ९ जनार ९ सय ३१ रहेको छ ।
त्यस्तै मकवानपुरगढी गाउँपालिकामा १ सय ८७ भूमिहिन जनता रहेको पाइएकोमा अव्यस्थित बसोवास गर्ने ३ हजार ९ सय २१ गरी भूमिहिन र अव्यस्थित गरी कुल ४ हजार १ सय ८ रहेको भूमि सम्बन्धि समस्या आयोग, मकवानपुरले जनाएको छ । जिल्लाको मनहरी गाउँपालिकाले पनि आफ्नो पालिकामा रहेका भूमिहिन तथा अव्यस्थित नागरिकको तथ्यांक संकलन गरिसकेको थियो । मनहरी गाउँपालिकामा ६ सय ८८ भुमिहिन नागरिक रहेकोमा अव्यस्थित नागरिकको संख्या ७ हजार ४ सय ९२ गरी कुल भुमिहिन तथा अव्यस्थित नागरिकहरु ८ हजार १ सय ८० रहेको लागत संकलन गरिएको भूमि सम्बन्धि समस्या आयोग, मकवानपुरको तथ्यांक छ ।
त्यस्तै पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा ८० परिवार भूमिहिन, ७ हजार २० परिवार अव्यस्थित बसोबास गरी कुल ७ हजार १ सय नागरिकहरु भूमिहिन तथा अव्यस्थित बसोबास गर्दै आइरहेको तथ्यांक रहेको आयोगले जनाएको छ भने सबैभन्दा धेरै लागत संकलन भएको गाउँपालिका बकैया गाउँपालिका रहेको पाइएको छ ।
भूमि सम्बन्धि समस्या आयोग, मकवानपुरले जिल्लामा हालसम्म ५ वटा पालिकाहरुबाट संकलन भएको भूमि समस्याको लागत संकलनको तथ्यांक अनुसार कुल ४० हजार ४ सय ६९ परिवार भूमि सम्बन्धि समस्या झल्दै आएको पाइएको छ । बकैया गाउँपालिकामा ४ सय ५० भूमिहिन परिवार रहेको तथ्यांक छ भने १० हजार ४ सय अव्यस्थित रुपमा बसोवास गर्दै आइरहेका नागरिकहरुको पहिचान गरी लागत संकलन गरिएकोमा कुल ११ हजार १ सय ५० नागरिक रहेको भूमि सम्बन्धि समस्या आयोग, मकवानपुरले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस