म्यादी प्रहरीमा तेब्बरको आवेदन
आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सुरक्षार्थ खटिने म्यादी प्रहरी हुनलाई तनहुँमा झन्डै तेब्बर बढीले आवदेन दिएका छन् । एक हजार २९२ म्यादी प्रहरीका लागि आवदेन माग गरिएको थियो । तर, तीन हजार ४१८ जनाले म्यादी प्रहरी बन्न आवेदन दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक शिवराज क्षेत्रीले बताए ।
क्षेत्रीका अनुसार ६४५ महिला र दुई हजार ७७३ पुरुषले म्यादी प्रहरीमा आवेदन दिएका हुन् । ६ देखी ११ चैतसम्म जिल्ला प्रहरी कार्यालय दमौलीमा आवदेन लिइएको थियो । म्यादी प्रहरी छनोट प्रकृया मंगलबारदेखि सुरु प्रहरी नायव उपरिक्षक क्षेत्रीले बताए । उनले भने, ‘शारीरिक तन्दुरुस्ती, लिखित परीक्षा, अन्तर्वार्ता र स्वास्थ्य परीक्षण गरेर बल्ल छनोट गरिन्छ ।’ २२ चैतसम्म छनोट भएका म्यादी प्रहरीको नतिजा प्रकाशन हुनेछ । २८ चैतदेखि प्रशिक्षण दिन थालिनेछ ।
जिल्लामा म्यादी प्रहरी बन्न परेको तेब्बर बढीको आवेदनले नेपालमा बेरोजगारीको स्थिति प्रस्ट झल्काएको प्राध्यापक डा. ईश्वरचन्द्र वाग्ले बताउँछन् । म्यादीमा छनोट हुन दिएको आवदेनले युवाको आकर्षणभन्दा पनि बेरोजगारीको तथ्याङ्क उजागर गरेको उनको भनाइ छ ।
‘वैदेशिक रोजगारीमा जानेहरुको पनि लर्को छ । एमए पढेका समेत म्यादी प्रहरीमा गएका छन् । यसले त नेपालका राजनीतिक दल र नेताहरूलाई सोच्न बाध्य बनाएको छ कसरी बेरोजगारीलाई रोजगारीमा बदल्ने भनेर’, उनी भन्छन्, ‘अब कसरी हुन्छ देशमा रोजगारीको अवसर सिर्जना गर्न लाग्नुपर्छ । उत्पादन बढाउनुपर्नेछ ।’
कोरोना महामारीलाई दोष दिएर नेताहरू उम्कन नमिल्ने वाग्लेको भनाइ छ । बेरोजगारीको समस्या भयवह भइरहेको बताउँदै उनले थपे, ‘बेरोजगारी बढेपछि हत्या हिंसा, चोरी डकैती बढाउँछ ।’ उद्योगधन्दा खोल्ने र धेरैभन्दा धेरै पर्यटक भित्र्याएर रोजागारीसँग जोड्ने योजना सरकारले बनाउनुपर्ने उनले बताए । ‘नेताहरु आफ्नै स्वार्थ मात्र हेरिरहेका छन् । भ्रष्टचारमा लिप्त भएको देख्छौँ’, उनले भने ।
१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेकाले म्यादी प्रहरीमा भर्ना हुन पाउनेछन् । कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको, कुनै राजनीतिक दलको सदस्य नरहेको, साधारण लेखपढ गर्न जान्ने र शारीरिक तथा मानसिकरुपमा तन्दुरुस्त रहेको हुनुपर्ने योग्यता निर्धारण गरिएको छ ।
छनोट पार गरेर भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्नेछन् । प्रहरी जवानले पाउने तलब सुविधा म्यादी प्रहरीका लागि व्यवस्था गरिएको छ । ४० दिनको पारिश्रमिक ३० हजार २४० रुपैयाँ निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्नवापत सात हजार २०० रुपैयाँ, पोसाक र अन्य खर्च गर्ने गरी छ हजार रुपैयाँ र यातायात खर्चबापत एक हजार रुपैयाँका दरले पाउनेछन् । बिमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।
क्याटेगोरी : ताजा अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस